राजनीति


मदन भण्डारीको सपना पूरा गर्ने अठोट दोहोर्‍याउनुपर्ने बेला भएको छ: पूर्वराष्ट्रपति भण्डारी

मदन भण्डारीको सपना पूरा गर्ने अठोट दोहोर्‍याउनुपर्ने बेला भएको छ: पूर्वराष्ट्रपति भण्डारी

नेपालखबर
बैशाख १, २०८२ सोमबार २०:४५, काठमाडौँ

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको सपना पूरा गर्ने अठोट फेरि दोहोर्‍याउनुपर्ने बेला भएको बताएकी छन्।

नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै आफ्ना दिवंगत पति एवं नेकपा एमालेका पूर्वमहासचिव भण्डारीलाई सम्झिँदै उनको सपना पूरा गर्नुपर्ने आवश्यकता औँल्याएकी हुन्।

‘यो देशको सामाजिक–आर्थिक रूपान्तरणको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवादका प्रणेता जननेता मदन भण्डारीको सपना आफ्ना सहकर्मी सहयात्रीहरूलाई राज्यसत्तासम्म पुर्‍याउने इच्छामा मात्र सीमित थिएन, बरु यस सिद्धान्तलाई कार्यान्वयन गर्दै जनताको जीवनस्तर बदल्ने र राष्ट्रको गौरव बढाउने थियो,’ उनले वक्तव्यमा भनेकी छन्, ‘बहुदलीयता र बहुलवादलाई आत्मसात् गरी सक्रियता, पहलकदमी, जनसेवा र प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्दै अरू राजनीतिक शक्तिहरूलाई समेत मुलुकका साझा विषयमा अग्रसर र गतिशील बनाउने नै जननेताको चाहना हो। मदनको विचार र भावनाअनुरूप अगाडि बढ्न हामीलाई कसैले कतैबाट अवरोध त पैदा गरिरहेको छैन? यस प्रश्नमा आत्मचिन्तन गर्ने समय आएको छ।’

मदन भण्डारीले देश र जनतालाई केन्द्रविन्दुमा राखेर धारणा बनाउने गरेको स्मरण गर्दै उनले अगाडि थपेकी छन्, ‘निजी स्वार्थ, लोभ र महत्वाकाङ्क्षाभन्दा माथि नउठेसम्म जनआकाङ्क्षालाई सम्बोधन गर्ने चेत, इमानदारिता र दृढ मनोबल उत्पन्न हुन नसक्ने उहाँको ठम्याइ थियो। त्यसैले, हामी सबैले जननेताको सपना पूरा गर्ने अठोट फेरि एकपटक दोहोर्‍याउनुपर्ने बेला भएको छ। नेपालको राजनीतिक आन्दोलन र सामाजिक–आर्थिक रूपान्तरणको अभियानमा ऐतिहासिक भूमिका निर्वाह गरी अपार जनविश्वास आर्जन गर्न सफल बनिसकेको जननेताको विरासत बोकेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राज्यप्रतिको विश्वास र भरोसा थप अभिवृद्धि गर्न ढिला नगरी ठोस कार्ययोजना अघि सारेर त्यसको कार्यान्वयनमा तदारुकता देखाउनु पर्दछ।’

वक्तव्यको पूरा पाठ हेर्नुहोस्:
नयाँ वर्ष २०८२ को पावन अवसरमा, म स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु। साथै, नयाँ वर्षको यस आगमनले बितेका दिनका कतिपय असमझदारी, तीक्तता, निराशा र अवरोधलाई समीक्षाको विषय बनाएर विस्मृत तुल्याउन तथा आफ्नो, समाज र सिङ्गो राष्ट्रकै भविष्य सुरक्षित, सुनिश्चित, सुन्दर एवं गतिशील बनाउन  सबैलाई प्रेरणा प्रदान गर्ने विश्वाससमेत लिएको छु।

 हामी सबैलाई ज्ञात भएकै विषय हो कि, नेपाली जनताले इतिहासमा सदियौँसम्म सामन्ती शोषण तथा उत्पीडनको पीडा ब्यहोर्न बाध्य हुनुपरेको थियो। त्यसका अवशेषहरू अझै बाँकी नै छन्। विकास प्रक्रियाको गत्यावरोध तोड्न, अन्याय–अत्याचारको दुष्चक्रबाट मुक्त हुन र स्रोतसाधनले सम्पन्न सुन्दर यस मलुकलाई विश्वकै समृद्ध एवं प्रतिष्ठित देशको कोटीमा पु¥याउने अभियान तीव्र पार्न जनताले अनेकौँ बलिदानीपूर्ण सङ्घर्षसहित अद्वितीय योगदान गर्दै अगाडि बढिरहेको यथार्थ हामी सबैका सामू छर्लङ्ग छ। अर्थात्, हामीहरू हाम्रा पूर्वज र अभिभावकको मुलुक समृद्ध बनाउने तथा जोगाउने दृढ सङ्कल्प र वीरताबाट प्रेरणा लिएर देशप्रतिको आफ्नो कर्तव्य र दायित्व पूरा गर्न सदा कटिबद्ध रहिआएका छौँ। पुर्खाले आर्जेको हाम्रो प्यारो राष्ट्रको अखण्डतामा आँच आउन नदिन, नेपाली राष्ट्रियताको प्रवद्र्धन गर्न र जनताको जीवनस्तर माथि उठाउन गरिएका अनेकौँ प्रयासका क्रममा परिस्थितिले निर्धारण गरेका विभिन्न जिम्मेवारीमा रहेर हामीले भूमिका निर्वाह गरिनै रहेका छौँ। हाम्रा यी घरेलु समस्या समाधानका निम्ति हामीले जनजागरण, दबाब र सङ्घर्षको नीति मात्र अवलम्बन गरेनौँ, बरु सघन संवाद, सहमति र सहकार्यको लोकतान्त्रिक एवम् सिर्जनात्मक माध्यमसमेत अपनाउँदै आएका छौँ। यस्ता हाम्रा असल प्रयासहरू भविष्यमा समेत कायमै रहनुपर्दछ भन्ने मलाई लागेको छ।

देश र जनताको सामाजिक–आर्थिक उन्नतिका निम्ति हामीले समर्पण गरेको समय, मिहिनेत र प्रयासका बाबजुद सो उद्देश्य र लक्ष्य प्राप्तिमा अपेक्षित सफलता हासिल हुन नसक्नु विडम्बना नै हो। अनि यो असाध्यै दुःखको विषय समेत हो। स्वदेशमै कमाउन र रमाउन नसक्ने ठानी गहभरि आँसु पारेर अहिले लाखौँ युवाहरू विदेसिन बाध्य भएका छन्। स्थिरता र सुशासनको पूर्ण प्रत्याभूति दिलाउन नसक्दा व्यवसायी तथा सेवाग्राहीहरू दुःखित र निराश बन्न पुगेका छन्। कृषिलाई आधुनिकीकरण गरी उत्पादन र उत्पादकत्व बढाएर कृषिमा आधारित उद्योगसहित अनेक आधुनिक औद्योगिक प्रतिष्ठानहरू विस्तार गर्न नसक्दा बेरोजगारहरूको ठूलो सङ्ख्या दिनप्रतिदिन बढिरहेको अवस्था छ। कर्मचारी प्रशासनलाई जवाफदेही, कार्यमुखी र गतिशील तुल्याउन नसक्दा सर्वसाधारणले अनेकोँ झमेला र दुःख ब्यहोर्न बाध्य हुनुपरेको छ। यी यावत् समस्या, अवरोध र नकारात्मक प्रवृत्तिले गर्दा हाम्रो मौलिक संस्कृति, पहिचान र धर्मसमेत रक्षात्मक स्थितिमा पुगेको ठानिँदैछ। त्यसैले, विगत वर्षका यस्ता समस्या र नकारात्मक प्रवृत्तिहरूबाट गम्भीर पाठ सिकेर नयाँ वर्षको अवसरमा आजकै दिनबाट नयाँ सङ्कल्पका साथ विकास प्रक्रियालाई तीव्र तुल्याउनु पर्दछ। स्वाधीन, सवल र आत्मनिर्भर अर्थतन्त्र निर्माणका दिशामा सरकारले आफ्ना प्रयासहरू थप तीव्र बनाउनुपर्दछ।

राष्ट्रियता सुदृढीकरण, अग्रगमन र जनसमस्याको समाधानको नाममा हामीले पटक–पटक व्यवस्था र संविधान बदल्यौँ तर अवस्था बदल्ने हाम्रो सपना अझै पूरा हुन सकिरहेको छैन। सामाजिक–आर्थिक रूपान्तरण प्रक्रियाले तीव्रता पाउन सकेको छैन। अनेक राजनीतिक विकल्पहरूको अभ्यासपछि पनि जनतामा चरम निराशा छाउने स्थिति किन उत्पन्न भयो ? सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि देशको कायापलट हुने विश्वास हामीले जनतालाई दिलाएका हौँ, खोजेको व्यवस्था प्राप्त भएपछि पनि जनताको जीवनस्तरमा आशातीत परिवर्तन किन हुन सकिरहेको छैन ? यस्ता प्रश्नहरूमा अब चिन्तामात्र प्रकट गरेर जनताको सहानुभूति बटुल्न खोज्नुभन्दा निर्मम आत्मसमीक्षा गर्दै फेरि पनि निरन्तर इमान्दार प्रयास गर्नुको विकल्प छैन। यस दिशामा सम्बद्ध सबैको ध्यान जाओस्।

हाम्रो देशमा यहीँ विकसित भएको मौलिक विचारको खाँचो थियो–जसले मुलुकलाई सामाजिक न्याय र समानतामा आधारित समुन्नत समाज बनाउन मार्गदर्शन गर्न सकोस्। अब त्यो सिद्धान्त हामीले पाइसकेका छौँ। यस प्रगतिशील सिद्धान्तको प्रभावकारी कार्यान्वयन गरी देश विकास गर्नुको विकल्प छैन। यो देशको सामाजिक–आर्थिक रूपान्तरणको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवादका प्रणेता जननेता मदन भण्डारीको सपना आफ्ना सहकर्मी सहयात्रीहरूलाई राज्यसत्तासम्म पु¥याउने इच्छामा मात्र सीमित थिएन, बरु यस सिद्धान्तलाई कार्यान्वयन गर्दै जनताको जीवनस्तर बदल्ने र राष्ट्रको गौरव बढाउने थियो। बहुदलीयता र बहुलवादलाई आत्मसात् गरी सक्रियता, पहलकदमी, जनसेवा र प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्दै अरू राजनीतिक शक्तिहरूलाई समेत मुलुकका साझा विषयमा अग्रसर र गतिशील बनाउने नै जननेताको चाहना हो। मदनको विचार र भावनाअनुरूप अगाडि बढ्न हामीलाई कसैले कतैबाट अवरोध त पैदा गरिरहेको छैन ? यस प्रश्नमा आत्मचिन्तन गर्ने समय आएको छ। मदन भण्डारीले देश र जनतालाई केन्द्रविन्दुमा राखेर धारणा बनाउने गर्नुहुन्थ्यो। निजी स्वार्थ, लोभ र महत्वाकाङ्क्षाभन्दा माथि नउठेसम्म जनआकाङ्क्षालाई सम्बोधन गर्ने चेत, इमानदारिता र दृढ मनोबल उत्पन्न हुन नसक्ने उहाँको ठम्याइ थियो। त्यसैले, हामी सबैले जननेताको सपना पूरा गर्ने अठोट फेरि एकपटक दोहो¥याउनुपर्ने बेला भएको छ। नेपालको राजनीतिक आन्दोलन र सामाजिक–आर्थिक रूपान्तरणको अभियानमा ऐतिहासिक भूमिका निर्वाह गरी अपार जनविश्वास आर्जन गर्न सफल बनिसकेको जननेताको विरासत बोकेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राज्यप्रतिको विश्वास र भरोसा थप अभिवृद्धि गर्न ढिला नगरी ठोस कार्ययोजना अघि सारेर त्यसको कार्यान्वयनमा तदारुकता देखाउनुपर्दछ।

राष्ट्रहित भन्दा महत्वपूर्ण अर्को कुनै विषय हुन सक्दैन र जनताको मुहारमा मुस्कान ल्याउनुभन्दा ठूलो अर्को कुनै खुसी हुँदैन। देशले दिनसक्ने जति अवसर हामीलाई दिइसकेको छ। अबको हाम्रो समय केवल राष्ट्रको नाममा समर्पण गर्नुपर्दछ। यस्तो दृढ अठोटबिना देश बदल्ने सपना पूरा हुन असम्भव छ। नयाँ वर्षको आगमनसँगै हामी सबैले जनताका समस्यालाई टुलुटुलु हेरिरहने र समाधानका प्रयासहरूबाट आफूलाई अलग राख्ने प्रवृत्ति त्याग्नै पर्दछ। यो नयाँ वर्ष नवीन आशा र विश्वासको दियो बाल्ने वर्ष बन्नुपर्छ, समृद्धिको द्वार खुल्ने ऐतिहासिक वर्ष बन्नुपर्छ। नयाँ वर्षको पावन अवसरमा दृढ अठोट र ऊर्जाका साथ नयाँ वर्षलाई देशोपयोगी बनाउने सामथ्र्य हामी सबैमा प्राप्त होस् भन्ने शुभेच्छासहित सबैलाई हार्दिक शुभकामना !

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad