प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले नीति तथा कार्यक्रममा केही पनि परिवर्तन नहुने भएकाले समयको मात्रै बर्बादी नहोस् भन्ने माग गरेकी छिन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै नीति तथा कार्यक्रममा केही पनि परिवर्तन नहुने स्थितिलाई परिवर्तन गर्नुपर्नेमा जोड दिइन्।
‘नीति तथा कार्यक्रम कर्मकाण्डी छ, परम्परा धान्न आएको छ,’ शर्माले भनिन्, ‘यसमा कमा र फुलस्टप पनि परिवर्तन हुने छैनन्, हामीले समयको बर्बादी गरिरहेका छौँ। यस्ता खालका प्रक्रिया जुन छन्, त्यसलाई बदल्न जरुरी छ। यो भन्ने अबस्थामा हामी छौँ।’
उनले सांसदहरुले छलफलका क्रममा दिएका सुझावहरुलाई पनि समेट्नेतर्फ सोच्न समेत सरकारलाई सुझाव दिइन्। ‘म सरकारलाई सुझाव दिन चाहान्छु-यसतर्फ सरकारले सोचोस्, ध्यान दिओस्,’ शर्माले भनिन्, ‘सांसदका बसहलाई, सांसदका छलफललाई समय खेर फाल्ने र उनीहरुको बोली बाहिर जनतालाई सुनाउने मात्रै नबनाइयोस्।’
उनले थपिन्, ‘सरकारलाई अनुरोध गर्न चाहान्छु–लोकतान्त्रिक विधिको अनुसरण गर्न सरकारले अप्ठ्यारो नमानोस्। सांसदका सुझाव समेटेर सरकार सानो हुँदैन।’
अघिल्लो सरकारले बजेट क्यालेडर ल्याएको भन्दै अहिले त्यसलाई खारेज गरेकोमा पनि शर्माले आपत्ति जनाइन्। ‘अघिल्लो पटक क्यालेन्डर जुन परिवर्तन भएको थियो,’ उनको भनाइ छ, ‘त्यसलाई परिमार्जन गर्नुको सट्टा सरकारले खारेज गर्यो, त्यसप्रति आपत्ति पनि जनाउन चाहान्छु र आलोचना पनि गर्न चाहान्छु।’
Shares

प्रतिक्रिया