नेपाली कांग्रेसले सञ्चालन गरेको सशस्त्र संघर्षका क्रममा ०३१ सालमा घटेको चर्चित टिमुरबोटे काण्डमा ‘जोगिएका’ महेश कोर्मोचाको निधन भएको छ। गत शुक्रबार नै उपचारका क्रममा निधन भएका कोर्माेचाको पार्थिव शरीर सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखेर उनकै जन्मस्थान खिजिदेम्बा लगेर दाहसंस्कारको तयारी गरिएको छ।
कोर्मोचाको निधनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका तर्फबाट पार्टी केन्द्रीय कार्यालयले शोक वक्तव्य जारी गरेको छ। वि.स. १९९९ सालमा जन्मिएका कोर्मोचा हजुरबुवा कांग्रेसको आन्दोलनमा जोडिएकाले बच्चा बेलादेखि नै कांग्रेसको राजनीतिसँग जोडिएको थिए। पछि ब्रिटिस आर्मीमा भर्ना भएका कोर्मोचा ब्रिटिस आर्मीको जागिर छोडेर पुनः कांग्रेसकै राजनीतिमा होमिएका थिए।
उनी नेपाली कांग्रेसको जिल्ला सभापति, ०४९ सालको स्थानीय चुनावपछि जिविस सभापति बनेका थिए। विकासप्रेमी पहिचान बनाएका कोर्माेचा जातीय पहिचानको आन्दोलन कांग्रेसको असफलताको परिणामका रूपमा अर्थ्याउँथे। कांग्रेसले विचारमा अडिएर राजनीति गरिदिएको र आन्तरिक विवादलाई संसद् विघटनसहितका परिणाम नदिएको भए जतीय आन्दोलन उठ्न नसक्ने र सबै प्रजातन्त्रको छहारीमा गोलकद्ध हुने उनको विचार थियो।
२०३१ सालको चर्चित टिम्बुरबोटे काण्डमा नेपाली कांग्रेका १३ जना मुक्ति सेनाले ज्यान गुमाएका थिए। उक्त काण्डका बखत मुक्ति सेनामै रहेका कोर्मोचा सालोलाई सामान पठाउँछु भनेर घर गएका थिए। त्यही रात तत्कालीन शाही सेनाले वडारमा घेरा हालेर १३ जनाले ज्यान गुमाउँदा दुईजना भने भागेर ज्यान जोगाउन सफल भएका थिए।
घटनापछि कोर्मोचाले जासुसी गरेको आरोप पनि लागेको थियो। तर, उनी कांग्रेसमै सक्रियल भइरहे। ०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले गरेको स्थानीय तह निर्वाचनमा भने कोर्मोचा पुनः जिविस सभापति बने र कांग्रेसले उनलाई कारबाही गर्यो। कारबाही फिर्ता नहुँदै विजय गच्छदारसहितले ०६४ मा मधेस केन्द्रित राजनीति सुरु गरे। कोर्मोचाले छुट्टै समूह बनाएका थिए। उनले पछि विजय गच्छदारले नेतृत्व गरेको मधेसी फोरमसँग एकता गरे र गच्छदारको पार्टीले कांग्रेससँग गरेको एकतासँगै ०७४ कात्तिकदेखि कांग्रेसमा आइपुगेका हुन्।
Shares

प्रतिक्रिया