राजनीति


सरकारले कुलमानलाई हटाएपछि गगन–विश्वको प्रतिक्रिया: उल्टो बाटो हिँडेर गन्तव्यमा पुगिँदैन

सरकारले कुलमानलाई हटाएपछि गगन–विश्वको प्रतिक्रिया: उल्टो बाटो हिँडेर गन्तव्यमा पुगिँदैन

नेपालखबर
चैत ११, २०८१ सोमबार २२:४९, काठमाडौँ

सत्ता साझेदार दल नेपाली कांग्रेसकf महामन्त्रीसमेत रहेका सांसद गगनकुमार थापाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो। आम नागरिकमा असन्तुष्टि बढिरहेका बेला सरकारले गलत निर्णय गरेको थापाको भनाइ छ।

‘आम नागरिकमा असन्तुष्टि बढ्दो छ। त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको छ,’ थापाले भने, ‘यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊँ भनेर हामी दिनरात नभनी मेहनत गर्ने, सरकारचाहिँ आफैँ असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने?’

मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले सम्हाल्नुपर्नेमा त्यसो नभएको थापाको भनाइ छ।

‘हामीले यस्तो नगरौँ है भन्दा सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्ने?,’ उनले भनेका छन्, ‘मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नुपर्ने हो। विडम्बना, त्यो भएन। निर्णय गलत छ, सरकार उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन।’

त्यस्तै कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि कुलमान हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।

उनले कांग्रेसको पदाधिकारी तहमा पनि कुलमानलाई हटाउने विषयमा सहमति नभएको दाबी गरेका छन्।

उनले भनेका छन्, ‘केही राम्रा प्रयास छायाँमा पार्ने गरी सरकारले कुलमान हटाउनुहुन्न थियो। सरकारको यो निर्णय समयोचित विल्कुलै भएन। यसप्रति खुला र प्रष्ट रूपमा विमति छ।’

शर्माले कुलमानलाई कार्यकालभर काम गर्न दिन र नहटाउन आन्तरिक र सार्वजनिक रूपमा पनि सजग गराइएको उनको भनाइ छ।

‘कुलमान घिसिङलाई पदबाट हटाउन कांग्रेस पदाधिकारी तहको सहमति थिएन,’ उनले भनेका छन्, ‘बाँकी पदावधि काम गर्न दिन र नहटाउन आन्तरिक तथा सार्वजनिकरूपमै सजग गराइएको थियो। कारबाहीयोग्य केही भए पछि पनि गर्न मिल्थ्यो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad