राजसंस्था पुनःस्थापनाका लागि आफ्नै नेतृत्वमा आन्दोलन गर्ने घोषणा गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा फेरि भाँडभैलो भएको छ।
पुराना पञ्च नेता नवराज सुवेदीको नेतृत्वमा गठित ‘संयुक्त जनआन्दोलन समिति’लाई अस्वीकार गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले यही चैत ५ गते पार्टीको कार्यसम्पादन समितिको बैठक राखी आफ्नै नेतृत्वमा राजसंस्था फर्काउने आन्दोलन अघि बढाउने निर्णय गरेका थिए।
तर यसविपरीत राप्रपा महामन्त्री धवल शम्शेर राणाले भने सुवेदी नेतृत्वकै समितिमा सक्रिय रहने घोषणा गरेका हुन्।
उनी सुवेदी नेतृत्वकै समितिमातहत गठित आन्दोलन परिचालन समितिका संयोजक बनेका छन्। जसको बैठक शुक्रबार बसेको छ।
राणााले जारी गरेको विज्ञप्तिमा आन्दोलन परिचालन समिति र मातहत विभिन्न विभाग तथा समितिमा रहेर एकताबद्ध भई सहकार्य गर्न राष्ट्रवादी देशभक्त नागरिक, अभियान र राजनीतिक दलहरूलाई बैठकले अपिल गरेको उल्लेख छ।
शुक्रबार रिपोर्टस् क्लबमा महामन्त्री राणाले भने, ‘नवराज सुवेदीजीको नेतृत्वमा एउटा छाता बनेको छ, त्यही छाताअन्तर्गत यो सबै भइरहेको छ। हामी सबै पार्टीहरू, दुर्गा प्रसाईंजीहरू पनि। शाही शक्ति, सबै अभियन्ता र पार्टीहरू मिलेर अघि बढ्ने हो।
यसैबीच राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले भने महामन्त्री राणााले दलीय व्यवस्थाविपरीत काम गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
नेपालखबरको जिज्ञासामा शनिबार बिहान प्रवक्ता श्रेष्ठले भने, ‘उता पनि सक्रिय भइराख्नुभाछ। यता हाम्रो पार्टीको अध्यक्षको नेतृत्वमा आन्दोलन हुँदै छ। त्योचाहिँ उहाँले सोच्ने कुरा हो, दलीय व्यवस्थामा एउटा निर्णय गरिसकेपछि दलको एउटा सदस्य के गर्नुपर्छ भन्ने कुरा विशेष गरी उहाँले ध्यान दिनुपर्ने कुरा हो, विवेक पुर्याउनुपर्ने कुरा हो। पुर्याउनु होला ढिलोचाँडो।’
यस क्रममा उनले पार्टीले गठन गरेको आन्दोलन परिचालन मूल समितिको बैठक चैत १२ गते बस्ने आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने जानकारी पनि दिए।
राप्रपाले यसअघि नै काठमाडौँ उपत्यकाकेन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ।
Shares

प्रतिक्रिया