राजनीति


नेपालखबर ‘संसदमा म’मा उदयशमशेर : पैसाको लागि राजनीतिमा आएको होइन, पावरको मोह चाहिँ छ (भिडिओ)

‘बुबाले भन्नुभएको छ– सागर शमशेरको छोराले भ्रष्टाचार गर्‍यो भन्ने मेरो कानमा कहिल्यै नपरोस्’

नेपालखबर
बैशाख २९ , काठमाडौँ

‘संसदमा म’–५

नेपालखबर विशेष भेन्चर ‘संसदमा म’को नयाँ भागमा यसपटक हामी ललितपुर १ बाट प्रतिनिधि सभामा निर्वाचित नेपाली कांग्रेसका सांसद उदयशमशेर राणाको कथा र अनुभूति लिएर आएका छौँ।

अमेरिकाको कोर्नेल विश्वविद्यालयमा पढेका राणाले कहिल्यै सोचेका थिएनन्, राजनीति गर्छु, सांसद बन्छु अनि मन्त्रीको शपथसम्म लिन्छु भनेर। अध्ययनसँगै अमेरिकामै केही गरौँ भनेर सोचिरहेका उनको मन एक्कासि मोडियो। आफ्नै देश, आफ्नै घर फर्किए। 

नेपाल तरुण दलको उपाध्यक्ष, अध्यक्ष हुँदै उनी नेपाली कांग्रेसको राजनीतिमा उदाए। त्यसपछि नेपाली कांग्रेसले कहिल्यै चुनाव नजितेको ललितपुर १ निर्वाचन क्षेत्रबाट पहिलोपटक चुनाव जितेर अर्थ राज्यमन्त्रीसम्म भए।

तयारी गरेर संसदमा तर्कसहित प्रस्तुत हुने ललितपुर १ का प्रतिनिधिसभा सदस्य राणाको संसदीय यात्रा कस्तो भइरहेको छ?

सांसद उदयशमशेर राणाको कथा र अनुभूति :

–म राजनीतिक परिवारमा जन्मिएँ, हुर्किएँ। तर राजनीति नै गर्छु भन्ने मलाई लागेको थिएन। म अमेरिकाको कोर्नेल युनिभर्सिटीमा पढ्थेँ। दुईचार वर्ष त्यतै काम गरेर बस्ने सोच थियो। तर, नेपालको र परिवारको सम्झना आएपछि म फर्किएँ। हाम्रो व्यापार थियो, फर्किएर आएपछि व्यापारमै काम गरेँ। राजनीतिमा पनि रुचि भएकाले विस्तारै प्रवेश गरेँ। मेरो जिल्ला (ललितपुर)को तरुण दलको अध्यक्ष भएँ। ०६४ सालमा पार्टी भर्खर मिलेको थियो। त्यतिबेला नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टीको सिफारिसमा मेरो नाम माथि गएको थियो। तर मैले टिकट पाउँछु भन्ने लागेको थिएन। टिकट घोषणा हुने केही दिनअघि मसँग नजिकका पार्टीका नेताहरुले ‘तिमी चुनाव लड्ने तयारी गर’ भनेपछि म अलिकति झस्किएँ। ललितपुर १ बाट चुनाव लडेँ। ललितपुरमा नेपाली कांग्रेसले कहिल्यै जितेको थिएन। ०१५ सालमा चुनाव हारेको हो, त्यही क्षेत्रमा मेरो बुबा सागरशमशेर राणाले पनि चुनाव हार्नुभएको थियो। तर, मलाई जित्छु भन्ने थियो। यद्यपि त्यतिबेला माओवादीको डरत्राससँगै लहर पनि थियो। म थोरै मतले वर्षमान पुनसँग चुनाव हारेँ। 

–त्यसपछि सक्रिय हरूमा अर्को ५ वर्ष मैले राजनीतिमा समय दिएँ। निर्वाचन क्षेत्रमा म बारम्बार जान्थेँ। त्यतिबेला म नेपाल तरुण दलको केन्द्रीय उपाध्यक्ष पनि भइसकेको थिएँ। त्यसपछि म केन्द्रीय अध्यक्ष पनि भएँ। फेरि ०७० सालमा चुनाव लडेँ। झन्डै ११ हजारको मतान्तरसहित चुनाव जितेँ। पहिलोपटक कांग्रेसले ललितपुरमा चुनाव जितेको थियो। 

–त्यो दिन म अझै पनि सम्झन्छु, राति मत परिणाम घोषणा भएको थियो। भोलि बिहान ७ बजे म आफ्नो निर्वाचन क्षेत्रमा जाँदाखेरी कांग्रेसी कार्यकर्तामा त्यत्रो खुसी मैले कहिल्यै देखेको थिइनँ। त्यतिबेला मसँग मेरो बुबा पनि जानुभएको थियो। बुबाप्रति सबैको सहानुभूति बढी थियो। मेरो घाँटीभन्दा बढी मेरो बुबाको घाँटीमा माला लगाइएको थियो। त्यो क्षण म कहिल्यै बिर्सन्नँ। 

