राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपालगन्जमा बीपी कोइरालाको सालिकमा मोसो दलेको घटनामा माफी मागेको छ। राप्रपा नेपालगन्ज नगर कार्य समितिले विज्ञप्ति जारी गर्दै उक्त घटनालाई ‘भवितव्य’ भन्दै माफी मागेको हो।
नगरअध्यक्ष हुकुमसिंह केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'हाम्रो मनसाय कुनै पनि राजनीतिक दल र व्यक्ति विशेषलाई होच्याउने नभएको हुँदा सबैका आस्थाका केन्द्र देशका नेता तथा जननिर्वाचित पूर्वप्रधानमन्त्री बीपी कोइराला हामी सबैका जनप्रिय नेताप्रति हाम्रो सधैँ सम्मान र विश्वास रहेको छ र रहिरहनेछ। उक्त भवितव्य घटनामा कुनै पनि राजनीतिक दल र व्यक्तिको आस्थाप्रति ठेस पुगेकोमा हामीलगायत नगर कार्यसमिति क्षमा प्रार्थी छौँ।'
शनिबार नगर कार्यसमितिको आह्वानमा नेपालगन्जको बीपी चोकमा राष्ट्रिय प्रजातन्त्र पार्टीले राँके जुलुस निकालेको थियो।
जुलुसमा सहभागीहरूले नेपालगञ्जको बीपी चोकमा रहेको प्रथम जननिर्वाचित प्रधानमन्त्रीसमेत रहेका बीपीको सालिकमा उक्त समूहले मोसो दल्नुका साथै कालो कपडाले छोपिदिएका थिए।
१५ चैतमा काठमाडौँको तीनकुनेमा भएको राजावादी प्रदर्शन हिंसात्मक बनेसँगै त्यसका अगुवा राणासहित राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायतलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। उक्त प्रदर्शनका कमान्डर दुर्गा प्रसाईं भने फरार छन्।

Shares

प्रतिक्रिया