काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तोक्ने गरी पठाएको पत्रले भ्रम सिर्जना गरेको भन्दै जगमान गुरुङ नेतृत्वको राजावादी समूहले आपत्ति प्रकट गरेको छ।
राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति नाम दिइएको उक्त समूहका कार्यवाहक संयोजक गुरुङले एक विज्ञप्ति जारी गरी भ्रम र अनास्था सिर्जना गर्ने उद्देश्यले उक्त पत्राचार गरिएको आरोप लगाएका छन्।
उक्त कार्यक्रम कानुन बमोजिम राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले अनुमति लिई आयोजना गरिएको नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयको अभिलेखमा समेत विज्ञप्तिमा लेखिएको छ।
उक्त कार्यक्रमको जिम्मेवारी आयोजक संस्थाहरुले लिनुपर्ने भएकाले जरिवाना तोक्ने निर्णय महानगरपालिकाले तत्काल फिर्ता लिनुपर्ने माग गुरुङले विज्ञप्तिमार्फत गरेका छन्। निर्णय फिर्ता नलिए त्यसविरुद्ध कानुनी र अन्य मार्गप्रशस्त गरिने विज्ञप्तिमा उल्लेख छ।
गत शुक्रबार काठमाडौँ महानगरपालिकाले तीनकुनेमा राजावादीको प्रदर्शनबाट सडक, पेटी, बगैँचा दमकलजस्ता महानगरको क्षेत्राधिकारमा पर्ने सम्पत्तिमा भएको क्षतिको मूल्यांकन गरी पूर्वाराजा ज्ञानेन्द्र शाहबाट जरिवाना असुल्ने निर्णय गरेको थियो। महानगर प्रमुख बालेन्द्र शाह (बालेन) को निर्देशनमा भएको मूल्यांकनबाट ७ लाख ९३ हजार रूपैयाँ जरिवाना असुल्ने निर्णय गरिएको थियो।
विज्ञप्तिको पूर्ण पाठ:
२०८१ चैत्र १५ गते काठमाडौं, तीनकुनेमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले सरकारसँग पूर्वस्वीकृति लिएर संयुक्त जनआन्दोलन समितिको अपनत्वमा सम्पन्न भएको कार्यक्रममा सो क्षेत्रमा वातावरण प्रदुषण भएको भनी काठमाडौं महानगरपालिकाले 'श्री ज्ञानेन्द्र शाह निर्मल निवास' भन्ने उल्लेख गरी जरीवाना पत्र पठाएकोमा यस समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।
उक्त तथ्यको ज्ञानको अभाव वा भ्रम सिर्जना गर्ने उद्देश्यले गरिएको सो पत्राचार यसपूर्व महानगरपालिका स्वयमले गरेको निर्णय समेतको विपरित छ । यसपूर्व त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजाको स्वागतार्थ आयोजित कार्यक्रमका सन्दर्भमा राजालाई नभई आयोजकलाई यस्तो पत्राचार गरिएको आफ्नै नीति विपरित यस पटकको महानगरको निर्णय दुर्भावनायुक्त छैन भन्न सकिने देखिँदैन ।
अतः उक्त कार्यक्रमको जिम्मेवारी आयोजक संस्थाहरु स्वयमले लिने हो । सो निर्णय काठमाडौं महानगरपालिकाले तत्काल फिर्ता नलिएमा सो विरुद्ध कानुनी र अन्य मार्ग प्रशस्त गरिने पनि सबैमा जानकारी गराउन चाहन्छौं ।
डा. जगमान गुरुङ
कार्यवाहक संयोजक, संयुक्त जनआन्दोलन समिति

Shares

प्रतिक्रिया