राजनीति


रविको रिहाइ माग गरिएको निवेदन सुनुवाइ गर्न पेसी आज

रविको रिहाइ माग गरिएको निवेदन सुनुवाइ गर्न पेसी आज

नेपालखबर
बैशाख ८, २०८२ सोमबार ८:७, काठमाडौँ

सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा राखिएका रास्वपा सभापति रवि लामिछानेलाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता बन्दी प्रत्यक्षीकरणको निवेदनमा आज सोमबार सुनुवाइ गरिँदै छ। 

आफूलाई गैरकानुनी थुनामा राखिएको दाबी गर्दै रिहा गरिनुपर्ने माग गरी पूर्वगृहमन्त्री लामिछानले श्रीमती निकिता पौडेलमार्फत आइतबार प्रत्यक्षीकरणको रिट दर्ता गराएका हुन्।

उक्त निवेदनको प्रारम्भिक सुनुवाइ गर्न सोमबारका लागि पेसी तोकिएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ।

बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा जिल्ला अदालत रुपन्देहीले रविलाई १ करोड धरौटीमा रिहा गरेको थियो।

तर उच्च अदालत तुलसीपुरको बुटवल इजलासले चैत २२ गते उक्त आदेश बदर गरेर थुनामै पठाउन भनेपछि रवि रुपन्देही कारागारमा छन्। 

उच्चको आदेश बदर गरी थुनाबाहिर राख्न माग गरिएको निवेदनको टुंगो लाग्न समय लाग्ने देखिएपछि रविले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन पनि दिएका हुन्। उक्त निवेदनमा सर्वोच्चले उच्च अदालत र जिल्ला अदालतबाट कागजात झिकाइसकेको छ।

सुप्रिम सहकारी ठगीमा रवि, छवि र जीबी राईसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूले सहकारीको ५५ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको अभियोग छ।

उक्त रकममध्ये रवि, छवि र जीबीले गोर्खा मिडिया प्रालि स्थापना गरी त्यस कम्पनीमार्फत गैरकानुनी रूपमा १० करोड ९९ लाख ३६ हजार रकम परिचालन गरेको अभियोगपत्रमा उल्लेख छ। जीबी राई भने फरार छन्।

थुनामा रहेका छविले पनि थुनामा राख्ने आदेश बदर माग गर्दै सर्वोच्चमा निवेदन दिएका छन्। निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चले कैफियत प्रतिवेदन मागेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad