नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनताको बहुदलीय जनवाद पुँजीवादी सरकारमा जाने भर्याङ मात्रै हो? भन्दै प्रश्न गरेका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएका प्रधानमन्त्री ओलीसँग स्पष्टिकरण माग गर्दै सांसद सुवालले यस्तो प्रश्न गरेका हुन्।
उनले मुलुकको सार्वजनिक ऋण २७ खर्ब, बेरुजु ६ खर्ब र १५ खर्ब व्यापार घाटा रहेको उल्लेख गर्दै सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डी मात्रै भएको टिप्पणी गरे। उनले जनताको निराशा हटाउने र तिब्र आर्थिक वृद्धि यही हो? भन्दै प्रश्न गरे।
सांसद सुवालले पतञ्जली, गिरिबन्धु चिया बगान, बाल मन्दिरको जग्गा हिनामिना गर्ने प्रधानमन्त्रीहरूलाई कारबाही नगरिएको भन्दै आपत्ति जनाए।
उनले भने, ‘सार्वजनिक ऋण २७ खर्ब, बेरुजु ६ खर्ब, व्यापार घाटा १५ खर्ब, राजश्व तलव नपुग्ने अवस्था नै जनताको निराशा हटाउने र तिब्र आर्थिक वृद्धि हो र? समृद्ध नेपाल र सुखि नेपालीको लक्ष्य तीन दशकपछि बुढ्यौली समाज बनाउने, २५ प्रतिशत नागरिक अहिले पनि कुपोषणको कारण पुड्कोपन हुने यही हो र? पतञ्जली, गिरिबन्धु चिया बगान, बाल मन्दिरको जग्गा हिनामिना गर्ने प्रधानमन्त्रीहरूलाई के कारबाही हुँदैछ?’
सांसद सुवालले सहकारी संस्थाको चार खर्ब बचत ठगी गर्नेलाई कहिले कारबाही हुन्छ? भन्दै प्रधानमन्त्रीसँग जवाफ माग गरे।
Shares

प्रतिक्रिया