सरकारमै रहेको दल नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आन्दोलनरत शिक्षकहरूविरुद्ध बल प्रयाेग गरिएपछि सरकारको कडा आलोचना गरेका छन्।
विद्यालय शिक्षा ऐन जारी गर्न २६ दिनदेखि आन्दोलनरत शिक्षक र प्रहरीबीच आइतबार बानेश्वरमा झडप भएको छ। यस क्रममा ६२ जना शिक्षक घाइते भएको आन्दोलन नेतृत्वकर्ता नेपाल शिक्षक महासंघले बताएको छ।
यसप्रति आपत्ति जनाउँदै कांग्रेस नेता कोइरालाले यसलाई सरकारी कुशासनको अर्को उदाहरणको संज्ञा दिएका हुन्।
‘शिक्षा ऐन ल्याउनुपर्ने माग सहित शिक्षकहरू सडक आन्दोलनमा उत्रेको झण्डै एक महिना भयो। पठनपाठन र सरकारी भर्ना अभियान ठप्प छ, कक्षा १२ को परीक्षासमेत सरेको छ’, नेता कोइरालाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यस्तो अवस्थामा शिक्षकहरूसँग वार्ता गरी समस्या समाधान गर्नुपर्नेमा सडकमै उनीहरूमाथि प्रहरी बल प्रयोग गर्नु र पालिका लगाएर शिक्षकहरूलाई धम्क्याउनु सरकारको कुसाशनको अर्को उदाहरण हो। अब धेरै ढिला भयो। एक-दुई दिनमै समस्या समाधान गरी पठनपाठन सुचारु गर्न सरकारको ध्यानाकर्षण गराउँछु।’
Shares

प्रतिक्रिया