प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजित गर्ने मनसायले पार्टी भित्रकै नेताहरु सक्रिय भएपछि पार्टी जोगाउनका लागि कदम कडा कदम चालेको बताएका छन्।
शनिबार मदन-आश्रित स्मृति दिवसको कार्यक्रमलाई बल्खुमा सम्बोधन गर्दै उनले पार्टी एकीकरणबाट नेकपा बनाएपछि पार्टीभित्रकै नेताहरु पार्टीलाई विभाजित गर्न लागेको आरोप समेत लगाए।
‘०७४-०७५ मा पुग्दा हामीले पार्टीलाई एउटा सर्वाधिक मजबुत मात्रै होइन, लगभग दुई तिहाईको बनायौँ,’ ओलीकोभ भनाइ छ, ‘थोरै सिट मात्रै हामीकहाँ पुगेको थिएन दुई तिहाई हुन। त्यस ठाउँमा हामीले कम्युनिष्ट आन्दोलनलाई पुर्यायौँ। वामपन्थी आन्दोलनलाई पुर्यायौँ। तर केही स्वार्थ बोकेका, आत्मकेन्द्रित तत्वहरु छट्पटाए। अन्य शक्तिहरु वाह्य शक्तिहरु पनि छट्पटाए। उनीहरुले यिनलाई उचाल्न थाले। र पार्टीभित्रका केही तत्वहरु पनि सक्रिय भएर त्यस अभियानमा सक्रिय भए।'
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालप्रति लक्षित गर्दै उनले अरुकै निम्ति काम गरेर पार्टीभित्र अन्तरविद्रोह पैदा गर्ने काम गरेको टिप्पणी गरे। ‘हामी विकासको लागि अगाडि बढ्न थाल्यौँ, तर नेतृत्वमै रहेका थुप्रै व्यक्तिहरु त्यसलाई ध्वस्त पार्न अर्कोतिर संगठित हुने र अरुकै निम्ति काम गरेर पार्टीभित्र अन्तरविद्रोह पैदा गर्ने काम भयो,’ ओलीको भनाइ छ, ‘अन्तिममा कहिले अदालत गुहारेर, कहिले के गरेर, पार्टी भित्रका समस्या पार्टीभित्र होइन बाहिर चल्ने। दलको नेताकाबिरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नसक्ने, नल्याउने, अनि गएर संसदमा अरु विभिन्न प्रकारका तत्वहरुसँग मिलेर अविश्वासको प्रस्ताव राख्न खोज्ने र पार्टी ध्वस्त पार्ने, सिध्याउन खोज्ने भएपछि हामीले कार्यनीतिक रुपमा केही कडा कदम चाल्नपर्यो।’
उनले थपे, ‘वास्तवमै पार्टी उनीहरुले हामीले एकीकरणका मनसायले एकीकरण गर्यौँ। उनीहरुले गलत ढंगले कब्जा गर्ने, क्षति विक्षत गर्ने, विभाजित बनाउने, कुत्सित मनसायले निर्णायक प्रहार गरेर ध्वस्त पार्न लागेपछि हामीले पार्टी जोगाउनका लागि विशेष कदमहरु चाल्नुपर्यो। आज हैसियतका साथ छौँ। तीन वर्षअघि जहाँबाट लखेटिएको थियो, तीन वर्षपछि हामी फेरि त्यही सरकारको नेतृत्वमा छौँ। सहज परिस्थिति थिएन।’
Shares

प्रतिक्रिया