नेपाली कांग्रेसका नेता एनपी साउदले सामुदायिक विद्यालयहरूका शिक्षकको समस्या समाधानका लागि पार्टीले निर्णायक भूमिका निर्वाह गर्न ढिलाइ गर्न नहुने बताएका छन्।
सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौँकेन्द्रित आन्दोलनमा उत्रिएको दुई साता पुगिसक्दा पनि सरकारले माग सम्बोधन नगरेपछि उनले अब कांग्रेसले निर्णायक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका हुन्।
शिक्षकको शान्तिपूर्ण प्रदर्शनलाई कमजोरीका रुपमा हेर्नु ठूलो भूल हुने भन्दै उनले भनेका छन्, 'आन्दोलन जति–जति लम्बिँदै जाने, त्यति–त्यति शैक्षिक क्षेत्रले ठूलो क्षति व्यहोर्नुपर्ने हुन्छ।'
सरकारसँग विगतमा भएका सम्झौताअनुसार सम्बोधन गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराए।
‘शिक्षक महासंघसँग विगतमा सरकारले पटक–पटक सम्झौता गरेको विषयहरू सम्बोधन गरी समस्याको समाधान गरिनु पर्दछ,’ साउदले थप लेखेका छन्, ‘हाम्रो पार्टीको तर्फबाट सरकारका सरोकारवाला निकायसँग माग सम्बोधन गर्न बारम्बार पहल भएता पनि आजसम्म कुनै नतिजा नआउनु अत्यन्तै दुःखद छ।’
नेपाल शिक्षक महासंघको आह्वानमा देशभरीका शिक्षकहरु चैत्र २० गतेदेखि काठमाडौंकेन्द्रित सडक आन्दोलनमा छन्। १४ दिन बितिसक्दा पनि उक्त आन्दोलनको सम्बोधन गर्न तर्फ सरकार गम्भीर नहुनु आश्चर्यजनक रहेको साउदको भनाइ छ।
नेता साउद शिक्षक महासंघले आन्दोलनलाई थप सशक्त बनाउँदै आम शैक्षिक हड्ताल घोषणा गरी एसईईको उत्तरपुस्तिका परीक्षण, कक्षा १२ को परीक्षा बहिष्कारजस्ता कठोर कदम चाल्दा ठूलो क्षति हुने विषयलाई गम्भीरतापूर्वक लिएर अबिलम्ब निकास दिनु सरकारको जिम्मेवारी भएको बताउँछन्।
Shares

प्रतिक्रिया