राजनीति


‘केपी ओलीबिनाको एमाले बनाउँछु भन्नेहरू सफल हुँदैनन्’

‘केपी ओलीबिनाको एमाले बनाउँछु भन्नेहरू सफल हुँदैनन्’

नेपालखबर
चैत २९, २०८१ शुक्रबार १६:१७, काठमाडौँ

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले सिध्याउँछु भन्ने स्वार्थी तत्वहरू असफल भएको दाबी गरेका छन्।

एमाले रुपन्देही जिल्ला कमिटीले आज बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमालेले लिएको समृद्धि र विकासको यात्राबाट तर्सिएर देशी विदेशी प्रतिक्रियावादी स्वार्थी तत्वहरूले एमालेलाई विभाजनको कोशिश गरेको तर उनीहरू असफल भएको बताए।

उनले भने, ‘एमालेलाई सिध्याउँछु, केपी ओलीबिनाको एमाले बनाउँछु भन्नेहरू सफल हुँदैनन्। म धेरै बाँच्ने होइन, त्यसपछि पनि मभन्दा बलवान नेताहरू पार्टीमा आउनेछन्। यस देशको विकासको भाग्यरेखा हामी आफै कोर्छौं।’

राजतन्त्र र पञ्चायतकालमा मुलुकमा कुशासन र अव्यवस्था भएकाले जनताको बलिदानीपूर्ण सङ्घर्षबाट ल्याइएको लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन अहिलेको सरकारले आफ्ना सबै प्रयास गरिरहेको उनको भनाई थियो।

प्रधानमन्त्री ओलीले विगतमा आफ्ना कुशासन र निरङ्कुशताको राज सम्झिएर प्रतिगामी तत्वहरूले यस व्यवस्थालाई बदनाम गर्न अराजकता र अफबाह फैल्याउन खोजे पनि त्यसबाट कुनै विचलित नभई समृद्धि र सुसाशनको अहिलेको यात्रामा योगदान दिन सबैमा आग्रह गरे।

अहिलेको आधुनिक समयमा जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तमा पछि लाग्नु बेक्कार भएको जनाउँदै उनले लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउँदै जनताको समृद्धि र विकासलाई तीव्र गति दिन वर्तमान संयुक्त सरकार कटिबद्ध रहेको बताए।

देशका ठुला दलहरु नेपाली कांग्रेस र एमालेले मुलुकलाई स्थायित्व दिन र देशलाई परिवर्तनका लागि सरकार बनाएले यो सरकार (गठबन्धन) आगामी निर्वाचनसम्म जाने स्पष्ट गर्दै भने, ‘यो सरकार ढल्न त के हल्लन पनि हल्लँदैन।’

प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारको पालामा लुम्बिनीमा विभिन्न राजमार्ग, अस्पताल, अन्राष्ट्रिय सम्मेलन केन्द्र, ध्यान केन्द्र, कृषि उत्पादन क्षेत्रको विकासजस्ता अनेकै विकास र प्रविधिका योजना र कार्यक्रमहरु ल्याएको अवगत गराए।

सभामा उपप्रधानमन्त्री एवं अर्थमन्त्री तथा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले समृद्धि र सुशासनका लागि प्रधानमन्त्री ओलीको नेतृत्वमा भएका राम्रा कामलाई ओझेलमा पार्ने गरी गरिएका गलत प्रचारलाई चिरेर अगाडि बढ्नुपर्नेमा जोड दिए।

एमालेका सचिव एवं लुम्बिनी प्रदेश इञ्चार्ज पद्मा अर्यालले एमाले र यसको नेतृत्वले देश र जनताका पक्षमा गरेका कामबारे आफूहरु खुलस्त छलफल गर्न तयार रहेकाले विपक्षी र प्रतिगामी पक्षहरुबाट हुने गलत प्रचारको पछि नलाग्न आग्रह गरिन्।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, सङ्घका भूमि व्यवस्थामन्त्री बलराम अधिकारीलगायत सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad