राजनीति


शिक्षा र निजामती सेवा विधेयक पारितका लागि सक्रिय हुन आफ्ना सांसदलाई प्रचण्डको निर्देशन

शिक्षा र निजामती सेवा विधेयक पारितका लागि सक्रिय हुन आफ्ना सांसदलाई प्रचण्डको निर्देशन

नेपालखबर
बैशाख ११, २०८२ बिहिबार १०:२४, काठमाडौँ

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षा विधेयकजस्ता महत्वपूर्ण विधेयक संसद्बाट पारित गर्नको सक्रिय हुन आफ्ना सांसदलाई निर्देशन दिएका छन्।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा आज बसेको पार्टीको पूर्ण बैठकमा उनले यस्तो निर्देशन दिएका हुन्। 

उनले यथास्थिति र प्रतिगामी प्रवृत्तिविरुद्धको संघर्षमा जनताको पक्ष मजवुद बन्दै गएकोसमेत बताएका छन्। 

माओवादी नेतृत्वको सरकारले गहिरो तयारीपछि शिक्षा विधेयक प्रस्तुत गरेको उल्लेख गर्दै उनले विधेयक संसद्बाट पारित गराउन सबै सांसद सक्रिय हुनुपर्नेमा जोड दिएका हुन्। 

शिक्षा मन्त्रीको राजीनामापछि शिक्षक आन्दोलनप्रति सरकारको संवेदनशीलता घट्दै गएको भन्दै अध्यक्ष प्रचण्डले संसद्बाटै शिक्षकका माग सम्बोधन गर्न सांसदलाई जिम्मेवार भूमिका निर्वाह गर्न पनि निर्देशन दिए। 

उनले पछिल्लो राजनीतिक परिदृश्य, सरकारको कार्यशैली, पार्टीको भूमिका र जनअपेक्षाबारे सांसदहरूसँग विस्तृत छलफल गरेका छन्।

अध्यक्ष प्रचण्डले अघिल्लो संसद् अधिवेशनमा प्रधानमन्त्री संसदमा जवाफ नदिने अडानमा रहँदा माओवादी केन्द्रको स्पष्ट अडान र दबाबकै कारण ओलीलाई दुबै सदनमा उपस्थित भई जवाफ दिन बाध्य बनाउन सफल भएको बताए। 

‘यो लोकतान्त्रिक प्रक्रियामा जनताको पक्षमा भएको विजय हो,’ उनले भने। 

प्रचण्डले पार्टीले सञ्चालन गरेको यथास्थिति र प्रतिगामी प्रवृत्तिविरुद्धको अभियान सफल भएको दाबी गर्दै हुलाकी राजमार्ग केन्द्रित अभियान र काठमाडौँमा आयोजित जनप्रदर्शनमा व्यापक जनसमर्थन देखिएको बताए। 

काठमाडौँमा यथास्थिति र प्रतिगमनविरुद्ध आयोजना गरिएको विशाल जनप्रदर्शनमा समाजवादी मोर्चाभित्र देखिएको एकताले पार्टीको गरिमा अझ उचो बनाएको उनको भनाई थियो। 

‘तराई–मधेस जागरण अभियान’मार्फत माओवादीप्रति पुनः जनविश्वास स्थापित भइरहेको तर्क गर्दै उनले जनाधार भएका व्यक्तिहरू पार्टीमा प्रवेश गरिरहेको र यसले संगठनलाई थप मजबुत बनाएको बताए। 

अध्यक्ष प्रचण्डले शिक्षक, चिकित्सक तथा लघुवित्त पीडितहरूसँग संवाद भइरहेको जनाउँदै सरकार समस्याको समाधानतर्फ नगई उल्टै जटिलता बढाउने दिशामा गएको आरोप लगाए। साथै, उनले प्रधानमन्त्रीले आन्दोलनरत शिक्षकहरूसँगको संवादमा आफ्नो नाम जोडेर टिप्पणी गर्नु दुर्भाग्यपूर्ण रहेको तर्क गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad