नेपाली कांग्रेसका सात नेताले सातै प्रदेशमा अन्तर्क्रिया कार्यक्रम गर्ने भएका छन्। कांग्रेसका पूर्वपदाधिकारीहरू गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा शशांक कोइराला, विजयकुमार गच्छदार र डा प्रकाशशरण महतले सातै प्रदेशमा अन्तरक्रिया कार्यक्रम गर्ने भएका हुन्।
गच्छदारबाहेकका ६ नेता आज सानेपास्थित गोपालमान श्रेष्ठको अपार्टमेन्टमा भेट गरेका थिए। उनी उपस्थित नभए पनि यी नेतासँग उनीको साथ छ। भेटका लागि गोपालमानले नै सबै नेतालाई बोलाएका थिए। पछिल्लो समय यी नेताहरू भेटघाट गर्ने गरिरहेका छन्।
कांग्रेसका ६ पूर्वपदाधिकारी गोपालमानको ‘अपार्टमेन्ट’मा, सभापतिलाई ध्यानाकर्षण गराउने निष्कर्ष
छलफलमा नेताहरूबीच पार्टीको १५औं महाधिवेशन केन्द्रित छलफल भएको नेता निधिले नेपालखबरलाई जानकारी दिए।
'पार्टीको राजनीतिबारे छलफल भयो। खासगरी १५औं महाधिवेशन समयमै नहुनेमा चिन्ता व्यक्त गर्यौँ। किन भने महाधिवेशनको प्रस्थानबिन्दु भनेको सदस्यता नवीकरण तथा वितरणको काम हो यो नै पूरा नभएपछि कसरी ०८२ मा महाधिवेशन हुन्छ?,' छलफलपछि निधिले भने, 'यो काम पार्टीको वर्तमान पदाधिकारीको हो। हामी उनीहरूलाई ध्यानाकर्षण गराउँछौँ। सभापतिलाई पनि भेटेर कुरा गर्ने भन्ने आजको निष्कर्ष छ।'
उनले सातै प्रदेशमा पार्टीमा वृहत एकता कायम गर्ने विषयमा छलफल गर्ने निष्कर्ष पनि आजको छलफलबाट निकालिएको बताए।
'हामी आफ्नो-आफ्नो हिसाबले विभिन्न जिल्लामा गइरहेकै छौँ। अब भने सातै प्रदेशमा हामी पूर्वपदाधिकारी मिलेर छलफल/अन्तरक्रिया कार्यक्रम गर्दैछौँ,' उनले थपे, 'जेठबाटै प्रदेशगत छलफल सुरु हुन्छौँ। छलफलको आयोजक भने पार्टीकै कुनै एक संरचना हुन्छ। हामी वक्ता हुन्छौँ। तल्लो तहको गुनासो पनि सुन्छौँ।'
नियमित समयमा भए कांग्रेस १५ औं महाधिवेशन ०८२ मंसिरमा हुनुपर्ने हो। तर यो मितिमा महाधिवेशन नहुने पक्का जस्तै छ।
Shares

प्रतिक्रिया