थाहा छैन, प्रधानमन्त्री केपी शर्मा ओली नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर कसलाई बनाउन चाहन्छन्! यो पनि थाहा छैन, गभर्नर नियुक्ति प्रकरणलाई प्रधानमन्त्री ओलीले यसैगरी लम्ब्याए वा घुमाइफिरी आफ्नै ‘आफ्नै पकेटका मान्छे’ लाई नियुक्त गर्न खोजे भने देउवाले कस्तो कदम चाल्छन्!
तर, सोमबार (५ जेठ) मन्त्रिपरिषद् बैठक र नयाँ गभर्नर नियुक्त नभएपछि फेरि सत्ता परिवर्तनको चर्चाले नेपालको राजनीति गर्माउन पुग्यो। गभर्नर नियुक्तिमा भइरहेको ढिलाइले कांग्रेस नेता–कार्यकर्ता अधीर भइरहेका बेला ‘कन्फर्म हुन्छ’ भनिएको गभर्नर नियुक्ति सोमबार पनि हुन नसकेपछि त्यसले सत्ता गठबन्धनको निरन्तरतामाथि प्रश्न उठ्नु स्वाभाविक हो।
प्रष्ट छ, प्रधानमन्त्री केपी शर्मा ओली सकभर आफू अनुकूलका व्यक्तिलाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउन चाहन्छन्। सत्ता गठबन्धन टुट्ने भयका कारण कांग्रेस सभापति देउवालाई चिढ्याएर निर्णय लिन भने सकिरहेका छैनन्। तर, सोमबार मन्त्रिपरिषद् बैठक र देउवा–ओली भेट हुन नसक्नुमा भने गभर्नर नियुक्तिमा चलिरहेको दाउपेचको भने भूमिका थिएन।
किन हुन सकेन मन्त्रिपरिषद् बैठक?
प्रधानमन्त्री ओली सोमबार तीनवटा सार्वजनिक कार्यक्रममा देखिए। त्यसमध्ये पहिलो कार्यक्रम नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौँ राष्ट्रिय महाधिवेशन थियो। त्यसपछि उनी गणतन्त्र दिवसको तयारीका लागि सिंहदरबारमा आयोजित बैठकमा सहभागी भए। तेस्रो कार्यक्रम थियो, बालुवाटारस्थित प्रधानमन्त्री निवासमा युरोपियन युनियनका राजदूतहरूसँगको सामूहिक भेट।
अघिल्ला दुई कार्यक्रममा सहभागी हुँदै गर्दा प्रधानमन्त्री ओलीलाई रुघा लाग्न थालिसकेको थियो। रुघाकै कारण राजदूतहरूसँगको सामूहिक भेटवार्ताको कार्यक्रम स्थगित गर्ने सोचाइमा ओली पुगेका थिए। परराष्ट्रमन्त्री डा. आरजु राणासँग भने युरोपेली राजदूतहरूले सामूहिक रुपमै भेटवार्ता गरे।
परराष्ट्रमन्त्री राणासँगको भेटवार्तापछि परराष्ट्रका अधिकारीहरूले प्रधानमन्त्री–राजदूतहरूबीच भेटवार्ता गर्दा राम्रै हुन्छ भन्ने ठाने। यसर्थ कि, कतिपय राजदूतहरू नयाँदिल्लीबाट आएका थिए, काठमाडौँमा आवासीय राजदूतावास नभएका कारण। त्यहीकारण परराष्ट्रकै आग्रहमा प्रधानमन्त्रीसँग पनि उनीहरूको भेटवार्ता भयो।
रुघा लागेकाले प्रधानमन्त्री ओलीले मास्क लगाएर राजदूतहरूसँग भेटवार्ता गरेका थिए।
यता, सोमबार बिहानसम्मा मन्त्रिपरिषद् बैठक बस्ने–नबस्ने टुङ्गो थिएन। राजदूतहरूसँगको भेटवार्तापछि परराष्ट्रमन्त्री राणा सोमबार साँझ जापान जाने तयारीका लागि बूढानीलकण्ठ (निवास) जाने तयारीमा लागिन्। त्यसैबेला उनलाई प्रधानमन्त्री ओली आफैले फोन गरेर साँझ ६ बजे सिंहदरबारमै मन्त्री परिषदको बैठक बस्ने जानकारी गराए।
‘बाहिर चाहिँ सभापति देउवा र प्रधानमन्त्री ओलीबीच आजै (सोमबार, ५ जेठ) भेटवार्ता हुने र मन्त्रिपरिषदको बैठक बसेर गभर्नर नियुक्त हुने हल्ला चलेको थियो,’ स्रोतले भन्यो, ‘तर, ओलीले परराष्ट्रमन्त्री राणालाई फोन गर्नुअघिसम्म देउवा–ओलीबीच भेटवार्ताको कुनै कार्यक्रम नै तय भएको थिएन।’
स्रोतका भनाइमा बरु परराष्ट्रमन्त्री डा. राणा नै सोमबार साँझका लागि प्रधानमन्त्री ओलीले डाकेको मन्त्रिपरिषदको बैठकप्रति झिँझो मानिरहेकी थिइन्। कारण थियो, बूढानीलकण्ठ पुगेर बैठकका लागि सिंहदरबार आउनुपर्ने, त्यसपछि फेरि बूढानीलकण्ठ पुगेर विमानस्थलतर्फ लाग्नुपर्ने स्थिति।
‘खासमा मन्त्री राणा सोमबार दिउँसो मन्त्रालय आउने कार्यक्रम नै थिएन,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘युरोपेली राजदूतहरूले सामूहिक रुपमा भेटघाट गर्न चाहेकाले मात्र मन्त्रालय आउनु भएको थियो।’
तर, परराष्ट्र मन्त्रालयमै रहेका बेला दिउँसो प्रधानमन्त्री ओलीले साँझ ६ बजे सिंहदरबारमै हुनेगरी मन्त्रिपरिषद बैठक आयोजनाको जानकारी गराए। मन्त्रालयबाटै सिंहदरबार जाने कि बूढानीलकण्ठ गएर आउने भन्ने अप्ठेरो पर्यो। तर, एकाध घण्टापछि फेरि ओलीको दोस्रो फोन आयो।
‘रुघा लागेकाले मलाई अलिक अप्ठेरो भयो,’ ओलीले मन्त्रिपरिषद् बैठक सारेको जानकारी गराउँदै भने, ‘तातो सुप खानुपर्ने भएकाले बालुवाटारमा साँझ ७ बजे मन्त्रिपरिषदको बैठक बस्ने भयो।’
प्रम ओलीको यो निर्णयबाट परराष्ट्रमन्त्री डा. राणाले राहत महसुस गरिन्। किनकि बूढानीलकण्ठबाट बालुवाटार अलिक नजिक पर्छ। एक घण्टा पर सारिएकाले मन्त्रिपरिषद् बैठकमा सहभागी हुन र जापान जान एकैपटक निवासबाट निस्के हुने भयो। यहीकारण उनी परराष्ट्र मन्त्रालयबाट अपरान्हतिर निवासतर्फ लागिन्।
बूढानीलकण्ठमै रहेका बेला उनलाई फेरि ओलीले फोन गरे। आफूलाई निकै ज्वरो आएकाले बैठक स्थगित गरिएको जानकारी गराए।
‘ज्वरो आएकाले म त राधिकाको घेराबन्दीमा पो परेको छु,’ ओलीले ठट्टा गर्दै परराष्ट्रमन्त्री डा. राणालाई भने, ‘उनले कतै जान दिन्नन्। त्यसैले, आजको बैठक स्थगित पो गनुपर्ने भयो।’
स्रोतका भनाइमा, परराष्ट्रमन्त्री डा. राणाले प्रधानमन्त्री ओली बिरामी परेकाले मन्त्रिपरिषद् बैठक स्थगित भएको जानकारी देउवालाई दिइन्। रुघाका कारण युरोपेली मुलुकका राजदूतहरूसँग भेटघाट गर्न ओली अन्कनाएको, सिंहदरबारमा ६ बजे डाकिएको मन्त्रिपरिषदको बैठक र समय समेत सारिएको जानकारी देउवालाई थियो।
‘बालुवाटारमा डाकिएको मन्त्रिपरिषदको बैठक समेत स्थगित भएपछि साह्रै परेछ कि क्या हो भनेर उहाँले नै त्यसो भए भेट्न आऊँ कि भनेर प्रधानमन्त्री ओलीलाई फोन गर्नुभयो,’ विश्वस्त स्रोतले भन्यो, ‘प्रम ओली बिरामी भएको कुराप्रति सभापति देउवा राम्रोसँग जानकार भएकाले शिष्टताका लागि ओलीलाई भेट्न आऊँ कि भन्नुभएको थियो।’
तर, परराष्ट्रमन्त्री डा. राणासँग ‘राधिकाले घेराबन्दी गरेर राखेकी छन्’ भन्दै ठट्टा गरेका ओलीले देउवासँग पनि उस्तै ठट्टा गरे, ‘आउन त आउनुस्। तर, म सिरक ओढेर सुतेको छु।’
त्यसपछि देउवाले ओलीको स्वास्थ्यलाभको कामना गरे। र, ‘आजलाई रेस्ट गर्नुस्, भोलि भेटौँला’ भन्ने प्रस्ताव राखे।
यसकारण देउवा ढुक्क
सोमबार साँझ भएको यो कुराकानी बमोजिम सभापति देउवाले मंगलबार दिउँसो बालुवाटारमै प्रम ओलीसँग भेट गरे। यो भेटपछि देउवाको सिफारिस बमोजिम नै राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेललाई राष्ट्र बैंकको नयाँ गभर्नर बनाउन ओलीले ‘सहमति’ जनाएका छन्।
स्रोतका भनाइमा, गभर्नरका लागि देउवाले सिफारिस गरेका डा. गुणाकर भट्ट र डा. विश्व पौडेल दुवै नामप्रति ओलीको ‘अब्जेक्सन’ रहने गरेको थियो।
‘डा. भट्ट जुनियर व्यक्ति हुन् भन्ने ओलीको तर्क थियो, डा. पौडेलबारे पनि ओलीबाट त्यस्तै टिप्पणी हुने गर्थ्यो,’ स्रोतले भन्यो, ‘यसका बाबजुद डा. पौडेललाई गभर्नर बनाउन ओली बाध्य हुन्छन् भन्नेमा देउवा विश्वस्त हुनुहुन्छ।’
देउवाको यो विश्वासले काम पनि गरेको छ। सिफारिस समितिको बैठक मंगलबार अपरान्ह नै डाकेर नयाँ गभर्नरका लागि डा. पौडेलसहितको नाम सिफारिस गरिएको छ। सिफारिस बमोजिम सम्भवतः आजै साँझ मन्त्रिपरिषदले डा. पौडेललाई गभर्नर नियुक्त गर्नेछ।
डा. पौडेललाई गभर्नर नियुक्त गर्न ओली अन्ततः बाध्य हुन्छन् भन्नेमा देउवा विश्वस्त हुनुको कारण गभर्नर भन्दा एमालेले प्रमुख निर्वाचन आयुक्तको पदलाई प्राथमिकता दिएको छ भन्ने बुझाइ हो। दिनेश थपलियाले ५ वैशाखमा अवकाश प्राप्त गरेयता यो पद एक महिनादेखि रिक्त छ।
‘देउवालाई सत्ता हस्तान्तरण नगर्ने र छुट्टै समीकरण बनाउने हो भने भिन्दै कुरा भयो, तर सत्ता हस्तान्तरण गर्ने र २०८४ को निर्वाचनसम्म सँगै जाने हो भने गभर्नर भन्दा प्रमुख निर्वाचन आयुक्त पदलाई एमालेले महत्त्वपूर्ण मानेको छ भन्ने देउवाको बुझाइ छ,’ स्रोतले भन्यो, ‘दिनेश थपलियाजस्तै विश्वासिलो मान्छेलाई निर्वाचन आयोगको प्रमुख आयुक्त बनाउन सके ‘मिसन–८४’ सफल पार्न सकिन्छ भन्ने ओलीको बुझाइबारे देउवा राम्रोसँग जानकार हुनुहुन्छ।’
Shares

प्रतिक्रिया