राजनीति


देश लुट्नेहरूको नाम सार्वजनिक गर्ने आजपाको घोषणा

देश लुट्नेहरूको नाम सार्वजनिक गर्ने आजपाको घोषणा

नेपालखबर
चैत २८, २०८१ बिहिबार १७:४८, काठमाडौँ

आम जनता पार्टी (आजपा)ले देश लुटेर भाग्ने भगौडा दलालहरूको नाम सार्वजनिक गर्ने निर्णयसहित केन्द्रीय कमिटी विघटन गरेको छ। काठमाडौँ कोटेश्वरमा बसेको प्रभु साहको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले महाधिवेशन कमिटी गठन गर्ने निर्णय गरेको हो। यस्तै तेस्रो जनआन्दोलनलाई सफल बनाउन जिल्ला, पालिकाहरूमा सर्वपक्षीय भेलाबाट जनआन्दोलन परिचालन कमिटी गठन गर्ने निर्णय बैठकले गरेको छ। 

‘पार्टी पदाधिकारी सहितको केन्द्रीय कमिटीलाई विघटन गर्दै अध्यक्ष प्रभु साहको नेतृत्वमा महाधिवेशन आयोजक कमिटी गठन गरिएको छ। महाधिवेशनसम्मका लागि विघटित पदाधिकारीहरू अब केन्द्रीय कार्यालय सदस्य हुने, स्थायी कमिटीका सदस्यहरू सचिवालय सदस्य हुने र केन्द्रीय सदस्यहरू स्वतः केन्द्रीय आयोजक सदस्यको रूपमा रहने निर्णय गरिएको छ,’ आजपा प्रवक्ता चन्द्रभुषण साहले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।  

बैठकले दलाल दलतन्त्र र नेताहरूको लुट–भ्रष्टाचारको भण्डाफोर गर्ने र देश लुटेर भाग्ने भगौडा दलालहरूको नामावली सार्वजनिक गरी अवैध सम्पत्ति राज्यलाई बुझाउने निर्णय गरेको उनको भनाइ छ। 

‘भगौड़ा दलाल वर्गको पक्षपोषण गर्ने वर्तमान संवैधानिक व्यवस्था र नेताहरूको कुकर्मले आज जनतामा चरम निराशा, अविश्वास एवं आक्रोश बढ्दै गएको सन्दर्भमा मुलुकलाई सम्भाव्य दुर्घटनाबाट जोगाउन तत्काल दलाल दलतन्त्रविरुद्धको तेस्रो जनआन्दोलनलाई सफल तुल्याउनुको विकल्प नरहेको निष्कर्षसहित घोषित जनआन्दोलनको दोस्रो चरणको कार्यक्रमलाई निम्नानुसार अगाडि बढाउने निर्णय गरेकोछ,’ विज्ञप्तीमा उल्लेख गरिएको छ। 

यस्तै बैठकले जेठ १५ गते सिंहदरबार घेराउ गर्ने निर्णयसमेत गरेको छ। ‘आउदो जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा गणतन्त्रको आवरणमा दलतन्त्र एवं नेतातन्त्रको अभ्यास गरिरहेका नेताहरूलाई सत्ताच्यूत गर्न सिंहदरबार घेराउ गर्ने तथा त्यसका लागि प्रत्येक जिल्ला तथा पालिकाहरूमा सर्वपक्षीय भेलाद्वारा जनआन्दोलन परिचालन समितिहरू गठन गर्ने निर्णय गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ।  

यस्तै बैठकले गत २४ गते काठमाडौंमा दलाल दलतन्त्र, भ्रष्टाचार, अनियमितता एवं लुटविरुद्ध भएको तेस्रो जनआन्दोलन सभा एवं विरोधप्रदर्शन सफल भएको निष्कर्ष निकालेको छ। बैठकले आन्दोलनका पछिल्लो कार्यक्रम सफल भएको र दोस्रो चरणको आन्दोलनका विभिन्न कार्यक्रम तय गरेको छ। आन्दोलनका कार्यक्रममा साथ सहयोग गर्नेलाई बैठकले धन्यवाद व्यक्त गरेको छ। 

यसैगरी आजपाले काठमाडौँलगायतका स्थानहरूमा कबाड, सुकुम्बासी, गार्मेण्ट, खुद्रा व्यापारी, मजदुर लगायतका श्रमजीवीहरूको पक्षमा तथा महिला, मधेसी, आदिवासी जनजाति, दलित, मुस्लिम, थारू लगायतका सीमान्तकृत एवं अल्पसंख्यक शोषितउत्पीडित आम जनताको अधिकार, पहिचान र सम्मानका लागि जारी संघर्षका कार्यक्रम जारी राख्ने भनेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad