राजनीति


वागमती प्रदेशमा अत्यावश्यक वस्तुको अभाव छैन : प्रदेश सरकार

वागमती प्रदेशमा अत्यावश्यक वस्तुको अभाव छैन : प्रदेश सरकार

नेपालखबर
चैत १८, २०७६ मंगलबार ३:४३,

वाग्मती प्रदेश सरकारले प्रदेशका जिल्लामा अत्यावश्यक वस्तुको आपूर्ति तथा वितरणमा कुनै समस्या नआउने गरी व्यवस्था मिलाइएको जनाएको छ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणका कारण उत्पन्न परिस्थितिमा हालसम्म प्रदेशमा अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै पनि समस्या नदेखिएको समेत दाबी गरेको छ।

प्रदेशमा चामल ११ हजार २९० मेट्रिक टन, दाल दुई हजार ६०० मेट्रिक टन, चिनी तीन हजार ९२३ मेट्रिक टन र नुन ३२ हजार मेट्रिक टन, खाना पकाउने एलपी ग्यास ८४ हजार सिलिण्डर मौज्दात रहेको तथा बिक्री वितरण र आपूर्ति सहज रहेको उद्योगमन्त्री अरुणप्रसाद नेपालले जानकारी दिए।

सरकारले आपूर्ति व्यवस्थापन तथा सम्भावित कालोबजारी नियन्त्रणका लागि साना तथा ठूला बजार र शहरमा अनुगमन, ग्यास आपूर्तिकर्ता र ग्यास उद्योगको अनुगमन तथा मौज्दात जाँच गरिरहेको उनले बताए।

‘मूल्यसूची सार्वजनिक तथा प्रसारण कार्यलाई कडाइका साथ लागू गरेका छौँ,’ मन्त्री नेपालले भने।

आपूर्ति व्यवस्थापनका लागि मन्त्रालय र जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयमा हेल्प डेस्क सञ्चालनमा ल्याई सेवा प्रवाह गरिएको उनले जानकारी दिए। पछिल्लो समयमा सिन्धुली र सिन्धुपाल्चोक जिल्लामा देखिएको ग्यास आपूर्तिको समस्या समाधान गरिएको उनको भनाई छ।

प्रदेश सरकारले टोलटोलमा खाद्यान्नलगायत अत्यावश्यक वस्तुको आपूर्ति गर्न बृहत् योजना कार्यान्वयनका लागि तयार पारेको छ।

ग्यास तथा ऊर्जाको व्यवस्थापनका लागि वैकल्पिक स्रोतहरु विद्युत्, दाउरा तथा बायो ब्रिकेटलगायतका स्रोतको प्रयोगका लागि संयन्त्रको परिचालन गर्ने योजना बनाइएको छ।

त्यस्तै मजदुर, ज्यामी, विपन्न घरपरिवार, बालआश्रम तथा वृद्धाश्रममा खाद्यान्न व्यवस्थाका लागि स्थानीय तहको समन्वयमा आवश्यक तयारी गरिरहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad