राजनीति


भारत पुगेर उपेन्द्रले भने– जाति, धर्म, राष्ट्रियताको आधारमा भेदभाव बढ्दैछ

भारत पुगेर उपेन्द्रले भने– जाति, धर्म, राष्ट्रियताको आधारमा भेदभाव बढ्दैछ

नेपालखबर
बैशाख १३, २०८२ शनिबार १८:०, काठमाडौँ

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले गरिबी, असामनता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रुपमा अगाडी बढाउनु पर्ने बताएका छन।
 
भारतको हैदरावादमा प्रोग्रेसिभ एलाइन्सले आयोजना गरेको विश्वव्यापी न्याय सम्पादन सम्बन्धि अन्तराष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले विश्वभरिका मानिसहरूका लागि स्वतन्त्रता, समानता, सामाजिक न्याय, मानव अधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक र कानुनी न्याय सुनिश्चित हुनुपर्ने बताएका हुन्। 

जलवायु परिवर्तनको प्रभावबाट प्रभावित कमजोर राष्ट्रहरूको संरक्षण गर्न जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतहरूको न्यायपूर्ण प्रबन्ध गरिनु पर्ने उल्लेख गर्दै उनले विकसित देशहरूले उत्पादन गरेको प्रदूषणको असर कमजोर र विकासशील देशहरूले बेहोरिरहेको हुँदा यसका लागि विकसित देशहरूले पर्यावरणीय क्षतिको जिम्मेवारी लिनु पर्ने बताए। 

वैश्विक व्यापार, कर प्रणाली र ऋणको बोझले धनी र गरिब देशहरूबीच आर्थिक अन्तर बढदै गएको उल्लेख गर्दै उनले अर्थको न्यायपूर्ण वितरणमा चुनौती उत्पन्न गरेको दावी गरेका छन्।
  

‘युद्ध, संघर्ष र अत्याचारले विश्वभर मानिसहरूको मौलिक अधिकार हनन गरिरहेको छ। विश्वभरका सबै व्यक्तिहरूको मौलिक अधिकारको संरक्षण, लैंगिक समानता र सामाजिक न्यायलाई प्रवर्धन गरिनु पर्दछ,’ उनले भने। 

जाति, लिंग, धर्म, वर्ग, राष्ट्रियता आदिको आधारमा भेदभाव बढदै गएको भन्दै अध्यक्ष यादवले मानिसको मौलिक अधिकार को रक्षा,  शिक्षा, स्वास्थ्य र रोजगारीमा सबैको पहुँच,  महिला, अल्पसंख्यक र सिमान्तकृत वर्ग समुदायहरूको अधिकार, स्रोत साधनमा पहुंच र प्रतिनिधित्वको सुनिश्चित्तता गरिनु आवश्यक रहेको उल्लेख गरे। 

सम्पूर्ण  देश या राष्ट्रहरुका समाजवादी,  सामाजिक लोकतान्त्रिक, श्रमिक र प्रगतिशील शक्तिहरुले विश्वब्यापी रुपमा स्वतन्त्रता, समानता, सामाजिक न्याय र बन्धुत्वको अभियान निरन्तर जारी राख्न उनले आग्रह समेत गरेका छन्। 

भारतको हैदरावादमा तेलांगाना सरकारको संयोजन तथा प्रोग्रेसिभ एलाइन्सको आयोजनामा भईरहेको तीन दिवसीय उक्त सम्मेलनमा एक सय भन्दाबढी मुलुकका चार सयबढी समाजवादी राजनीतिक पार्टीहरुका प्रतिनिधिहरुको सहभागिता रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad