राजनीति


रगतसँग साटेको गणतन्त्रको विकल्प छैन : राष्ट्रपति पौडेल

रगतसँग साटेको गणतन्त्रको विकल्प छैन : राष्ट्रपति पौडेल

नेपालखबर
चैत ११, २०८१ सोमबार १४:५०, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र रैती दुनियाँबाट सार्वभौम नागरिक हुन नेपाली जनताले रगतसँग साटेको उपलब्धि भएको भन्दै शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार नागरिकलाई यही व्यवस्थाले दिएको बताएका छन्।

सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रमा हरेक नागरिक आफ्नो सार्वभौमसत्ताको आफैं मालिक हुने व्यवस्था भएको बताए।

उनले भने, 'शासन व्यवस्थालाई सुदृढ बनाउन र यही व्यवस्थाबाट नेपाली जनताको भाग्य र भविष्य सुनिश्चित छ भन्ने महशुस गराउनुपर्ने दायित्व सरकार, राजनीतिक दललगायत हामी सबैको हो।'

उनले  स्वतन्त्रता र शासन प्रणाली समयको माग र जनताको चाहना भएको बताउँदै नेपाली जनतालाई आफूले बनाएको संविधानबाहिरका कुनै पनि निरंकुशता र अराजकता स्वीकार्य नहुने बताए।

उनले भने, 'इतिहास साक्षी छ कि १०४ वर्षीय जहानीयाँ राणा शासन होस् कि ३० वर्षे पञ्चायत वा सक्रिय राजतन्त्र नेपाली जनताले कुनै पनि निरंकुशताका नाम र अवशेषलाई रुचाएनन्। संघीय लोकतान्त्रिक गणतन्त्र हामीले त्यसै प्राप्त गरेका होइनौ। यो हजारौंको त्याग, संघर्ष र बलिदानबाट प्राप्त उपलब्धी हो।'

राष्ट्रपति पौडेलले क्षेत्रमा सभामुख हुँदा पैदल यात्रा गर्दे यस ठाँउमा र पूर्वी पहाडका डाँडाकाँडा पुगेको र जनतासँग साक्षात्कार गरेको स्मरण गरे।

उनले भावविह्वल हुँदै नजिकै रहेको टिम्बुरबोटेको ओडारमा रूझ्दै र भिज्दै पुगेको बताए।

टिम्बुरबोटेको नाम उच्चारण गर्दा राष्ट्रपति पौडेलको गला अबरूद्ध भएको थियो। टिम्बुरबोटे नेपालको प्रजातान्त्रिक आन्दोलनका क्रममा २०४१ सालमा पंचायती सरकारले दर्जनभन्दा माथि योद्धाको हत्याको गरेको स्थान हो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad