राजनीति


देउवाले ज्ञानेन्द्रलाई ‘राप्रपा सभापति’ बन्न भनेपछि अर्का ज्ञानेन्द्र आक्रोशित

देउवाले ज्ञानेन्द्रलाई ‘राप्रपा सभापति’ बन्न भनेपछि अर्का ज्ञानेन्द्र आक्रोशित

शेरबहादुर देउवा, ज्ञानेन्द्र शाही र ज्ञानेन्द्र शाह।


नेपालखबर
चैत ११, २०८१ सोमबार ८:३३, काठमाडौँ

सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न लायक नभएको र उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘सभापति’ बनाए हुन्छ भन्ने टिप्पणी गरेपछि राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही आक्रोशित भएका छन्। 

कांग्रेसको बागमती प्रदेश प्रशिक्षण विभागले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भने, ‘पूर्वराजा संवैधानिक राजा हुन पनि सक्दैनन्, बरु राप्रपाले पार्टी सभापति बनाए हुन्छ, राजनीति गर्नु छ भने बरु पार्टी खोले भइहाल्यो। नत्र दु:ख पाउँछन् विचरा (राप्रपा नेता-कार्यकर्ता) हरूले।’

यसमा आक्रोश व्यक्त गर्दै सांसदसमेत रहेका राप्रपा प्रवक्ता शाहीले सामाजिक सञ्जालमार्फत देउवलाई प्रश्न गरेका हुन्। 

यस क्रममा शाहीले देउवालाई बीपी कोइरालाको सिद्धान्त बेचेर खाएको आरोप पनि लगाएका छन्। 

‘बीपीको सिद्धान्त मान्दै हुर्केको कांग्रेसको सभापति हुनुभएको हो माननीय पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू! हजुरले बीपीको सिद्धान्त पनि बेचेर खानुभएछ। राजालाई राप्रपाको सभापति हुनुहोस् भन्नुभएछ’, शाहीले लेखेका छन्, ‘त्यसो भए हजुर ३ पटक प्रधानमन्त्री राप्रपाको सभापतिसँग शपथ खाँदै बन्नुभएको हो?’

हाल राप्रपाको अध्यक्ष राजेन्द्र लिङ्देन छन्। 

राप्रपा प्रवक्ता शाहीले राजाका विषयमा कांग्रेसको धारणा बुझ्न देउवालाई पार्टीभित्र चुनाव गराउन चुनौतीसमेत दिएका छन्।

शाहीले लेखेका छन्, ‘जसले भुइँ छोड्छ, उसको पतन निश्चित हुन्छ भन्ने नेपाली उखान याद गर्नुहोस् सभापतिज्यू! यदि तपाईंसँग राजाको बारेमा कांग्रेसको धारणा के छ भनेर बुझ्न मन छ भने कांग्रेसमा चुनाव गराउन सक्नुहुन्छ? हिम्मत छ?’

विसं २०५८ मा दोस्रोपटक प्रधानमन्त्री बनेका देउवालाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले नै निर्वाचन गराउन असक्षम भएको आरोप लगाउँदै २०५९ असोज १८ गते पदबाट बर्खास्त गरेका थिए।

त्यसको २ वर्षपछि २०६१ सालमा फेरि प्रधानमन्त्रीमा नियुक्त गरिए पनि ज्ञानेन्द्रले २०६१ माघ १९ गते शासन सत्ता हातमा लिँदै देउवालाई पदबाट हटाउँदै नजरबन्दमा राखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad