मधेसकेन्द्रित सात राजनीतिक दलले गठन गर्न लागेको मोर्चाको नाम 'संघीय लोकतान्त्रिक मोर्चा' हुने जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बताएका छन्।
यसका लागि अझै दस्तावेज तयारीकै क्रममा रहेको जानकारी उनले दिएका छन्।
यसको कोही अध्यक्ष नहुने र चक्रीय प्रणालीअनुसार बैठक सबै पार्टीले राख्ने र सो दिन सोही दलको अध्यक्षले मोर्चाको अध्यक्षता गर्ने छलफल भइरहेको उनले बताएका छन्।
डा राउतका अनुसार मोर्चामा सबैभन्दा ठूलो दल जनमत पार्टी (६), जसपा नेपाल (५), नागरिक उन्मुक्ति पार्टी (४), लोसपा (४), तमलोपा, जनता प्रगतिशील पार्टी र राष्ट्रिय मुक्ति पार्टी रहनेछन्।
उनले भनेका छन्, ‘नेतृत्व लिनै परे सबभन्दा ठूलो दल जनमत पार्टी (६) ले गर्नेछ।’
अहिलेको राजनीतिक परिवेशको फाइदा उठाएर संघीयता र पाएको अधिकार पनि गुम्ने खतरा ठूला दलहरूबाट देखिएकाले मोर्चा गठन गर्न लागिएको डा राउतको भनाइ छ। यसमा अरू दल पनि जोडिन सक्ने उनले उल्लेख गरेका छन्।
यस्तो छ सीके राउतको पूरा वक्तव्य:
मोर्चा विषयमा भ्रमपूर्ण जानकारी बारे स्पष्टीकरण
मोर्चाको विषयमा अझै पनि दस्तावेज तैयार हुँदै छ। अहिलेसम्म अनुसार मोर्चाको नाम 'संघीय लोकतान्त्रिक मोर्चा' हुनेछ। कोही अध्यक्ष हुने छैनन्, चक्रीय प्रणालीअनुसार बैठक सबै पार्टीले राख्ने र सो दिन सोही दलको अध्यक्षले मोर्चाको अध्यक्षता गर्ने भन्ने छ। अरू दल पनि जोडिन सक्छन्, भएको दल जतिखेर पनि छोड्न स्वतन्त्र हुनेछ। अहिलेको राजनीतिक परिवेशको फाइदा उठाएर संघीयता र पाएको अधिकार पनि गुम्ने खतरा ठूला दलहरूबाट देखिँदा यस मोर्चाको गठन लुज एलायन्सको रूपमा अधिकारको रक्षा र आन्दोलनको प्रयोजनको लागि गर्नुपरेको हो। (जस्तै: अरू ठूला दलहरूले गणतन्त्रको रक्षा गर्ने भन्छ तर संघीयताको रक्षा गर्ने कसैले चुइँक्क बोल्दैनन्, समानुपातिक समावेशिता खारेज गर्ने कुरा गर्छन्।)
यस मोर्चामा सबैभन्दा ठूलो दल जनमत पार्टी (६) हो। त्यसपछि जसपा नेपाल (५), नागरिक उन्मुक्ति पार्टी (४), लोसपा (४), तमलोपा, जनता प्रगतिशील पार्टी, राष्ट्रिय मुक्ति पार्टी रहेका छन्। नेतृत्व लिनै परे सबभन्दा ठूलो दल जनमत पार्टी (६) ले लिनेछ।
केही पत्रकार महोदयहरूमा अनुरोध: पार्टीको नाम उल्लेख गर्दा कम्तीमा कुन पार्टीको कति सिट हो, त्यस आधारमा गर्ने गर्नुस्, आफ्नो मानसिकताको आधारमा होइन।
Shares

प्रतिक्रिया