राजनीति


देशमै रास्वपाबाट एक्ली स्थानीय जनप्रतिनिधि रोजिनाको अनुभव: मेयरको शक्ति बालेनबाट थाहा पायौँ

देशमै रास्वपाबाट एक्ली स्थानीय जनप्रतिनिधि रोजिनाको अनुभव: मेयरको शक्ति बालेनबाट थाहा पायौँ

रोजिना श्रेष्ठ काठमाडौँ महानगरपालिकाका ३२ मध्ये एक्ली महिला वडाध्यक्ष हुन्। तस्बिर: आयुषा ढकाल


आयुषा ढकाल
बैशाख ६, २०८२ शनिबार १२:३५, काठमाडौँ

बुधबार दिउँसो ३ बजेतिर काठमाडौँ महानगरपालिका वडा नं १६ को कार्यालयमा पुग्दा वडाध्यक्ष रोजिना श्रेष्ठ सेवाग्राहीहरूसँग कुरा गर्दै थिइन्।

नम्र स्वरमा उनी नबुझेको कुरा बुझाउँदै थिइन्। अपुग भएका कागजपत्रबारे सम्झाउँदै थिइन्।

सेवाग्राहीको काम सकिएपछि मात्र नेपालखबरसँग कुरा गर्न उनी तयार भइन्।

रोजिना यो कुर्सीमा बसेको साढे ४ महिना भयो।

वडाध्यक्ष भएर आउँदा सुरुका दिन केही अलमल नभएको होइन। त्यसमाथि नेपाली कांग्रेस, नेकपा एमालेजस्ता ठूला दलसँग प्रतिस्पर्धा गरेर आएकी थिइन् उनी। वडामा र महानगरको कार्यपालिका बैठकमा पनि तिनै प्रतिस्पर्धी दलहरूको दबदबा थियो।

तर, जब उनी वडाध्यक्षका रूपमा काम गर्न थालिन्, अभ्यस्त हुँदै गइन्। सबैले उनको भूमिकालाई स्वीकार्दै गए।

‘चुनावमा प्रतिस्पर्धा भयो। त्यो त्यहीँ सकियो,’ उनी भन्छिन्, ‘यहाँ त एउटा परिवारजस्तो भएर काम गर्नुपर्छ।’

गत मंसिर १६ गते काठमाडौँ-१६ मा भएको उपनिर्वाचनमा उनले ठूलाठूला दललाई पराजित गरी भर्खरै उदाएको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विजय हासिल गरेकी थिइन्। उनी देशभरिमा रास्वपाबाट स्थानीय तहमा एक्ली जनप्रतिनिधि पनि हुन्।

तर, कहिल्यै पनि आफूले ठूला दललाई हराएर आएको भन्‍ने घमण्‍ड नराखेको उनी बताउँछिन्।

भन्छिन्, ‘जनताले चुनेर पठाएको प्रतिनिधि भएकोले यस वडा कार्यालयभित्र छिरिसकेपछि यो दल, त्यो दल भन्‍ने नसोचीकन आफू जनताको सेवा गर्नको निम्ति जनताले नै चुनेर पठाएको व्यक्ति हो र मैले कुनै दलको व्यक्तिलाई मात्र नभएर सम्पूर्ण वडालाई नै हेर्नुपर्छ।’

चुनावको समयमा जो-जो प्रतिद्वन्द्वी भए तापनि व्यक्तिगत रूपमा उनीहरू सबै आफ्नो दाजुभाइ रहेको र कहिल्यै पनि आफूले प्रतिद्वन्द्वीको रूपमा नहेरेको उनको भनाइ छ। उनको मान्यता छ, दलभन्दा पनि ठूलो कुरा राम्रो काम गर्नु हो।

काठमाडौँ महानगरपालिकाको नेतृत्वमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित बालेन्द्र शाह (बालेन) छन् भने अरू सबै कुनै न कुनै पार्टीका जनप्रतिनिधि छन्। महानगरको नेतृत्व सम्हालिरहेका शाहले ठूला दलसँग टक्कर लिएर काम गरिरहेका बेला रास्वपाकी एक्ली जनप्रतिनिधिले कसरी काम गरिरहेकी होलिन् भन्ने जिज्ञासा हुनु स्वाभाविक थियो।

तर, पार्टीकै कारणले काम गर्न कुनै समस्या नबेहोरेको उनको अनुभव छ।

‘जुनसुकै पार्टीको व्यक्ति भए तापनि यस वडामा आइसकेपछि हामी सबै एउटा परिवार र टिम नै भएर काम गर्ने हो,’ उनी भन्छिन्।

सबै काम एकआपसमा सल्लाह र छलफल गरेर, सदस्यहरूले नजानेका कुरा आफूले बुझाउने र आफूले नबुझेका कुरा सदस्यबाट सिक्ने गरेको उनको भनाइ छ।

उनका भनाइमा, वडामा गरिने कामको कुनै पनि किसिमको निर्णय तथा छलफलमा वडाध्यक्ष, ४ सदस्य र सचिव गरी ६ जना नै बसेर निर्णय गरिन्छ।

महानगरका ३२ वटा वडामा रोजिना एक्ली महिला वडाध्यक्ष पनि हुन्। एउटी महिलालाई आफ्नो वडाको वडाध्‍यक्षका रूपमा पाएकोमा स्थानीयले खुसी दर्शाउने गरेको उनको अनुभव छ। विशेषगरी महिलालाई आफ्ना समस्या खुलस्त रूपमा राख्‍न सहज भएको उनको बुझाइ छ।

श्रेष्‍ठ बिहान १० बजे नै कार्यालय पुग्छिन्। साँझ ५ बजेसम्मै कर्यालयमा बसेर वडाबासीको सेवामा खट्छिन्। उनको खटाइ देखेर कतिपय सेवाग्राहीले भन्ने पनि गर्छन्- पहिलेको वडाध्यक्षलाई भेट्न गाह्रो हुन्थ्यो, अहिले सजिलो भएको छ।

यस्ता प्रतिक्रियाले उनलाई खुसी बनाउँछ र सेवामा लाग्न थप प्रोत्साहित गर्छ।

‘जुनसुकै समयमा पनि वडाध्यक्षलाई भेटेर काम गर्न सकिने भएकोले हाम्रा वडावासी खुसी हुनुहुन्छ ,’ उनी भन्छिन्, ‘सेवाग्राही खुसी भएर गएको देख्दा सकारात्मक जोस आउँछ। अझै काम गर्न मन लाग्छ। कतिपय सेवाग्राहीले त मलाई आशीर्वाद दिएर जानुहुन्छ। जीवनमा केही राम्रो काम गरेछुजस्तो लाग्छ।’

आफू चुनावमा रास्वपाबाट उम्मेदवार भए पनि निर्वाचित भइसकेपछि कुनै पनि किसिमको दबाब र प्रभावमा परेर काम गर्नु नपरेको अनुभव उनी सुनाउँछिन्।

‘अन्य दलको तर्फबाट पनि कुनै समस्या छैन,’ उनी भन्छिन्, ‘आफूले सोचेजसरी काम गर्न पाइएको छ।’

त्यसो त वडाध्यक्ष बन्नुअघि पनि स्थानीयकै सेवामा उनी खटिन्थिन्। कतिपय कागजात बनाउन उनी सहयोग गर्थिन्। त्यसले मतदाताको मन जित्न सफल भएको उनी ठान्छिन्। त्यसैले चुनावमा पनि कुनै पार्टी वा उम्मेदवारलाई हराएको भन्दा पनि आफूले मतदाताको मन जितेको भनेर अर्थ्याउँछिन्।

हुन त उनी राजनीतिमा लामो अनुभव भएकी नेतृ होइनन्। २ वर्षअघि मात्र रास्वपाको सदस्यता लिएकी थिइन्। त्यो पनि धेरै समय दिनुपर्दैन, बैठकमा मात्र उपस्थित भए पुग्छ भनेका कारण। किनभने उनी आफ्नै हार्डवेयर व्यवसाय सञ्चालन गरेर बसेकी थिइन्।

तर, सामाजिक कार्य गर्दै जाँदा उनलाई बेग्लै किसिमको खुसी र आनन्द आउन थाल्यो। समाज सेवाबाट विस्तारै राजनीतिमा चाख बढ्न थाल्यो। समाज सेवा गर्ने रहरकै कारण स्थानीय तहको चुनावमा उठ्ने निर्णयमा पुगेको उनी बताउँछिन्।

यसरी थालिन् काम
श्रेष्ठ वडाध्यक्षको कुर्सीमा बसेपछि चुनावी प्रतिबद्धताअनुसार काम गर्नतिर लागिन्।

सुरूमा उनले हेल्प डेस्क (सहायता कक्ष) राख्न खोजिन्। आफ्नो अवधारणाअनुसार काम गर्न लागिन्।

तर, महानगरले हेल्पडेस्कको नामबाट सञ्चालन गर्न सहमति दिएन। त्यसपछि एकल सेवा केन्द्र सञ्चालनमा ल्याइन्। जुनकुनै काम वा समस्या लिएर सेवाग्राही पुग्दा पनि उक्त केन्द्रले सहयोग गर्छ।

यो काम महानगरका ३२ वटै वडामध्ये सबैभन्‍दा पहिले १६ नम्बरमा भएको उनको भनाइ छ।

त्यसैगरी उनले कमजोर आर्थिक अवस्था भएका र पीडामा परेका बालबालिकाको लागि बाल विकास समिति गठन गरिन्। यस्तै सामुदायिक प्रहरीसँग समन्वय गरेर लैंगिक हिंसा तथा उत्पीडनमा परेका महिलाको समस्यालाई समाधान गर्न बेग्लै संयन्त्र बनाएकी छन्।

त्यसपछि उनले नियमित बजार अनुगमनलाई प्राथमिकता दिइन्। अहिले वडाबाट महिनाको दुईपटक बजार अनुगमन हुन थालेको छ। पहिलो साताको शुक्रबार र बीचको साताको शुक्रबार अनुगमनमा जाने गरेको उनले जानकारी दिइन्।

उनका अनुसार, बजार अनुगमनकै परिणामस्वरूप दर्ता नभएका ६० प्रतिशत व्यवसाय तथा पसलहरूको दर्ता प्रक्रियामा आएका छन्। गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रमा बाल श्रमिक अत्यधिक पाइएको र कतिपय बालबालिकालाई निकृष्ट श्रममा पनि लगाइएको गुनासो प्राप्त भएपछि उनले बालाजु प्रहरी वृत्तसँगको समन्वयमा त्यसविरूद्ध कारबाहीमा पहलकदमी लिइन्। अनुगमन र कारबाहीपछि त्यस्ता क्रियाकलाप कम भएको उनको दाबी छ।

यस्तै ठमेल र नयाँ बजारमा पनि स्थानीयलाई सम्झाउने काम गरेको र यसमाट धेरै सुधार ल्याउन सकेको श्रेष्‍ठको ठम्याइ छ।

अव्यवस्थित तरकारी बजारलाई सडकबाट स्थानान्तरण गरेर व्यवस्थित बनाउने उनको अबको कार्यसूचीमा छ। त्यस्तै सडकमै अव्यवस्थित तरिकाले तरकारी बजार सञ्‍चालन गर्दा धेरै दुर्घटना हुने, फोहोर अनि दुर्गन्धित हुने र एम्बुलेन्स लैजाने बाटो नै नभएर बिरामीको सडकमा नै मृत्यु हुनेसम्मका घटना विगतमा भएकाले व्यवस्थित तरकारी बजारको विषय प्राथमिकतामा राखेको उनको भनाइ छ।

बालेन, सुनीता अनि प्रमुख प्रशासकीय अधिकृत
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनीता डंगोल दुवैले राम्रो काम गरिरहेको उनको बुझाइ छ।

‘उहाँहरू आएदेखि गर्नुभएका सम्पूर्ण कामहरू निकै राम्रा, उदाहरणीय र प्रभावकारी छन्,’ वडाध्यक्ष श्रेष्ठ भन्छिन्, ‘मेयर कतिसम्म शक्तिशाली हुनेरहेछ र के-कस्ता काम मेयरको तर्फबाट हुने रहेछ भन्‍ने कुरा हामी सबैले बालेन शाहले काम गरेको देखेपछि थाहा पायौँ।’

उनीहरू दुवैजनाको काम गराइ निकै मन परेको उनी बताउँछिन्। मेयर शाहले धेरै राम्रा कार्यक्रम ल्याएको र ती हाम्रोजस्तो देशका युवाका लागि निकै महत्त्वपूर्ण रहेको उनको भनाइ छ।

प्रधानमन्त्री श्रम बैंक, सीपमूलक तालिम, क्षमता तथा सीपअनुसारको काम दिने कार्यक्रम बालेनकै कारण सफल र प्रभावकारी भइरहेको श्रेष्ठको बुझाइ छ।

त्यसो त पछिल्लो समय महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि शाहले छानबिन अघि बढाएर कामविहीन बनाएका थिए। गुरागाईंलाई हटाएर उनले अर्को अधिकृत पठाइदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार पनि गरेका थिए।

तर, उपप्रमुख डंगोलले गुरागाईंमाथि गरिएको छानबिनको प्रक्रिया र नियतमा प्रश्न उठाएकी थिइन्। यही द्वन्द्वका कारण महानगरका कामकारबाही ३ महिनासम्म प्रभावित भएका थिए।

गुरागाईंलाई रोक्न शाहले महानगर प्रहरी नै परिचालन गरेका थिए। पछि उपप्रमुख डंगोल र कर्मचारीको सहयोगमा ३ महिनापछि गुरागाईंले कार्यालयमा हाजिर गर्न पाएका थिए।

उनी गएपछि मात्र २ हजार ९ सय कर्मचारीले विगत कम्तीमा ३ महिनादेखिको रोकिएको तलब खान पाएका थिए। गुरागाईंको कार्यकक्षमा बालेनको निर्देशनमा लगाइएको ताल्चा कर्मचारीले फुटाउनुपरेको थियो।

यस प्रकरणमा श्रेष्ठ उपप्रमुख डंगोल र कर्मचारीले ठिकै गरेजस्तो लाग्छ।

उनी भन्छिन्, ‘यी सबै कुराहरू कानुनी प्रक्रियामा गइरहेको छ र यदि कोही दोषी छ भने पनि सजाय दिने निकाय र फैसला गर्ने निकायले आफ्नो काम गरी नै हाल्छन्।’

कर्मचारीहरूले ३-४ महिनादेखि तलब नपाएको, ज्येष्‍ठ नागरिकहरूले औषधि खानको लागि पाउने पैसा नपाएको ६ महिना भइसकेको, सबैभन्दा धेरै समस्या क्यान्सरपीडितले मासिक रूपमा पाउने औषधि खर्च नपाइरहेको कारण वडाध्यक्ष श्रेष्ठले पनि धेरै नै प्रश्नको सामना गर्नुपरेको थियो।

‘उहाँहरूबाट धेरै फोन आउँथ्यो,’ उनी भन्छिन्, ‘औषधिबिना बाँच्न नसक्ने अवस्था भयो भन्नुहुन्थ्यो। यसले निकै ठूलो समस्या निम्त्याएको थियो। ’

संघीय सरकारले पनि विवादमा मुछिएको कर्मचारीबारे उचित प्रक्रियाबाट चाँडै नै निर्क्योल गरिदिनु उचित हुने उनी ठान्छिन्।  

अब नयाँले देश चलाउनुपर्छ
समग्र राष्‍ट्रिय राजनीति ठीक दिशामा उन्मुख नरहेको उनको बुझाइ छ। यही अवस्था रहिरहेमा देश ठूलो दुर्घटनामा पुग्न सक्ने उनको अड्कल छ।

उनका अनुसार, राजनीतिक अस्थिरता, रोजगारीको कमी, कमजोर अर्थतन्त्र अनि देशको राजनीतिप्रति युवामा बढ्दै गएको निराशाले नै दुर्घटनाका कारण हुन सक्छन्।

भन्छिन्, ‘धेरै युवा विदेश पलायन भएको स्थिति छ। यस्तै भइराख्‍ने हो भने भविष्‍यमा वृद्धवृद्धा मात्र देशमा रहने र मलामीसमेत नपाउने अवस्था नआउला भन्‍न सकिन्‍न।’

हालसम्मको देश चलाएका नेताहरूबाट सम्भावित दुर्घटना टर्ने छाँट उनले देखेकी छैनन्। बरू विभिन्न स्थानीय तहमा युवा नेतृत्वले काम देखाएकोले अब देशको नेतृत्व पनि नयाँ र युवाले नै गर्नुपर्ने उनको ठम्याइ छ।

‘हालसम्मका नेताहरूले कसरी काम गर्नुभयो, सबैले देखिरहेकै छन्,’ उनी भन्छिन्, ‘उहाँहरूबाट युवामा बढी नै निराशा र वितृष्णा छ। युवा पलायनको एउटा मुख्य कारण नै यही हो। त्यसैले पनि अब नयाँ सोच भएको नेतृत्व देशलाई आवश्यक छ।’

आफ्नो कार्यकालभरिमा आफ्नो स्थानीयस्तरमा रहेका विकृति र विसंगतिलाई हटाएर एउटा सुन्दर मार्ग तर्फ डोर्‍याउने, नयाँ-नयाँ योजनाहरू ल्याएर नमुना वडाको रूपमा प्रस्तुत गर्ने आफ्नो सोच रहेको श्रेष्‍ठ बताउँछिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad