राजनीति


राजुनाथ पाण्डेलाई काठमाडौँ महानगरले सोध्यो स्पष्टीकरण, चित्तबुझ्दो जवाफ नआए कारबाही

राजुनाथ पाण्डेलाई काठमाडौँ महानगरले सोध्यो स्पष्टीकरण, चित्तबुझ्दो जवाफ नआए कारबाही

नेपालखबर
जेठ ६, २०८२ मंगलबार १५:५१, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधिकएको छ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले स्पष्टीकरण सोधेका हुन्।

गुरागाईंले मंगलबार पत्र लेखी गत चैत २१ गते आफूलाईं कार्यालयमा हाजिर हुन जाँदा रोक्ने काम गरेको आरोप पाण्डेमाथि लगाएका छन्।  

उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरूले पटक–पटक अनुरोध गर्दासमेत प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षको ताला खोल्ने काममा अवरोध किन गरेको भनेर ७ बुँदे पत्र पाण्डेलाई थमाइएको छ।

काठमाडौँ भ्यू टावरको नक्सा पास विवादपछि बिदामा बसेका गुरागाईं महानगरमा हाजिर हुन जाँदा विवाद भएको थियो। उपप्रमुख सुनीता डंगोलकै नेतृत्वमा गुरागाईं हाजिर हुन भनेर महानगर पुगेका थिए। महानगरको नगर प्रहरी बलले कार्यालय प्रवेशमा अवरोध गरेको थियो। 

‘पत्रमा प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने सवारी साधनमा ह्विल लक किन गरेको? नगर प्रहरी बल परिचालन गरेर गुरागाईंलाई कार्यालय छिर्न अवरोध गर्दै आतंक सृजना किन गरेको?, कार्यालय परिसरमा उपस्थित जनप्रतिनिधिहरूको बाटो छेकेर अमर्यादित र अभद्र व्यवहार किन गरेको भनेर प्रश्न सोधिएको छ।  

त्यस्तै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्न लगाएको र उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरूले पटक–पटक अनुरोध गर्दासमेत ताला किन नखोलेको? प्रमुख प्रशासकीय अधिकृतले हाजिर गर्ने हाजिर पुस्तिका कब्जामा किन लिएको? भनेर स्पष्टीकरण सोधिएको छ। 

काठमाडौँ महानगरपालिकाको कर्मचारीको रूपमा प्रमुख प्रशासकीय अधिकृतको निर्देशन पालना गर्नुपर्नेमा पाण्डेले कर्मचारी आचरण र अनुशासन पालना नगरी अनुशासनहीन कार्य गरेको पनि स्पष्टीकरण सोधिएको छ।  

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले पनि सात दिनको म्याद तोकेर सोधपुछ गरिएको नेपालखबरसँग बताए। '७ दिनको म्याद दिएर सोधपुछ गरिएको हो। चित्तबुझ्दो जवाफ आउँछ, आउँदैन हेरौँ न,' उनले भने। 

पत्रमा स्पष्टीकरण नबुझाएमा वा स्पष्टीकरण चित्तबुझ्दो नभए कानुनबमोजिम कारबाही अघि बढाइने भनिएको महानगर स्रोतले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad