राजनीति


नेपाल नफर्किएको भए अमेरिकामा अर्बपति भइसक्थेँ: सीके राउत (भिडिओ)

‘म त भयंकर राष्ट्रवादी थिएँ, ऋतिक रोशन काण्डपछि बदलिन बाध्य भएँ’

अनिल यादव
चैत ८ , काठमाडौँ

बेलायतको क्याम्ब्रिज युनिभर्सिटीमा डा चन्द्रकान्त (सीके) राउतसँगै पढेका साथीहरू उता अमेरिकामा नयाँ–नयाँ आविष्कार गरिरहेका छन्। कोही अमेरिकाको अन्तरिक्ष अध्ययन संस्था नासाका लागि काम गरिरहेका छन्, कोही रकेट बनाउने कम्पनीमा छन्। कोही माइक्रोसफ्टमा त कोही गुगलमा। उनी भने यता ‘माननीय’ बनेका छन्।

कहिले संसदको मञ्चमा उभिएर भाषण ठोकिरहेका हुन्छन्, कहिले दुई हात जोड्दै मधेसका गाउँ–गाउँ डुलिरहेका छन्। 

सीकेलाई लाग्छ, नेता भएपछि गाली स्वभाविक हो। तर, अमेरिकामा रहेका साथीहरू बेलाबखत उनलाई प्रश्न गर्छन्, ‘यो सब देखेर वाक्क लाग्दैन? बरु यो सब छोडेर यतै आए भइगो नि!’ 

जवाफमा राउत मुस्कुराउँछन्, बस्। उनलाई नजिकबाट चिन्नेहरूलाई थाहा छ– मुस्कुराउने उनको आदत हो, उनको मुस्कानमै जवाफ छ।

आलोचना गर्नेहरूलाई पनि उनी मुस्कानमै जवाफ दिन्छन्।

‘राजनीतिमा लाग्नेहरूलाई आरोप र गाली स्वाभाविक हो,’ नेपालखबरको सो ‘लेट्स टक’मा आइपुगेका राउतले भने, ‘आरोप त लाग्छ नै। तर, जतिसुकै गाली गरे पनि त्यो जनताको अपेक्षा हो भनेर बुझ्नुपर्छ। काम गर्न सकेन भनेर गाली गर्नु भनेको जनताले माया गरेको हो। काम गरिदिओस् भन्ने अपेक्षा राखेको हो।’

क्याम्ब्रिजमा पीएचडी गरेपछि अमेरिकामा काम गरिरहेका राउत जीवनका अनेक घुम्ती पार गर्दै अहिले सदनमा आइपुगेको पनि २ वर्ष भइसक्यो। उनले स्थापना गरेको जनमत पार्टी मधेसमा नयाँ शक्तिका रूपमा उदाएको छ।

अमेरिकामा रहँदा खासमा उनी के गर्थे? यो धेरैलाई अहिले पनि चासो छ। यही जिज्ञासा राख्दा उनले एक रकेट बनाउने कम्पनीका लागि काम गरेको अनुभव सुनाए।

‘मैले नासाको प्रोजेक्टमा काम गरेको हो,’ राउतले भने, ‘नासामै काम गर्न अमेरिकी नागरिक हुनुपर्थ्यो। मैलेचाहिँ डार्पाको प्रोजेक्टमा काम गरेको हो। क्रुज मिसाइलको ठूलो कम्पनीमा रिथेनमा पनि काम गरेँ। यस कम्पनीले रकेट बनाउने काम पनि गर्छ। मैले रकेट बनाएको त होइन। रके६ उड्दा जुन ‘न्वाइज’ आउँछ, त्यसकै ‘स्पिच रिकग्निसन’ को रिसर्चमा काम गरेको हो।’

नेपाल नफर्किएर अमेरिकामा बसिरहेका भए राउत अहिले के बन्थे होलान्, कहाँ पुग्थेँ होलान् त?

राउतलाई लाग्छ, अमेरिकामै बसिरहेको भए यतिबेला उनी अर्बपति भइसक्थे।

‘म अमेरिकामै भइरहेको भए अहिले अर्बपति भइसक्थेँ होला,’ उनले भने, ‘मेरो साथी अहिले त्यही लेभलमा छन् त्यहाँ। हामी क्याम्ब्रिजका प्रोडक्ट हौँ। क्याम्ब्रिजमा मेशिन इन्टलिजेन्स ल्याब थियो। त्यतिबेला एआई यति चर्चित थिएन। त्यहीँका प्रडक्टले त्यहाँ अहिले यी सब काम गरिरहेका छन्।’

क्याम्ब्रिजमा पीएचडी गर्नुअघि राउत छात्रवृत्तिमा जापान पढिरहेका थिए। ‘अझ पीएचडी गर्न नगएको भए म खर्बपति हुन्थेँ होला,’ राउत भन्छन्,‘जापानमा हुँदा म एकदमै इनोभेटिभ थिएँ। मोबाइलमा भ्वाइस ट्रान्सलेट गर्ने काम मैले त्यतिबेलै गरेको थिएँ। तर, मार्केटिङ गरिनँ। क्यालिफोर्निया (अमेरिका) तिर सिफ्ट भएर यसको मार्केटिङ गरेको भए अर्कै हुन्थ्यो। तर, क्याम्ब्रिजमा पीएचडी गर्ने इच्छाले मलाई त्यतै डोर्‍यायो।’

सप्तरीस्थित महादेवामा जन्मेहुर्केका राउतको घर छेउमा कोसी नदी छ। त्यसैले होला, नदीहरूसँग उनको बेग्लै प्रेम छ।

पानी देख्नै हुन्न, पौडिन मन लागिहाल्छ। जसरी कोसी अनेक ढुंगामुढा र आरोह-अवरोहलाई छिचोल्दै निरन्तर बगिरहेको छ, राउतलाई आफ्नो जीन्दगी पनि त्यस्तै लाग्छ। बाल्यकालदेखि अहिलेसम्मको यात्रा तुलना गर्दा बेलाबेला आफै सोचमग्न हुन्छन्– केचाहिँ गर्न परेन यो जीवनमा?

ओशो तपोवनको शरणमा पुगेर हाल सन्यासी बनेका राउतले संसदसम्म आइपुग्छु भनेर पनि एक रत्ति कल्पना गरेका थिएनन्।

‘मान्छे आफ्नो व्यक्तिगत महत्त्वाकांक्षा पूरा गरेपछि अन्तिम चरणमा समाजको भलो खोज्दोरहेछ,’ उनको बुझाइ यस्तो बनेको छ अहिले, ‘म कलेज पढ्दासम्म पढन्ते थिएँ, राजनीतिमा कुनै चासो थिएन। क्याम्ब्रिजमा गएर पीएचडी गर्ने रहर थियो, त्यो गरेँ। बाहिरबाट फर्केर जब मेची महाकाली यात्रा गरेँ, अनेक दुःख र विभेदका घटनाहरू साक्षी भएँ, त्यसपछि अब समाजका लागि केही गरौँ भन्ने लाग्यो। राजनीति त्यसका लागि उपयुक्त बाटो थियो। जतिसुकै फोहोर भए पनि समाजलाई योगदान गर्न राजनीति नै आवश्यक रहेछ। त्यसैले म यतै लागेँ।’

०६३ सालमा भएको पहिलो मधेस आन्दोलनताका उनले चलाएको अभियानका कारण राज्यको नजरमा राउत दुस्मन मात्रै होइन, देशद्रोही नै बने। त्यस क्रममा उनी २४ पटकसम्म प्रहरीबाट पक्राउ परे, हिरासत र जेलको जीवन बाँचे। तर, धेरैलाई थाहा नहुन सक्छ, राउत पुल्चोक इन्जिनियरिङ कलेजमा पढ्दै गर्दा र त्यहाँ टपर बन्दै गर्दासम्म ‘भयंकर राष्ट्रवादी’ थिए।

‘म त नेपाली, वीर गोर्खाली’ भन्दै कविताहरू लेख्थे । उनी अध्ययनरत पुल्चोक क्याम्पसमा मधेसी मूलका विद्यार्थीले ‘तराई विद्यार्थी नवजागरण संघ’ नामको संगठन खोलेका थिए। एकपटक त्यही संगठनका केही नेताहरू राउतलाई सदस्यताको प्रस्ताव लिँदै भेट्न पुगेका थिए। तर, राउत मानेनन्।

‘यो मधेसी, पहाडी केही पनि हुँदैन, म नेपाली हुँ नेपाली ,’ राउतले ती नेताहरूलाई उल्टै हप्काएर पठाएका थिए। 

तराई मधेस मूलका जति पनि मान्छे काठमाडौँ आउँथे, अधिकांशसँग विभेद र दमनको आफ्नै कथा हुन्थ्यो। तर कोही पनि गाउँ फर्किंदा ‘सहरमा मसँग यस्तो हुन्छ’ भनेर भन्दैन थिए। राउत पनि त्यस्तै थिए, उनलाई यो सब शिक्षा र चेतनाको कमीले होला भन्ने लाग्थ्यो। 

तर, २०५७ पुस ११ को एउटा घटना उनको जीवनकै ‘टर्निङ प्वइन्ट’ बनेको उनले ‘लेट्स टक’मा खुलाएका छन्। त्यतिबेला भारतीय अभिनेता ऋतिक रोशनको पहिलो फिल्म ‘कहो ना प्यार हे’ बक्सअफिसमा हिट भइरहेको थियो। चितवनको एक स्थानीय पत्रिकाले ‘भारतीय अभिनेता ऋतिक रोशनले एक अन्तर्वार्तामा नेपाललाई होच्याएर बोले, नेपाल र नेपाली मन पर्दैन भने’ भनेर आधारहीन खबर छापिदियो। त्यसबाट उत्तेजित भिडको प्रदर्शन र ध्वंसको ज्वाला देशका विभिन्न ठाउँमा सल्कियो।   

‘राजनीतिक र सामाजिक चेतनाका रूपमा त्यो घटना मेरो जीवनकै टर्निङ प्वाइन्ट बनिदियो,’ राउत सम्झन्छन्, ‘त्यसअघि म घोर राष्ट्रवादी थिएँ। कविता पनि राष्ट्रवादी लेख्थेँ। त्यो घटनाले समग्र अस्तित्वमै प्रश्न उठाइदियो। अपुष्ट अभिव्यक्तिलाई लिएर मधेसीलाई पनि भारतीय देख्दै आक्रमण सुरु भयो। छालाको रङ फरक हुनासाथै पहिचानमाथि नै प्रश्न उठाउने काम भयो।’

यस घटनाअघिसम्म कलेज टपर भएकाले कलेजमा सबैले उनलाई सम्मान गर्थे। तर, त्यही घटनापछि एक्कासि सहपाठी र प्राध्यापकहरूको व्यवहारकै बदलिएको उनी ठान्न थाले।

‘मलाई सम्मान गर्ने ती साथीहरू नै बाटो घेर्ने, जिस्काउने, आक्रमण गर्ने भए,’ उनी भन्छन्, ‘कक्षामै प्रोफेसरबाटै दुर्व्यवहार हुन थाल्यो। त्यसअघिसम्म अलिअलि विभेद गर्नुको कारण अज्ञानता नै होला भन्ने ठान्थेँ। पढेलेखेका साथी र प्रोफेसरले नै मधेसीलाई यसरी हेपेपछि यो चेतना र शिक्षाको कारणले मात्रै होइन रहेछ भन्ने महसुस भयो। यसको पक्कै पनि राजनीतिक कारण छ भन्ने महसुस भयो।’

राउतका अनुभवमा, त्यतिबेला मधेसी विद्यार्थीलाई काठमाडौँमा अनुहार देखाउनै गाह्रो भएको थियो।

‘मधेसी विद्यार्थीहरू बाहिरबाट ताल्चा लगाएर भित्र बस्ने अवस्था बनेको थियो। मलाई पनि एकपटक केही युवाहरूले पुलबाटै फाल्न ला’को थिए। त्यतिबेला एउटा नेवार साथीले यो नेवार हो भनेर मलाई बचाएको थियो,’ राउतले सम्झिए। 

नागरिक उन्मुक्तिसँग एकता कहिले? 
राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबीच अहिले एकता हुने चर्चा छ। यसबारे राउतसँग जिज्ञासा राख्दा मोटामोटी सहमति भइसकेको र चाँडै घोषणा हुने बताए।

‘संरक्षक रेशम चौधरी, पार्टी अध्यक्ष म रहने गरी मोटामोटी सहमति भएको छ,’ उनले भने, ‘एउटा पार्टीको चुनाव चिह्न र अर्कोको नाम राख्ने गरी एकता हुन्छ,’ उनले भने, ‘नागरिक जनमत पार्टी पनि नाम हुन सक्छ। जे होस्, दुवै पार्टीले अपनत्व महसुस गर्ने खालको नाम हुन्छ। सानातिना कुरामा अल्झिनहुन्न।’

पार्टी एकता किन आवश्यक भयो नि?

‘यहाँ ठूला २ दल पनि एकआपसमा मिल्दिन्छन्,’ जवाफमा राउतले भने, ‘सीमान्तकृत, आदिवासी थारु, मधेसी समुदायका एजेन्डा उठाइदिने सशक्त शक्ति देखिएन। हामी दुवै आन्दोलनबाट उदाएका पार्टी हौँ। एउटा पूर्वी मधेस, अर्को पश्चिम मधेसबाट। दुवै क्रान्तिको पृष्ठभूमिबाट आएकाले हाम्रो एकता भयो भने पुरै तराइ मधेसलाई त कब्जा गर्छौँ गर्छौँ, पहाड पनि वर्चश्व बढाउन सक्छौँ। किनभने पहाडमा पनि सीमान्तकृत वर्ग छन्।’

नागरिक उन्मुक्तिको केन्द्रीय समितिको बैठकपछि शनिबार नै एकताको घोषणा हुन सक्ने सम्भावना पनि उनले इंगित गरे।

‘९ गते भएन भने पनि हतार छैन, हुनचाहिँ हुन्छ,’ उनले भने। 

‘लेट्स टक’मा राउतले आफ्नो जीवनका अनेक पाटा उप्काएका छन्। बाँकी भिडिओमै हेर्नुहोस्।

चैत ८, २०८१ शुक्रबार १९:४

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad