हालै भारत र पाकिस्तानबीच द्वन्द्व भएपछि दुवै देशका आणविक हतियारबारे फेरि चर्चा सुरु भएको छ।
दुवै देशसँग आणविक हतियार छन्। अत: जब यी छिमेकी देशबीच झगडा पर्छ तब विश्वको ध्यान उनीहरूका आणविक हतियारमा पनि जान्छ।
यद्यपि यी हतियारका विषयमा भारत र पाकिस्तानका नीति फरक छन्। पाकिस्तानको नीति कस्तो छ भने आफ्नो सुरक्षा खतरामा परेको महसुस भएपछि उसले पहिले आणविक हतियार प्रयोग गर्न सक्छ। यसलाई 'पहिलो प्रयोग नीति' भनिन्छ।

१. पाकिस्तानको आणविक कार्यक्रमको इतिहास

अमेरिकी थिंक ट्यांक फेडरेसन अफ अमेरिकन साइन्टिस्ट्स (एफएएस) का अनुसार पाकिस्तानको आणविक हतियार कार्यक्रम १९७२ मा जुल्फिकार अली भुट्टोले सुरु गरेका थिए। जो पाकिस्तानको राष्ट्रपति र प्रधानमन्त्री दुवै बने।
१९७४ मा भारतको पहिलो आणविक परीक्षणपछि तत्कालीन प्रधानमन्त्री जुल्फिकार अली भुट्टोले तुरुन्तै पत्रकार सम्मेलनमा भने- भारतीय उपमहाद्वीप अब सुरक्षित छैन र पाकिस्तान पनि आणविक शक्ति बन्नुपर्नेछ।
त्यतिबेला उनको एउटा भनाइ निकै लोकप्रिय भएको थियो, ‘यदि भारतले बम बनायो भने हामी घाँस वा पात खानेछौँ, हामी भोकै सुत्नेछौँ, तर हामीले आफ्नै बम बनाउनुपर्नेछ। हामीसँग अर्को कुनै उपाय छैन।’
भारतको आणविक परीक्षणपछि पाकिस्तानको आणविक कार्यक्रमले नयाँ गति पायो।
२. डा. अब्दुल कादिर खानको प्रवेश

१९३५ मा अविभाजित भारतको भोपालमा जन्मिएका डा. अब्दुल कादिर खानले १९६० मा कराँची विश्वविद्यालयबाट धातु विज्ञान (मेटालर्जी) को अध्ययन गरे। यसपछि उनी आणविक इन्जिनियरिङसँग सम्बन्धित उच्च शिक्षाका लागि पश्चिम जर्मनी, बेल्जियम र नेदरल्यान्ड गए।
१९७२ मा उनले एम्स्टर्डमको फिजिकल डायनामिक्स रिसर्च लेबोरेटरी (भौतिक गतिशीलता अनुसन्धान प्रयोगशाला) मा जागिर पाए।
यो कम्पनी भलै सानो थियो, तर यसको सम्झौता युरेन्को नामक बहुराष्ट्रिय कम्पनीसँग थियो। पछि यही काम डा. खानका लागि आणविक प्रविधि र गुप्तचर सञ्जालको दुनियाँमा एक महत्त्वपूर्ण मोड साबित भयो।
सन् १९७४ मा भारतले आफ्नो पहिलो आणविक परीक्षण गर्दा डा. खान फिजिकल डायनामिक्स रिसर्च लेबोरेटरीमा काम गरिरहेका थिए।
सन् २०१८ मा अमेरिकी पत्रिका फरेन अफेयर्समा प्रकाशित लेखमा भनिएको थियो, "यो घटनाले डा. खानभित्रको राष्ट्रवादलाई झकझकायो र उनले पाकिस्तानलाई भारत बराबरी बनाउने प्रयास थाले।’
सोही वर्ष उनले पाकिस्तानी गुप्तचर निकायहरूसँग सम्पर्क गर्न थाले। उक्त पत्रिकाका अनुसार सीआईए र डच गुप्तचर एजेन्सीहरूले उनको निगरानी गर्न थाले। यद्यपि उनलाई रोक्नुको सट्टा उनको जासुसी पाकिस्तानको आणविक प्रयास र सम्भावित तस्करी नेटवर्क पत्ता लगाउन प्रयोग गर्ने निर्णय गरियो।
पत्रिकाका अनुसार, ’डा. खानलाई आफूविरुद्ध भइरहेको जासुसीबारे थाहा थियो कि थिएन भन्ने कुरा स्पष्ट छैन। तर डिसेम्बर १९७५ मा उनी अचानक हल्यान्ड छाडेर परिवारसहित पाकिस्तान फर्किए।’
पाकिस्तान पुगेपछि डा. खानले जर्मन डिजाइनमा आधारित सेन्ट्रीफ्युजको प्रोटोटाइप विकास गरे। उनले पार्टपुर्जाको व्यवस्था गर्न धेरै युरोपेली कम्पनीसँग सम्पर्क गरे। यस समयमा उनले बारम्बार आफ्नो कामका पछाडि कुनै सैन्य उद्देश्य नरहेको दाबी गरिरहे
३. १९९८ मा आणविक परीक्षण

अमेरिकी वैज्ञानिकहरूको महासंघ (एफएएस) का अनुसार, १९८५ मा पाकिस्तानले हतियार-ग्रेड युरेनियमको उत्पादन सीमा पार गर्यो र १९८६ सम्ममा यसले परमाणु बमका लागि पर्याप्त विखण्डन पदार्थ उत्पादन गरिसकेको विश्वास गरिन्छ।
२८ मे १९९८ मा पाकिस्तानले आधिकारिक रूपमा पाँच सफल आणविक परीक्षण गरेको घोषणा गर्यो। पाकिस्तान आणविक ऊर्जा आयोगका अनुसार, परीक्षणहरूले रिक्टर स्केलमा ५.० को भूकम्पीय परिमाणको विस्फोटन गराएको थियो र कुल विस्फोटन क्षमता लगभग ४० किलोटन (टीएनटी बराबर) अनुमान गरिएको थियो।
त्यतिबेला डा. अब्दुल कादिर खानले गरेको दाबीअनुसार यी परीक्षणमा रहेको एउटा उपकरण "बुस्टेड फिसन उपकरण" र अन्य चारवटा सब-किलोटन (एक किलोटन भन्दा कम) आणविक उपकरण थिए।
यसपछि मे ३०, १९९८ मा पाकिस्तानले अर्को आणविक परीक्षण गर्यो, जसको अनुमानित शक्ति १२ किलोटन थियो। यी सबै परीक्षण बलुचिस्तान क्षेत्रमा गरिएका थिए, जसले गर्दा पाकिस्तानको घोषित आणविक परीक्षणको कुल संख्या ६ पुगेको छ।
४. विवादमा रहे डा. खान

पाकिस्तान आधिकारिक रूपमा आणविक शक्ति सम्पन्न भइसकेको थियो। तर २००४ मा डा. अब्दुल कादिर खान विश्वव्यापी आणविक प्रसारसँग सम्बन्धित एक प्रमुख विवादको केन्द्र बने।
उनलाई अन्य देशमा आणविक सामग्री र प्रविधि फैलाएको आरोप लगाइएको थियो। यस घटनामा तत्कालीन सैन्य प्रमुख तथा पाकिस्तानका राष्ट्रपति परवेज मुशर्रफले पनि डा. खानप्रति औँला उठाएका थिए।
एक टेलिभिजन सन्देशमा डा. खानले इरान, उत्तर कोरिया र लिबियालाई आणविक प्रविधि बेच्न आफ्नो भूमिका रहेको स्वीकार गरेका थिए।
यद्यपि पछि उनले यो भनाइ फिर्ता लिए र दबाबमा त्यसो भनेको दाबी गरे। २००८ मा बेलायती पत्रिका 'द गार्जियन'लाई दिइएको अन्तर्वार्तामा डा. खानले 'आफू राष्ट्रपति परवेज मुशर्रफको दबाबमा रहेकाले आणविक प्रविधि बेच्न सहमत भएको' दाबी गरेका थिए।
साथै उनले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीलाई सहयोग गरेको कुरा पनि अस्वीकार गरे।
५. कति छन् आणविक हतियार?
हाल पाकिस्तानसँग आणविक हतियार कति छन् भन्ने विषयमा आधिकारिक तथ्यांक उपलब्ध छैन। यद्यपि स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (एसआईपीआरआई) र अमेरिकन फेडरेसन अफ साइन्टिस्ट्सजस्ता संस्थाले यस विषयमा केही अनुमान गरेका छन्।
एसआईपीआरआईको २०२४ को रिपोर्टअनुसार, पाकिस्तानसँग लगभग १७० आणविक हतियार छन्।
साथै विश्लेषकहरू के विश्वास गर्छन् भने प्रश्न संख्याको मात्र नभएर यो तथ्यांकको विश्वसनीयता र रणनीतिक महत्त्वको पनि हो। आणविक हतियारका सन्दर्भमा के पनि सोधिन्छ भने कुनै देशको शक्ति संख्याले मात्र आकलन गर्न सकिन्छ?
शान्ति तथा द्वन्द्व अध्ययन संस्थानका वरिष्ठ अनुसन्धानकर्ता डा. मुनिर अहमद भन्छन्, ’अमेरिकन फेडरेसन अफ साइन्टिस्ट्सले आफ्नो ताजा आकलनमा भारतसँग १८० र पाकिस्तानसँग १७० आणविक हतियार रहेको अनुमान गरेको छ। तर वास्तविकतामा आणविक हतियारका सन्दर्भमा संख्याले ठूलो अर्थ राख्दैन। किनकि धेरै कम हतियारले पनि ठूलो विनाश निम्त्याउन सक्छ।’
६. पाकिस्तानको आणविक नीति
पाकिस्तानको कुनै लिखित वा स्पष्ट आणविक नीति छैन। विश्लेषकहरू के विश्वास गर्छन् भने यसको मुख्य कारण पाकिस्तान भारतको ‘परम्परागत सैन्य प्रभुत्व’ वा परम्परागत सैन्य श्रेष्ठता रोक्न चाहन्छ।
रक्षा तथा आणविक मामिलाका विज्ञ तथा मनोहर पर्रिकर रक्षा अध्ययन संस्थानसँग सम्बन्धित राजीव नयन 'कुनै पनि देशको पहिलो प्रयोग नीतिमा धेरै अस्पष्टता हुने' बताउँछन्।
उनी भन्छन्, ‘पहिलो प्रयोग नीतिको सबैभन्दा ठूलो अस्पष्टता भनेको कुन अवस्थामा आणविक बम प्रयोग गरिनेछ भन्ने हो। पाकिस्तानले हामी आणविक बम प्रयोग गर्न सक्छौँ भन्छ तर यसको प्रयोगको थ्रेसहोल्ड वा सीमा के हो भनेर कहिल्यै स्पष्ट पारेको छैन। सुरुमा कस्तो प्रकारको हतियार प्रयोग गरिनेछ भन्ने कुरा पनि स्पष्ट छैन। युद्धभूमि हतियार वा रणनीतिक हतियार भनिने सानो हतियार प्रयोग गरिनेछ?’
७. चेन अफ कमान्ड
पाकिस्तानमा आणविक हतियार प्रयोगका लागि नेसनल कमान्ड अथोरिटी (एनसीए) सबैभन्दा शीर्ष स्थानमा छ। यसको संरचना पनि लगभग भारतसँग मिल्दोजुल्दो छ।
प्रधानमन्त्रीले नेतृत्व गर्ने यसमा राष्ट्रपति, परराष्ट्रमन्त्री, रक्षामन्त्री, संयुक्त कर्मचारी प्रमुख (सीजेसीएससी), सेना, वायुसेना तथा नौसेना प्रमुख र रणनीतिक योजना विभागका महानिर्देशक हुन्छन्।
एनसीएअन्तर्गत एक रणनीतिक योजना विभाग छ, जसको मुख्य काम आणविक सम्पत्ति व्यवस्थापन गर्नु र एनसीएलाई प्राविधिक र परिचालन सल्लाह प्रदान गर्नु हो।
स्ट्राटेजिक फोर्सेस कमान्डले सीजेसीएससीअन्तर्गत काम गर्छ र यसको काम आणविक हतियार प्रहार गर्नु हो।
यसले शाहीन र नस्र मिसाइलजस्ता हतियार बोक्न सक्ने मिसाइलको व्यवस्थापन गर्छ र एनसीएबाट आदेश पाएमा आणविक हतियार प्रहार गर्न सक्छ।
भारतसँग हालै भएको सैन्य टकराबका बेला पाकिस्तानका प्रधानमन्त्रीले एनसीए बैठक बोलाएको रिपोर्ट पनि आएको थियो। तर युद्धविराम घोषणापछि पाकिस्तानले त्यस्तो कुनै बैठक नबोलाएको दाबी गरेको थियो। बीबीसी हिन्दीबाट
Shares

प्रतिक्रिया