–मेरा साथीहरुले मैले नेपाली लुगा (दौरा सुरुवाल) लगाएको कहिल्यै देखेका थिएनन्। पहिलोपटक म संसद् छिर्दाखेरी त्यो देखे। म अझै सम्झन्छु, घरबाट बाहिर निस्किँदा साथीहरु सम्पर्क कार्यालयमा बसिरहेका थिए। मलाई नेपाली लुगामा देखेर उनीहरुले ‘ओहो कस्तो सुहाँउदो रहेछ’ भनेको म अझै सम्झन्छु। 

–पहिलोपटक म सांसद बन्दा हाउसभन्दा पनि बढी समितिमा काम गरेँ। म अर्थ समितिमा थिएँ। अर्थ समितिअन्तर्गत तीनवटा उपसमितिमा बसेर विधेयक बनाइयो। प्रधानमन्त्री कार्यालयबाट आएको खरिद ऐनको विधेयकमा हाम्रो गृहकार्य भयो। त्यसपछि बाफिया र सहकारीको विधेयक पनि काम गरियो। 

–फेरि ०७४ मा मैले निर्वाचन हारेँ। यसपटक (२०७९) फेरि मैले निर्वाचन जितेर संसदमा आएको छु। अहिले पहिलेजस्तो कामको प्रेसर छैन, त्यसैले म हाउसमा बढी बोल्छु। 

–कहिलेकाहीँ सांसदहरु जोसमा आएर टेबल फोडाफोड पनि भएको छ। तर, मान्छेले कांग्रेस, एमाले र माओवादी लगायतका दलहरु संसदमा मारामार गर्छन् भनेर जसरी देखिरहेका हुन्छन्, यथार्थमा त्यस्तो परिस्थिति हुँदैन। व्यक्तिगत हरूमा म सफ्ट नेचरको छु। त्यसैले अरु पार्टीका नेतासँग पनि मेरो व्यक्तिगत सम्बन्ध राम्रो छ। 

–संसदीय लोकतन्त्रमा सांसदहरुको काम विकास होइन, विधेयक लेख्नका लागि हो भन्छिन्। तर निर्वाचन क्षेत्रमा जाँदा कतै सानो बाटो बिग्रिएको छ भने पनि यो बाटो किन नबनाएको भनेर हामीलाई प्रश्न गर्छन्। प्रत्यक्ष निर्वाचित सांसदको जिम्मेवारी विधेयक बनाउने र संसदमा बोल्ने मात्रै होइन। जनताले चुनेर पठाइसकेपछि त्यो क्षेत्रको विकासका निम्ति हामीले लड्नुपर्छ र कुरा उठाउनुपर्छ भन्ने लाग्छ। सांसदको काम विधेयक बनाउने मात्रै हो भन्ने गलत धारणा छ। सांसदलाई योजनाहरु किन चाहियो भन्छन्। त्यो हामीले मागेको होइन, हामीलाई चुनेर पठाएका जनताले मागेको हो। अर्को कुरा कहाँ कति विकास आवश्यक छ, जनताले के खोजिरहेका छन् भन्ने कुरा हामीलाई जति अरुलाई थाहा हुँदैन। चुनाव जितेपछि निर्वाचन क्षेत्रमा डुल्न जाँदा सबैभन्दा सुरुमा विकाससम्बन्धी माग र गुनासो आउने पनि हामीलाई नै हो। 

–नेपालमा हामी दलका सांसदहरुले अरु देशमा जस्तो स्वतन्त्र हरूमा भोट गर्दनौँ। पार्टीको ह्विप नै हो। अमेरिकामा फ्लोर क्रस गरिरहेका छन्। जर्मनीमा पनि अस्ति ६ जना सांसदले फ्लोर क्रस गरे। तर, सिक्रेट ब्यालेट हुने भएकाले उनीहरुको थाहा हुँदैन। हामीकहाँ कि हात उठाएर या विभाजनलाई मार्क गरेर भोटिङ गर्ने प्रक्रिया हुन्छ। त्यसैले लुकेर अर्कोतिर भोट हाल्ने सम्भावना हाम्रो संसदमा छैन। 

–यद्यपि मेरो पार्टीमा अलि सजिलो छ। भोटिङ गर्दा ह्विप मान्नुपर्छ तर बोल्नेक्रममा हामीले हाम्रै सरकार भए पनि कामकारबाही चित्त बुझेन भने बोल्ने स्वतन्त्रता छ। मैले धेरैचोटि यो मिलेन भनेर कुरा राखेको छु। झन् म त अलिकति मिलाएर बोल्छु, कोहीकोही साथीहरु त बड्याङबुडुङ नै पार्छन्। मेरो पार्टीका दुईचारजना साथीहरुले अत्यन्तै नमिल्ने कुरा गरिसकेपछि नेताहरुले ‘यो के गरेको, अलि होस गर’ भनेका पनि छन्। जस्तो, एकदुईजना सांसदहरुले हाम्रै मन्त्रीले भ्रष्टाचार गर्छन् भनेर बोल्दिए। त्यो पछि ती सांसदलाई नेताहरुले ‘त्यसो नभन, तिमीसँग प्रमाण छैन’ भनेर सचेत गराएका छन्। तर हामीलाई बोल्न खुला छ। हाम्रै अर्थमन्त्रीले ल्याएको बजेटलाई पनि हामीले आलोचना गर्‍यौँ। समर्थन गरे पनि हामी आलोचनासहित समर्थन गर्छौ। अरु पार्टी कसरी बोल्ने भनेर होमवर्क गरेर, मिटिङ बसेर तयारी गर्छन्। हामी लोकतान्त्रिक पार्टी भएकाले कम्युनिस्ट पार्टीभन्दा अलि फरक छ। संसदमा पनि हामी सरकारको लाइन, पार्टीको लाइनभन्दा अलि बाहिर गएर पनि बोलिरहेका हुन्छौँ। म स्वयं पनि बोलिरहेको हुन्छु। 

–नेपालमा विधेयक बनाउन अत्यन्तै बढी समय लियो। संसदमा उड्यन प्राधिकरण टुक्र्याउने विधेयकमा होमवर्क सुरु गरेको लगभग दुई महिना भइसक्यो। मन्त्रालयबाट पेस भएको त्यो विधेयक सरासर पास गर्‍यो भने भद्रगोल हुन्छ। आवश्यक होमवर्क भएको छैन। मन्त्रालयले स्टेकहोल्डरहरुसँग सल्लाह नगरीकन विधेयक ल्याएको म बढी देख्छु।

–संसदमा सांसदहरु बोल्नका निम्ति बोलेको पनि म बढी देख्छु। कतिपय सांसदहरु अत्यन्तै होमवर्क गरेर त्यहाँ बोल्न जान्छन्, कतिपय पत्रिकामा समाचार देखेको भरमा काम एकतिर, कुरा अर्कोतिर गरिरहेको पनि देख्छु। तिमीले के यस्तो हाउडे कुरा गरेको पनि भन्न मिलेन। 

–म राजनीतिमा सक्रिय भएपछि मेरो बुबाले स्वाट्टै छाड्दिनुभयो। उहाँको मान्यता के छ भने एउटै परिवारमा सबैले राजनीति गर्नुहुन्न नत्र स्वार्थको द्वन्द्व हुन्छ। 

–बुबाले राजनीति छाडेपछि मलाई भन्नुभयो– ‘तिमी कहिल्यै पनि कुनै निर्णय लिन अलमलियौ भने जनतालाई के चाहिएको छ, उनीहरुको दिमागबाट सोचर त्यो निर्णय लिनू। दोस्रो, पैसा नभएर तिमी राजनीतिमा आएको होइन। त्यसैले तिमीले राजनीतिबाट पैसा कमाएको कहिल्यै सुन्न नपरोस्। सागर शमशेरको छोरा उदयशमशेरले भ्रष्टाचार गर्‍यो भन्ने कुरा मेरो कानमा कहिल्यै नपरोस्।’

–र, आजको दिनसम्म पनि म भ्रष्टाचार र अनियमितताको घटनामा मुछिएको छैन। मलाई अरु र मेरा पार्टीका साथीहरुले उदयशमशेरले पैसा खायो भनेर भनेको सुनेको छैन। र, विशेष गरेर मेरो क्षेत्र र मैले पहिले नेतृत्व गरेको तरुण दलका साथीहरुले पनि उदयशमशेरले हामीबाट पैसा लिएर काम गर्‍यो भन्ने तपाईंहरुले हिजो पनि सुन्नुभएन, आज पनि सुन्नुहुन्न, भोलि पनि सुन्नुहुन्न। 

–विशेष गरेर मेरो बुबा सागरशमशेरले ‘तिम्रो इमेज बिग्रिनुहुँदैन, तिम्रो इमेज बिग्रियो भने मेरो पनि बिग्रिन्छ’ भन्नुहुन्थ्यो। मेरो बुबाको कमिटमेन्ट मैले पूरा गर्नुपर्छ। उहाँ चुनाव जितेर सांसद र मन्त्री बन्न सक्नुभएन। म सांसद पनि बनेँ, मन्त्री पनि बनेँ। तर, पैसा र भ्रष्टाचारको विषयमा हामी प्रष्ट छौँ। म राजनीतिमा पैसाका निम्ति आएको होइन। पावरका निम्ति एक हिसाबसम्म हो। राजनीति गर्नेहरुसँग कुर्सी र पावरको पनि केही हदसम्म मोह चाहिँ हुनुपर्छ नत्र हामीले कामै गर्दैनौँ। 

हेर्नुहोस्, ‘संसदमा म’, जहाँ सांसदहरू बोल्छन्, संसद् भवनको रोस्ट्रमबाट होइन, हृदयको गहिराइबाट–नेपालखबरबाट :

बैशाख २९, २०८२ सोमबार १८:३६

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad