राजनीति


प्रहरीका पूर्वडीएसपी भन्छन्: भिजिट भिसाको अनुसन्धान गर्दा गृहमन्त्री र आईजीपीले सरुवा गरे

प्रहरीका पूर्वडीएसपी भन्छन्: भिजिट भिसाको अनुसन्धान गर्दा गृहमन्त्री र आईजीपीले सरुवा गरे

नेपालखबर
जेठ ९, २०८२ शुक्रबार १३:५७, काठमाडौँ

नेपाल प्रहरीका पूर्वप्रहरी नायव उपरीक्षक (डीएसपी) गोविन्द पन्थीले भिजिट भिसाको अनुसन्धान गर्दा तत्कालीन गृहमन्त्री र प्रहरी महानिरीक्षक (आईजीपी) ले आफ्नो सरुवा गरेको आरोप लगाएका छन्। विमानस्थलबाट मानव बेचविखन अनुसन्धान ब्युरोको टोलीलाई हटाएपछि त्यहाँ रहेका कागजात अनुसन्धानका लागि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा बुझाइएको थियो। 

२०८० असोज १९ गते १ हजार ६४१ थान राहदानीसहित उपत्यका अपराध अनुसन्धान कार्यालयमा पठाइएको थियो। त्यतिबेला यो मुद्दाको अनुसन्धान गरेका डीएसपी पन्थीले अहिले पुनः भिजिट भिसामा सेटिङ हुने गरेको र विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई अख्तियारले पक्राउ गरेपछि पन्थीले यो मुद्दाको अनुसन्धान गरेका कारण त्यतिबेला आफूलाई परेको अप्ठेरो सार्वजनिक गरेका छन्। 

अपराध अनुसन्धान कार्यालयको ८ नम्बर पिलरले यो मुद्दाको अनुसन्धान गरेको थियो। वैदेशिक रोजगार ठगीको मुद्दा हेर्ने यो पिलरको प्रमुख थिए पन्थी। 

विमानस्थलबाट पठाएका कागजात सुरुमा ठगी हेर्ने ३ नम्बर पिलरमा आएका थिए। तर त्यो पिलरले एक महिना अनुसन्धान गर्दा जसको पासपोर्ट हो उसलाई नै फिर्ता दिने बाहेक अनुसन्धानमा प्रगति नभएपछि ८ नम्बर पिलरमा सारिएको थियो। 

८ नम्बर पिलरले अनुसन्धान गरेपछि नक्कली कागजात तयार गर्ने, काम ल्याउने दलाल, कन्सल्टेन्सी सञ्चालक, ट्राभल व्याबसायी, म्यानपावर सञ्चालक, होटल, एयरलाइन्स समेतको मिलेमतो रहेको पत्ता लगाएको थियो। 

यो गिरोहसँग अध्यागम, श्रम बिभाग र प्रहरीका केही अधिकारीको समेत मिलेमतो देखिएको पन्थीको निष्कर्ष  थियो। उनको प्रतिवेदनपछि तत्कालीन कार्यालय प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरले अनुसन्धानमा देखिएका कसैलाई पनि नजोगाइ कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका थिए। 

त्यसपछि २० जना बिचौलिया, २० जना ट्राभल सञ्चालक र ८ जना कन्सल्टेन्सी सञ्चालक गरी ३७ जनालाई पक्राउ गरेको थियो। उनीहरुविरुद्ध मानव तस्करी, किर्ते र सङठित अपराध मुद्दा चलाइएको थियो।

यो मुद्दामा सरकारी वकिलले समेत संगठित अपराधको कसुरमा मुद्दा चलाउन इन्कार गरेका थिए। तर प्रहरीसँग चर्काचर्की परेपछि मात्रै संगठित अपराधमा पनि मुद्दा अगाडी बढेको थियो। 

यता अनुसन्धान गर्दा आफूलाई भने अख्तियारमा उजुरी गरेर १६ पाने पराउने धम्की समेत त्यतिबेला आएको डीएसपी पन्थीले बताएका छन्। पन्थीका अनुसार त्यतिबेलैको अनुसन्धानमा पनि गृह मन्त्रालयका अधिकारीहरुको संलग्नता देखिएको थियो। 

पन्थीले यो सेटिङ मिलाउँदा डेढ देखि २ करोडसम्म लिने गरेको दाबी गरेका छन्। अपराध अनुसन्धान कार्यालयको अनुसन्धानपछि ती फायल थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जिम्मा लगाइएको थियो। 

तर यो मुद्दाको अनुसन्धान गर्ने डीएसपीलाई भने बिचौलियाले धम्की दिएअनुसार नै सरुवा गरिएको थियो। तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा आईजीपी कुँवरले आफूलाई सरुवा गरेको पन्थीको दाबी छ। 

तत्कालीन कार्यालय प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरले भने डीएसपी पन्थीको सरुवा रोक्न खोजेका थिए। हालका प्रहरी महानिरीक्षक दीपक थापा काठमाडौँ उपत्यका प्रहरी कार्यालयको प्रमुख थिए उनले पनि माथिको आदेश भन्दै सरुवा रोक्न नसकिने बताएका थिए। 

तर गृहमन्त्रीबाट नारायणकाजी श्रेष्ठ हटेपछि रवि लामिछाने आएका थिए। डीएसपी पन्थीले आफ्नो सरुवा रोक्न गृहमन्त्रीलाई नै पत्र पठाएको बताएका छन्। तत्कालीन गृहमन्त्री लामिछानेले आफ्नो सरुवा नरोके पनि रमाना नगरी त्यहीँ कार्यरत रहन लामिछानेले भनेका थिए। 

यो विषयमा निचोडमै पुग्ने गरी अनुसन्धान गर्ने हो भने अधिकार सम्पन्न न्यायीक आयोग नै बनाउनु पर्ने डीएसपी पन्थीले बताएका छन्। यसरी अनुसन्धान अगाडी बढाउने हो भने केहीबाहेक गृहमन्त्री, श्रम मन्त्री र प्रधानमन्त्रीको सचिवालयको टिमसमेत तानिने उनको दाबी छ। 

आफ्नो अनुसन्धानपछि प्रहरीले त्यतिबेलै फायल अख्तियारमा पठाएको थियो। प्रहरीले फायल पठाएको दुई वर्षपछि अख्तियारले विमानस्थल अध्यागमन कार्यालयमा छापा मारेर अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad