राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहनकुमार श्रेष्ठले शनिबार राति नेपालगन्जमा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको सालिकमा मोसो दल्ने घटनामा आफ्नो पार्टी संलग्न नभएको दाबी गरेका छन्।
बीपीप्रति आफूहरूको सम्मान रहेको उल्लेख गर्दै उनले तीनकुने घटनामा जस्तै नेपालगन्जमा पनि घुसपैठ भएको हुनसक्ने जिकिर गरेका छन्। यो घटना नेपाली कांग्रेसलाई आफ्ना पक्षमा पार्न गराइएको हुनसक्ने आशंका उनले गरेका छन्।
‘इतिहासको सम्मान गरौँ भन्ने पार्टी र पार्टीका कार्यकर्ताले यस्तो उच्छृङ्खल र अराजक काम कदापि गर्दैन। यस्तो काममा कुन कुन पार्टीका मान्छेहरू संलग्न हुन्छन् भन्ने दुनियाँलाई थाहै छ त! इतिहासको कुनै कालखण्डमा राष्ट्र निर्माणमा योगदान दिने व्यक्तिहरू हाम्रा लागि सम्मानयोग्य छन्। बीपीप्रति सम्मान छ’, राप्रपा प्रवक्ता श्रेष्ठले आइतबार भनेका छन्, ‘तीनकुनेमा जस्तै नेपालगन्जनमा पनि घुसपैठ भयो कि? कांग्रेसलाई साखुल्य पार्ने निम्नकोटीको प्रयासको सम्भावना।’
शनिबार राति नेपालगन्जको बीपी चोकमा रहेको बीपीको सालिकमा राजावादी समूहले मोसो दल्नुका साथै कालो कपडाले छोपिदिएका हुन्।
सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले भने यसमा राप्रपाकै संलग्नता रहेको जिकिर गरेका छन्। नेपालगन्जको घटनाले राप्रपालगायत राजावादी के चाहन्छन् भन्ने स्पष्ट भएको टिप्पणी पोखरेलले गरेका छन्।
यही चैत १५ गते राप्रपा नेतासहितको राजावादी समूहले गरेको प्रदर्शन हिंसात्मक बन्दा २ जनाको ज्यान जानका साथै तोडफोड, आगजनी र लुटपाटले करोडौँको क्षति पनि भएको थियो। तर त्यस घटनामा घुसपैठ भएको तथ्य अहिलेसम्म खुलेको छैन।
उक्त हिंसामा सहभागी भएको आरोपमा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहितलाई हिरासतमा लिएर प्रहरीले मुद्दा चलाएको छ। बीपीको सालिकमा मोसो दलिएको नेपालगन्ज धवलशमशेरको गृहनगर हो।
Shares

प्रतिक्रिया