सत्तारुढ नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापाले आजै सरकार ढल्ने, भोलि नै ढल्छ भन्ने खालका वक्तव्य निरर्थक साबित भएको बताएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले देशमा दुई ठूला दल र अन्य पार्टीहरू मिलेर पालैपालो सरकार चलाउने सहमति गरेर नीति तथा कार्यक्रम ल्याइसकेपछि पनि सरकारविरुद्धका चलखेलहरू जारी रहेको जिकिर भने गरे।
‘आज देशमा सङ्ख्यात्मक हिसावले बलियो सरकार छ,’ थापाको भनाइ छ, ‘दुई वटा ठूला पार्टी र अन्य पार्टीहरू मिलेर पालैपालो सुरुमा २४ महिना र त्यसपछि बाँकी अवधि सरकारको नेतृत्व गर्ने घोषणाका साथ सरकार बनेर सहमतिमा काम अघि बढिरहेको छ, सरकारको नीति तथा कार्यक्रम पनि आइसकेको छ। तर त्यसयता दिनहुँ सरकारविरुद्धका चलखेल जारी छन्। आजै सरकार ढल्छ, भोलि नै ढल्छ, मैले सबै मिलाइसके, अब रहँदैन जस्ता वक्तव्यबाजीहरूले मिडिया रंगिने र समाजमा ध्वनि प्रदुषण हुने क्रम जारी छ।’
उनले थपे, ‘तर सरकार अघि बढिरहेको छ। त्यस्ता वक्तव्य र झुटो बकवासहरू निरर्थक साबित भएका छन्। त्यस्ता बोल्ने नेतृत्वलाई कति वटा जिब्रो भएका र अहोरात्र कति झुटो बोल्न सक्ने काबिल नेता मानेर कहिले सम्म सुनिरहनुपर्ने हो, हामी नेपालीहरूले।’
उनले प्रचण्ड नेतृत्वको पछिल्लो २० महिनाको शासन देखिएको पनि टिप्पणी गरे।
Shares

प्रतिक्रिया