राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यकालको अन्तिम समयमा हटाएर सरकारले अपमान गरेको टिप्पणी गरेका छन्।
संसदको विपक्षी राप्रपाका अध्यक्ष लिङ्देनले कुलमानलाई राम्रो काम गरेकाले सम्मानसाथ बिदाइ गर्नुपर्नेमा अपमान गरेको प्रतिक्रिया दिए।
सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो।
पूर्वऊर्जामन्त्री समेत रहेका अध्यक्ष लिङ्देनले नेपालखबरसँगको कुराकानीमा भने, ‘सरकारले अनावश्यक काममा समय खर्च गरिरहेको छ। देशका प्राथमिकता अरु नै छन्। तर, यो सरकार गठन भएदेखि आफ्नो सारा शक्ति कुलमानलाई हटाउन लगाएको छ। यो असाध्यै गलत निर्णय हो।’
सरकार ‘फलानालाई निकालेरै छाड्छु र फलानालाई ल्याएरै छाड्छु’ भन्ने किसिमले लागेको र यो प्राधिकरणमा गरिएको प्रतिगमन भएको उनको धारणा छ।
प्राधिकरणबाट कुलमान बर्खास्त
‘ऊर्जा क्षेत्र यस्तो खेलाँची गर्ने र प्रतिशोध साँध्ने क्षेत्र होइन,’ लिङ्देनले भने, ‘यो देशको भाग्य र भविष्य जोडिएको क्षेत्र हो। यी घटनाक्रमलाई हामीले नजिकबाट नियालिरहेका छौँ। सरकारको यस कदमको निन्दा र भर्त्सना गर्दछौँ। र, यो विषय संसदमा पनि उठाउँछौँ।’
Shares

प्रतिक्रिया