राजनीति


प्रधानमन्त्री ओली थाइल्यान्ड प्रस्थान (फोटो फिचर)

प्रधानमन्त्री ओली थाइल्यान्ड प्रस्थान (फोटो फिचर)

सरोज नेपाल
चैत १९, २०८१ मंगलबार १३:४९, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौं शिखर सम्मेलनमा भाग लिन आज मंगलबार बैंककतर्फ प्रस्थान गरेका छन्।  

थाइल्यान्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा)को निमन्त्रणामा ओली थाइल्यान्ड प्रस्थान गरेका हुन्। नेपालका प्रधानमन्त्रीबाट इतिहासमै पहिलो पटक थाइल्यान्डको औपचारिक भ्रमण गएका हुन्। 

प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली आज दिउँसो थाइ एयरलाइन्सबाट बैंककतर्फ प्रस्थान गरेको हो। प्रधानमन्त्रीलाई बिदाइ गर्न उपप्रधानमन्त्री, मन्त्री तथा उच्च पदस्थहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। ओलीलाई बिदाइ गर्दै नेपाली सेनाको टुकुडीले सलामी अर्पण गरेको थियो। 

भ्रमणका क्रममा प्रधानमन्त्रीस्तरमा द्विपक्षीय वार्तामा सहभागी भई पर्यटन र संस्कृतिका सन्दर्भमा २ र गैरसरकारी क्षेत्रबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर गरिने बताइएको छ।

द्विपक्षीय वार्तापछि थाइल्यान्डका प्रधानमन्त्री सिनावातसँगै प्रधानमन्त्री ओलीले संयुक्त प्रेस ब्रिफिङमा भाग लिनेछन्। थाइल्यान्डका नरेशसँगको भेटपछि एकदिने औपचारिक भ्रमण सकिनेछ।

प्रधानमन्त्री ओलीले चैत २१ गते बिहान त्यहाँका प्रतिष्ठित व्यवसायीहरूसँग भेटघाट र छलफल गर्ने कार्यक्रम तय भएको छ।  त्यस्तै सोही दिन ओलीले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका छ। साँझ बिमस्टेक शिखर सम्मेलनका नेताहरूलाई दिइने औपचारिक रात्रिभोजमा प्रधानमन्त्री ओली सहभागी हुनेछन्।

चैत २२ गते बिमेस्टक शिखर सम्मेलनमा सहभागी तथा सम्बोधनको कार्यक्रम रहेको छ। शिखर सम्मेलनलगत्तै सम्भव भएसम्म अन्य देशका राष्ट्रप्रमुखलगायतसँग साइडलाइन वार्ता गर्ने तयारी छ। 
 
सोही दिन मेरिटाइम ट्रान्स्पोर्ट कोअपरेसन अग्रिमेन्टमा हुने हस्ताक्षर समारोहमा ओली सहभागी हुनेछन्। त्यस्तै साँझ बैंककस्थित नेपाली दूतावासमा हुने कार्यक्रममा उनी सहभागी हुने तालिका छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad