राजनीति


हिरासतका ‘रुम पार्टनर’ धवल छुटेपछि गल्न थाले रवीन्द्र, प्रहरीलाई भन्छन्- मेरो लागि पार्टी बोलेन, निष्पक्ष अनुसन्धान गरिदिनुस्

हिरासतका ‘रुम पार्टनर’ धवल छुटेपछि गल्न थाले रवीन्द्र, प्रहरीलाई भन्छन्- मेरो लागि पार्टी बोलेन, निष्पक्ष अनुसन्धान गरिदिनुस्

उजिर कार्की
बैशाख १२, २०८२ शुक्रबार २२:२९, काठमाडौँ

हिरासतका ‘रुम पार्टनर’ धवल शमशेर राणा छुटेको ६ दिन भयो। गएको आइतबार हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवम् सांसद राणा उपचारका लागि भारत पुगिसकेका छन्। तर, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र हिरासतमै छन्। राणा छुटेपछि उनी कोठामा एक्लिएका छन्। 

चैत १५ गते बेलुका राणा र मिश्रलाई प्रहरीले पक्राउ गरेर छुट्टाछुट्टै कोठामा राखेको थियो। मिश्रले आफूलाई अरु थुनुवासँग राखेपछि गुनासो गरे। हल्ला भएर साह्रै डिस्टर्ब भएको र सुत्न नसकेको गुनासोपछि प्रहरीले उनलाई पनि राणाकै कोठामा सारिदिएको थियो। २० दिनदेखि सँगै बसेका थिए राणा र मिश्र। 

अहिले त राप्रपाका नेताहरू पनि विरलै जान्छन् मिश्रलाई भेट्न। धवलशमशेर हुन्जेल बाक्लै जाने राजेन्द्र लिङ्देन केही दिनदेखि परिसर गएका छैनन्। पहिले दिनदिनै जाने नेताहरूको पनि भेटघाट पातलिएको छ। 

हिरासतभित्र रहेका मिश्रले पार्टीले आफूलाई त्यति वास्ता नगरेको महसुस गर्न थालेका छन्। उनलाई भेटेका परिसरका प्रहरी अधिकारी भन्छन्, ‘मिश्र सर पहिले जस्तो हुनुहुन्न। सुरुमा त उहाँ यो मुद्दा केही पनि होइन भने जस्तो गर्नु हुन्थ्यो। तर धवल छुटेपछि उहाँको बोली फेरिएको छ। अचेल अलिक कमजोर महसुस गर्न थाल्नु भएको छ। आफूलाई पार्टीले पनि प्राथमिकता नदिएको गुनासो गर्नुहुन्छ।’

उनले गुनासो गरेको कुरालाई बल पुग्ने गरी राप्रपाका नेताहरू पनि माथिल्लो तलामा प्रहरी अधिकारीहरूसँग गफिन्छन्। पक्राउ परेको केही दिनमै पुगेका एक शीर्ष नेताले सुरुमा मिश्र र राणालाई प्रहरी अधिकारीकै कार्य कक्षमा बोलाएर भेटाइदिन आग्रह गरे। प्रहरीले त्यसरी भेटाउन नमिल्ने बताएपछि मात्रै हिरासतमा झरेर भेटेका थिए। 

मिश्रलाई भेट्नुअघि पार्टीका ती नेताले आफूहरू एउटै पार्टीको नेताका हिसाबले मात्रै भेट्न पुगेको र मिश्रहरूले गल्तीचाहिँ त्यसदिन गरेकै बताउँथे। आफ्नो पार्टीको नेतृत्वमा नभएको प्रदर्शनमा सहभागी हुनु र त्यो पनि दुर्गा प्रसाईं जस्ताको नेतृत्वमा भएको प्रदर्शनमा सहभागी हुनु गल्ती भएको ती नेताले प्रहरीसँग बताए। 

परिसरका एक अधिकारी भन्छन्, ‘अहिले त त्यसरी भेटन् आउने पनि एकदमै कम भएका छन्। आज पशुपति शमशेर राणा आउनु भएको थियो। नभए शीर्ष नेताहरू केही दिनदेखि आउनु भएको छैन। मिश्र सर पनि गल्दै जानु भएको छ। उहाँ आफूले कुनै गल्ती नगरेको दाबी गर्दै निष्पक्ष अनुसन्धान गरिदिन आग्रह गर्नुहुन्छ। आफू फकिसकेँ कि भन्ने भान उहाँमा देखिन्छ।’

राणा छुटेपछि राप्रपाका नेताहरूको आवाज पनि कमजोर हुँदै गएको छ। राणालाई छुटाउन उनको परिवारले प्रधानमन्त्री, गृहमन्त्री र परराष्ट्रमन्त्रीसँग पहल गरेका थिए। शीर्ष तहको छलफलपछि राणालाई छाड्न प्रहरीलाई निर्देशन गयो। शीर्ष तहमा सहमति भएपछि छाडिने सूचना बाहिरियो। अनि, त्यसको दुई दिनपछि मात्रै राणालाई उपचारका लागि भारत जानु पर्ने कारण देखाएर हाजिरी जमानीमा रिहा गरिएको थियो। 

सुरुमा आफू अस्पताल समेत नबसी कानुनी लडाइँ लड्ने अडान कसेका मिश्रले दुई दिनपहिले म्याद थपका लागि अदालतमा उपस्थित गराउँदा आफूलाई हाजिरी जमानीमा रिहा गरिदिन निवेदन गरेका थिए। 

मिश्रको आवश्यक स्वास्थ्य जाँच र उपचारको व्यवस्था गर्न अदालतले यसअघि पनि प्रहरीको ध्यानाकर्षण गराएको थियो। अब भने धेरै दिन हिरासतमा नराख्ने आशयको आदेश गरेको छ। 

१० गतेको आदेशमा भनिएको छ, ‘स्वास्थ्य समस्याको गम्भीरतालाई विचार गरी प्रतिवेदन अनुसारको कसुरमा संलग्नता पुष्टि गर्ने कुनै थप प्रमाण संकलन गर्ने कार्य बाँकी नरहेको अवस्थामा मुलुकी अपराध संहिता, २०७४ को दफा १५ अनुसार प्रतिवादीहरूलाई हाजिरी जमानीमा छाड्न वा तारेखमा राख्न सक्ने सम्बन्धमा अनुसन्धान अधिकारी र जिल्ला सरकारी वकिल कार्यालयलाई जानकारी गराउनू।’

अदालतले उनीहरूको हकमा कस्ता प्रमाण संकलन गर्न बाँकी रहेको भनेर प्रहरीले प्रस्ट खुलाउन नसकेको पनि भनेको छ। अब म्याद थप गर्दा बयान लिन बाँकी प्रतिवादीको बयान लिने कार्य सम्पन्न गर्न र बयान कार्य सम्पन्न भएका रवीन्द्र मिश्रको उक्त कसुरमा संलग्नता पुष्टि गर्ने केकस्ता कागज प्रमाण संकलन गर्न बाँकी रहेकोले थप म्याद माग गर्नु परेको हो भन्ने प्रश्न उठाएको छ। 

बुधबार जिल्ला अदालतको म्याद थप आदेशअघि मिश्रले इजलासमा पनि आफ्नो राज्यविरुद्धको कसुरमा कुनै संलग्नता नरहेको दाबी गरेका थिए। उनका वकिलले पनि सुरुमै उनलाई समयमा म्याद थपका लागि उपस्थित नगराइएको भन्दै गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गरे। 

तर प्रहरीले भने यो मुद्दाको अनुसन्धान गर्न प्रहरीले ६० दिनको म्याद पाउने र ६० दिनमा अनुसन्धान सक्ने गरी काम भइरहेको दाबी गरेका छन्। 

अनुसन्धानमा संलग्न प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण पंगेनीले भने, ‘हामीले संगठित अपराधमा अनुसन्धान गर्न पाउने ६० दिन हो। यो समयसम्ममा हामी अनुसन्धान सक्छौँ। अदालतले केही कुरा मिलेन भनेको छ भने त्यसलाई अब मिलाएर र प्रस्ट खुलाएर लैजान्छौँ।’

यता उनको पार्टी चुप लाग्दै जाँदा कमल थापा नेतृत्वको राप्रपा नेपालले भने तीनकुने घटनामा पक्राउ परेकाको रिहाइको माग गर्दै वैशाख १५ गते भृकुटीमण्डपमा प्रदर्शन गर्ने घोषणा गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad