शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सोमबार अचानक पदबाट राजीनामा दिएपछि उनको पार्टी नेकपा एमालेमा तरंग छाएको छ।
यसबीच एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको दबाब थेग्न नसकेपछि नेतृ भट्टराईले मन्त्री पदबाट राजीनामा दिएको समाचार पनि सार्वजनिक भएको छ।
यसैकारण यतिबेला एमालेका नेताहरूले यस विषयमा विभिन्न किसिमका टिप्पणीहरू गरिरहेका छन्।
यसै क्रममा पूर्वमन्त्रीसमेत रहेका एमाले पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले विद्या भट्टराईविरुद्ध अप्रत्यक्ष रूपमा व्यंग्य गरेका छन्।
बाँस्कोटाले मंगलबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘म जे छु, ठिकै छु। किनकि मेरो मूल्यांकन गर्ने सर्वोच्च निकाय म नै छु। बाँकीको मूल्यांकन गर्ने त स्वयम् उनीहरू मात्र हुन्। जसलाई स्वघोषित त्यो अख्तियारी प्राप्त छ।’
उता एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले भने विद्याले ‘स्वास्थ्यका कारण राजीनामा दिएको’ दाबी गरेका छन्। र, यही निहुँमा पार्टी अध्यक्ष प्रधानमन्त्री ओलीविरुद्ध खनिनु निन्दनीय भएको टिप्पणी गरेका छन्।
‘शिक्षामन्त्री विद्या भट्टराईले ‘स्वास्थ्यका कारण’ राजीनामा दिएको’ भनिन्छ। जे कारण होला, उहाँले पदमा रहन चाहनुभएन, रिजालले मंगलबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘यही निहुँमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रमण गर्नु नियोजित छ । समस्याका बीचमा पद छाड्नुभएकी मन्त्रीको देवत्वकरण गर्ने र उहाँलाई मन्त्री बनाउने अनि सबैतिर मिलाएर समस्या समाधानमा प्रयत्नरत प्रधानमन्त्रीको दानवीकरण गर्नु खेदजनक छ।’
Shares

प्रतिक्रिया