राजनीति


यूएईका विदेशमन्त्री आज नेपाल आउँदै, राष्ट्रपति र प्रधानमन्त्रीसँग गर्नेछन् भेट

यूएईका विदेशमन्त्री आज नेपाल आउँदै, राष्ट्रपति र प्रधानमन्त्रीसँग गर्नेछन् भेट

नेपालखबर
बैशाख ९, २०८२ मंगलबार १५:१७, काठमाडौँ

संयुक्त अरब इमिरेट्स (यूएई) उपप्रधान तथा विदेशमन्त्रीले नेपालको दुई दिने भ्रमणका क्रममा नेपालको शीर्ष नेतृत्वसँग भेटवार्ता गर्ने भएका छन्। 

औपचारिक भ्रमणको सिलसिलामा मंगलबार काठमाडौँ आइपुग्ने विदेशमन्त्री शेख अब्दुल्लाह विन जायेद अब नाह्यानले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्न लागेका हुन्। 

विदेशमन्त्री अल नाह्यानको नेपाल भ्रमणबारे परराष्ट्र मन्त्रालयले मंगलबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत् संक्षिप्त जानकारी दिएको छ। जसमा उनको नेपाल भ्रमण दुई दिनको र औपचारिक हुने उल्लेख गरिएको छ। 

‘उपप्रधान तथा विदेशमन्त्री नाह्यानले काठमाडौँमा रहँदा उच्चस्तरीय भेटवार्ता गर्नुहुनेछ’ परराष्ट्र मन्त्रालयले ‘एक्स’ मा लेखेको छ, ‘भ्रमणका क्रममा उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेतृत्व गरेको प्रतिनिधिमण्डलसँग बैठक पनि गर्नु हुनेछ।’ 

परराष्ट्र मन्त्रालयले ‘एक्स’ मार्फत् सार्वजनिक गरेको सूचनामा उल्लेख नगरे पनि परराष्ट्र मन्त्रालयका अधिकारीहरूले भने राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीसँग पनि परराष्ट्रमन्त्री अल नाह्यानले भेटवार्ता गर्ने दाबी गरेका छन्। 

३४ वर्षको उमेरमा सन् २००६ मा यूएईको परराष्ट्रमन्त्रीको जिम्मेवारी प्राप्त गरेका अल नाह्यानको यो तेस्रो नेपाल भ्रमण हो। सुजाता कोइराला परराष्ट्रमन्त्री भएका बेला परराष्ट्रमन्त्रीको हैसियतमा पहिलोपटक नेपाल आएका उनले दोस्रो पटक सन् २०१६ मा नेपाल भ्रमण गरेका थिए। 

उनको दोस्रो नेपाल भ्रमणको उद्देश्य काठमाडौँमा स्थापना गरिएको यूएईको राजदूतावास उद्घाटन गर्नु थियो। तत्कालीन परराष्ट्रमन्त्री कमल थापाका साथ उनले काठमाडौँस्थित यूएई राजदूतावासको उद्घाटन गरेका थिए। 

राष्ट्रपति पौडेल, प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री सिंहलगायतसँग भेटवार्ता हुने भए पनि नेपाली समकक्षी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भने उनको भेटवार्ता हुनेछैन। 

राष्ट्रसंघीय निकाय इकोनोमिक एण्ड सोसल कमिसन फर एसिया एण्ड द प्यासिफिक (इस्क्याप) को ८१ औँ बैठकको अध्यक्षता गर्ने क्रममा मन्त्री डा. राणा थाइल्याण्डको राजधानी बैंककमा रहेका कारण परराष्ट्रमन्त्री अल नाह्यानको समकक्षी भेटवार्ता नहुने भएको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad