गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा एमालेसहितको गठबन्धन देशमा राजनीतिक स्थिरता कायम गर्नका लागि बनेको बताएका छन्। मंगलबार विराटनगरमा पत्रकारहरूसँगको कुराकानीमा लेखकले गठबन्धन सरकार बनेको १० महिनायता मुलुकमा राजनीतिक स्थिरता कायम भएको दाबी गरेका हुन्।
राजनीतिक स्थिरता हुँदा प्रधानमन्त्रीले सदनमा पटकपटक विश्वासको मत लिनुनपरेको उनको भनाइ छ। 'यो गठबन्धन सबै खालका निराशालाई आशामा बदल्न बनेको सरकार हो। त्यसैले आशाले आम मानिसलाई सकारात्मकतातिर डोर्याउछ।'
उनले मुलुकको आर्थिक अवस्था लयमा आएको दाबी पनि गरे। १० महिनाअघिको आर्थिक अवस्था र अहिलेको अवस्थामा उल्लेखनीय सुधार आएको बताए।
‘१० महिना पहिलेको आर्थिक अवस्था र अहिलेको आर्थिक अवस्थामा धेरै फरक देख्नु हुन्छ। मुलुकको अर्थतन्त्र लयमा आएको छ। विदेशी मुद्राको संचिति बढेको छ दोश्रो कुरा आर्थिक सुचकांक सकारात्मक बनेका छन्,' उनले भने, 'यो राष्ट्र बैंकको तथ्यांक हो मैले भनेको होइन। अर्को कुरा कानुन १० महिना पहिले कति विद्येयक दर्ता भएर र कतिमा काम भयो र अहिले कति दर्ता भएर कति कानुन बने भनेर हेर्दा पनि प्रष्ट हुन्छ।'
मुलुकमा संविधान विरोधी गतिविधि स्वीकार्य नहुने लेखकको भनाइ छ। 'जनताको बलिदानबाट स्थापित भएको गणतन्त्र र संविधानका विरोधमा कोही जान भने त्यसलाई जनस्तरबाट र सरकारबाट पनि निरुत्साहित गरिन्छ, 'नीतिगत भ्रष्टचार रोक्नका लागि आएको अख्तियार विद्येयक मिलेमतोमा रोकिएको छ नि भन्ने पत्रकारको जिज्ञासामा उनले भने,'यसमा छलफल भइरहेको छ। संसदमा भएका सबै विद्येयकलाई छलफलबाट टुंगोमा पुर्याउछौँ। भ्रष्टचारलाई निर्मूल पार्ने विषयमा हामी अघि बढेका छौँ। अवान्छित गैरकानुनी गतिविधिलाई निष्पक्ष स्वतन्त्र र पारदर्शी ढंगले त्यसलाई कारबाही गर्ने प्रक्रियामा सरकारअघि बढेको छ।'
Shares

प्रतिक्रिया