राजनीति


कांग्रेसका ६ पूर्वपदाधिकारी गोपालमानको ‘अपार्टमेन्ट’मा, सभापतिलाई ध्यानाकर्षण गराउने निष्कर्ष

कांग्रेसका ६ पूर्वपदाधिकारी गोपालमानको ‘अपार्टमेन्ट’मा, सभापतिलाई ध्यानाकर्षण गराउने निष्कर्ष

नेपालखबर
जेठ ४, २०८२ आइतबार १६:३, काठमाडौँ

नेपाली कांग्रेसका ६ पूर्वपदाधिकारीहरू पुन: भेट गरेका छन्। पार्टीको आसन्न महाधिवेशनकेन्द्रित छलफल गर्न नेताहरू पूर्वउपसभापति गोपानमान श्रेष्ठको अपार्टमेन्टमा भेट गरेका हुन्।  

आज आइतबार नेताहरू श्रेष्ठ, विमलेन्द्र निधि, डा शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र डा प्रकाशशरण महतबीच भेट भएको हो। 

'नेपाली कांग्रेसका प्रभावशाली पूर्वपदाधिकारीहरू पार्टीको भावी अधिवेशन र वर्तमान राजनीतिक विषयमा छलफल भएको छ' कांग्रेसका एक नेताले भने।

सानेपाको साम्स अपार्टमा भएको छलफलमा नेताहरूले आगामी महाधिवेशनमा कसरी सहकार्य भन्नेबारे छलफल गरेको बताइएको छ। 

नेता सिटौलाले छलफल एक घण्टासम्म चलेको बताए। ‘देशको समसामियक राजनीतिक र पार्टीको आन्तरिक राजनीतिबारे छलफल भयो। पार्टीको क्रियाशील नवीकरण चलिरहेको छ। यो तोकिएको समयमा किन पूरा हुने अवस्था भएन भन्नेबारे कुरा भयो,’ उनले नेपालखबरसँग भने, ‘हामी छलफलमा बसेका पूर्वपदाधिकारीहरू चाहन्छौँ- पार्टीभित्र बृहत् एकता होस्, देश र जनतासामु आएका चुनौती सामना गर्न पार्टी सक्षम होस्। यसबारे सभापतिलाई भेटेर ध्यानाकर्षण गराउने भन्ने भएको छ। समय मिलाएर जान्छौँ।’

कांग्रेसमा पार्टीको १५औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाको टिमबाट को सभापति बन्ने भन्ने विषय चासोका साथ हेरिँदै आएको छ। देउवा तेस्रोपटक सभापति बन्न नपाउने विधानको व्यवस्थाअनुसार उनले आफ्नो समूहबाट कसलाई सभापतिको उम्मेदवार बनाउँछन् भन्ने टुंगो छैन। देउवा यसमा मौन छन्।

देउवा मौन बसिरहेपछि गत फागुन २ गते संस्थापन समूहमा रहेका ११ जना नेताले देउवाकै निवास बूढानीलकण्ठमा भेटेर सभापतिको उम्मेदवार तोक्न आग्रह गरेका थिए।

नेताहरू आज पनि यसै विषयमा छलफलमा जुटेको बताइएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad