राजनीति


पार्टी कार्यालय फर्किएका रविले कांग्रेस-एमालेलाई भने: दुई चोर मिलेर साधु हुँदैन

पार्टी कार्यालय फर्किएका रविले कांग्रेस-एमालेलाई भने: दुई चोर मिलेर साधु हुँदैन

नेपालखबर
चैत १८, २०८१ सोमबार १५:४१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी कार्यालयमा फर्किएका छन्। सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएपछि प्रहरी हिरासतबाट निस्किएपछि उनी पहिलोपटक पार्टी कार्यालय बनस्थलीमा फर्किएका हुन्। गत कात्तिक २ गते पार्टी कार्यालयबाटै पक्राउ परेका उनी ६ महिनापछि फर्किएका हुन्। त्यतिबेला उनलाई पक्राउ गरी कास्की लगिएको थियो।  

पार्टी कार्यालयमा पुगेका उनी ठूला दलमाथि निकै आक्रोशित सुनिए। उनले भने, 'कति मुद्दा लगाउनुछ लगाऊ। शरिरमा एक थोपा रगत रहुन्जेल लडिरहन्छु।'

उनले आफू राजनीतिमा नआएको भए कुनै मुद्दा मामिलाको दु:ख नहुने पनि आफूलाई थाहा भएको बताए। 'मलाई थाहा छ म राजनीतिमा हुन्थिन भने मलाई यो दुख हुन्थेन। लुट मच्चाइरहेकाहरूलाई  खबरदारी गर्न रवि लामिछाने पछि हट्दैन,' उनले भने, 'मलाई लागेको थियो केही समय बाहिर बसौँ। तर सरकारले यसको फाइदा उठाउँदै टाउकोमा तरबार राख्यो भने यो डराएर एक जिल्लामा मुद्दा अघि नबढाइराखेको छ। तरबार खसाल म थाप्न तयार छु। म टुलुटुल हेरेर बस्ने मान्छे होइन।'

उनले रास्वपालाई गणतन्त्रको पक्षमा छैन भनेर प्रचार गरिएको भन्दै आपत्ति जनाए। 'गणतन्त्रवादीको पक्षमा छैनौँ भनेर हिलो छ्याप्ने प्रयास भइरहेको छ। रास्वपा खोल ओड्दैन। तपाईंको कित्तामा उभिएर फोटो खिचाउने पक्षमा रास्वपा छैन,' उनले भने, 'हामी हिंसाका विरोधी हौँ।  कुन बेला मेरो आवाज बन्द गर्छन् मलाई थाहा छैन। रासवपा विभाजन गर्न टुटाउन लागिपरेका छन्। हामीसँग एकै उपाए छ- जुनबाटो हामी हिनेका छौँ। दई ठूला दल मिलेर सरकार  बनाइएको छ। दुई चोर मिलेर साधु हुँदैन।'

 

उनले सडकमा राजावादीको नाममा आएकाहरू अहिले सरकारमा भएका दलप्रति आक्रोशित जनता भएको पनि बताए।

'बाहिर आएका मान्छे कति राजावादी हुन् मलाई थाहा छैन। तर बाहिर आएका मान्छे यीनका लुटतन्त्र अब चल्दैन भनेर आएका हुन् यत्ति थाहा छ' उनले भने।

शनिबार चितवनमा सभा गरेर आफूलाई कसरी हटाइयो, मुद्दा लगाइयो भन्नेबारे स्पष्ट पार्ने पनि उनले सुनाए।  

'मैले चितवनका जनतालाई भन्नुछ। मलाई दासढुंगाको बाटो मध्यराति कसरी लगे मलाई थाहा छ। म शनिबार चितवन जाँदैछु। सरकार कसरी ढल्यो केके भयो? म कसको हातमा हतकडी लाग्नुपर्नेथियो सबै बताउनेछु' उनले भने। 

कांग्रेस र एमालेसँग आफू नझुकेकै कारण मुद्दा मामिलाको झन्झटमा परेको उनको भनाइ छ।  

'यिनीहरूसँग शीर झुकाएको भए म प्रधानमन्त्री मन्त्री हुन्थेँ होला। तर म यीनीहरूसँग झुक्दिनँ। यीनीहरूसँग अब मलाई गोली हान्नेबाहेक केही विकल्प छैन' उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad