राजनीति


नेपाल सदैव आतंकवादको विपक्षमा छः परराष्ट्रमन्त्री डा राणा

नेपाल सदैव आतंकवादको विपक्षमा छः परराष्ट्रमन्त्री डा राणा

नेपालखबर
बैशाख १३, २०८२ शनिबार १७:४८, काठमाडौँ

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल सदैव आतंकवाद विपक्षमा रहेको र जुनसुकै प्रकृतिको आतंकवाद कडा शब्दमा निन्दा गर्ने बताएकी छन्। 

भारत, काश्मिरको पहलगाममा भएको आतंककारी हमलामा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपालस्थित भारतीय दूतावासद्वारा शनिबार यहाँ आयोजित सभामा उनले नेपाल सधैँ आतंकवादको विरुद्धमा र शान्तिको पक्षमा रहेको स्पष्ट गरिन्। 

मन्त्री डा राणाले भनिन्, ‘नेपालले आतंकवादको सबै स्वरुप र अभिव्यक्तिहरूको कडा निन्दा गर्दछ। नेपाल जहाँ, जहिले र जुनसुकै उद्देश्यका लागि गरिने आतंकवादी क्रियाकलापको सदैव विपक्षमा उभिन्छ।’

आतंकवादका विषयमा व्यवहार गर्दा कहिल्यै दोहोरो मापदण्ड अपनाउन नहुने बताउँदै उनले नेपाल आफ्नो भूमि कुनै पनि आतंकवादी समूहले कुनै पनि कारण र कुनै पनि देश तथा जनताविरुद्ध प्रयोग गर्न नसकोस् भन्ने पक्षमा दृढतापूर्वक प्रतिबद्ध रहेको स्पष्ट गरिन्। यसैले काश्मिरको पहलगाममा भएको आतंकवादी हमलाको पनि नेपालले कडा शब्दमा निन्दा र भत्र्सना गरेको मन्त्री डा राणाले बताइन्। 

उनले यस दुःखको घडीमा भारत सरकार र भारतीय जनताको पक्षमा नेपाल उभिएको र आतंकवादविरुद्धको लडाइँमा भारतसँग काँधमा काँध मिलाएको बताइन्। नेपाल र भारतबीच गहिरो सम्बन्ध रहेको स्मरण गर्दै मन्त्री डा राणाले यो सम्बन्ध केवल कूटनीतिको विषय मात्र नभएर सदियौँदेखिको साझा इतिहास, संस्कृति र सहकार्य पनि रहेको बताइन्।

‘हाम्रा खुला सिमानाहरू एकापसका विश्वासका प्रतीक हुन् र हाम्रा पारिवारिक सम्बन्धहरूले आपसमा नाता पनि गाँस्दछन्। हामी सधैँ खुसी या संकटको समयमा एकसाथ उभिएका छौँ। भूकम्पले नेपाललाई तहसनहस पार्दा सबैभन्दा पहिला सहयोगको हात अगाडि बढाएको भारतले नै हो’, उनले भनिन्।  

मन्त्री डा रााणाले पहलगाम त्रासदीको सिकार भएका नेपाली युवा सुदीप न्यौपानेको शव र अन्य प्रभावितहरूलाई नेपाल ल्याउन सहयोग गरेकामा भारत सरकारलाई धन्यवाद पनि दिइन्। त्यस अवसरमा उनले उक्त आतंकवादी हमलामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहेका परिवारजनमा समवेदना प्रकट गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad