राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर बिष्टले देशमा गुण्डाहरूको शासन भएको आरोप लगाएका छन्।
राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाका लागि सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालद्वारा काठमाडौँमा आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका छन्।
विगतमा राजाले नै बनाएका सांसदहरुले राजालाई झुक्याएर रातारात राजा र हिन्दु राष्ट्र खारेज गरी संघीयता लादेको जिकिर गरे। उनले देशमा भइरहेका विभिन्न आन्दोलन र प्रदर्शनहरुमा सरकारको ध्यान नपुगेको बताए।
बिष्टले जनताको प्रशासन नभइ पार्टीहरूको प्रशासनले काम गरिरहेको बताए। उनले देश अराजकतातर्फ गइरहेको भन्दै धेरै शहीद जन्मिने खतरा बढेको बताए।
उनले भने, ‘आज देशमा प्रशासन छैन, दलको प्रशासन छ। पार्टीको प्रशासन छ। जबसम्म देशको प्रशासन हुँदैन, आज हामीले दुईजना शहीदलाई माला लगायौँ, म दुःखका साथ भन्छु अब यस्ता धेरै शहीदहरु जन्मिने डर भयो। हामी त्यसका निमित्त पनि तयार हुनुपर्छ।’
अध्यक्ष बिष्टले मनमोहन अधिकारी, मदन भण्डारीलगायत एमालेकै नेताहरुले नेपालको सन्दर्भमा राजा अवश्यक भएको भनेकाले पनि नेपालमा राजाको स्थान आवश्यक भएको जिकिर गरे।
Shares

प्रतिक्रिया