राजनीति


द्वन्द्वपीडितले आपत्ति जनाएपछि कार्यक्रम छोडेर बाहिरिए बाबुराम

द्वन्द्वपीडितले आपत्ति जनाएपछि कार्यक्रम छोडेर बाहिरिए बाबुराम

नेपालखबर
जेठ ८, २०८२ बिहिबार १९:२७, काठमाडौँ

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको अभिव्यक्तिलाई लिएर सशस्त्र द्वन्द्वपीडीतले आपत्ति जनाएका छन्। नेपाल मानवअधिकार आयोग संगठनले बिहीबार काठमाडौँमा आयोजना गरेको मानव अधिकार र लोकतन्त्रमा संक्रमणकालीन न्यायको असर विषयक नागरिकस्तरीय छलफल कार्यक्रममा भट्टराईले दिएको अभिव्यक्तिमा पीडीतहरूले आपत्ति जनाएका हुन्।

भट्टराईले सशस्त्र द्वन्द्वका समयमा राज्यको सेना र क्रान्तिकारी सेनागरी दुईथरी सेना रहेको र उनीहरूको द्वन्द्वका क्रममा १७ हजारको ज्यान गएको भन्दै बराबरी दायित्व लिएर शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्‍याउनुपर्ने बताए थिए। 

उनले विश्वमा भएका द्वन्द्वमा हजारौँ, लाखौँ मारिए पनि नेपालमा भएको सशस्त्र द्वन्द्वमा १७ हजारको मात्रै मृत्यु भएको जिकिर गरे। तत्कालीन समयमा भएको त्रिपक्षीय राजनीतिक संघर्षपछि एक पक्ष निरंकुश राजतन्त्र अन्त्य भइसकेको अवस्थामा अब शान्तिप्रक्रियालाई टुंग्याउनु राज्यपक्ष र सशस्त्र द्वन्द्वपक्षको बराबरीको दायित्व भएको उनले बताए। 

विश्वको तुलनामा नेपालमा थोरै मात्रै मान्छेको ज्यान गएको धारणा राखेपछि द्वन्द्वपीडितले भट्टराईको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए। पूर्वप्रधानमन्त्रीजस्तो मान्छेले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै विरोध भएपछि भट्टराई कार्यक्रमको बीचबाटै बाहिरिनुपरेको थियो। 

'तपाईं पूर्वप्रधानमन्त्रीजस्तो मान्छेले के उदाहरण दिनु भएको?,' सहभागी एक जनाले भट्टराईलाई प्रश्न गर्दै भने, 'के उदाहरण दिनु भएको? यहाँ थोरै मान्छे मरे भनेर? यसमा घोर आपत्ति छ। पूर्वप्रधानमन्त्रीले दिएको अभिव्यक्ति यही हो।' उनले यति भनिसकेपछि सहभागीहरूले हल्ला गर्दै भट्टराईको अभिव्यक्तिमा आपत्ति जनाइपछि भट्टराई बाहिरिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad