राजनीति


उच्च अदालत बुटवलमा रविको निवेदनमा भएन सुनुवाइ, पाटनमा अर्को निवेदन दिने तयारी

उच्च अदालत बुटवलमा रविको निवेदनमा भएन सुनुवाइ, पाटनमा अर्को निवेदन दिने तयारी

नेपालखबर
चैत ७, २०८१ बिहिबार २०:३२, काठमाडौँ

रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा दिएको निवेदन उपर आज सुनुवाइ नभएपछि रास्वपा सभापति रवि लामिछाने काठमाडौं फर्किएका छन्। 

सभापति लामिछाने, पूर्वडीआईजी छविलाल जोशी र उच्च सरकारी वकिलको कार्यालय बुटवलले जिल्ला आदालतको आदेशविरुद्ध दिएका छुट्टाछुट्टै निवदनमा एकैपटक सुनुवाइ हुने गरी आज उच्च अदालत, तुलसीपुरको बुटवल इजलासमा पेसी ताेकिएको थियाे।

सुनुवाइका लागि लामिछाने कानुन व्यवसायी र सचिवालय सदस्य लिएर हिजै रुपन्देही पुगेका थिए। गाेला प्रथाअनुसार न्यायाधीशद्वय जगतबहादुर थापा र सागर विष्टको इजलासमा सुनुवाइका लागि पेस गरिएको थियो। तर, मिसिल अध्ययन गरेपछि न्यायाधीश थापाले सुप्रिम सहकारीसम्बन्धी जिल्लाबाट आएको सोही प्रकृतिको मुद्दा यसअघि पनि हेरेकाले लामिछानेसहितको मुद्दा आफूले हेर्न नमिल्ने बताएपछि आज सुनुवाइ नभएको हाे। 

उक्त सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई जिल्ला अदालत रुपन्देहीले थुनामा राख्न दिएको आदेशलाई उच्चका न्यायाधीश थापाले केही समय अगाडि सदर गरेका थिए। सोही कारण जिल्लाबाट आएको सोही प्रकारको मुद्दामा आफ्नो धारणाा बनिसकेकाले आफूले हेर्न नमिल्ने बताएपछि पेसी अर्को हप्ताका लागि सारिएको छ।

न्यायाधीश थापाको भनाइपछि आदालतबाट बाहिरिएका लामिछाने, उनका कानुन व्यवसायी र सचिवालयका सदस्य आजै काठमाडौँ फर्केका छन्।

लामिछाने रूपन्देही जिल्ला अदालतमा गत माघ १३ गते १ करोड रूपैयाँ धरौटी बुझाएर छुटेका थिए।

जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई १ करोड रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको थियो।

यसैबीच, लामिछानेले स्वर्णलक्ष्मी सहकारीसँग सम्बन्धित मुद्दामा काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध भाेलि (शुक्रबार) पाटन उच्च अदालतमा निवेदन दिने भएका छन्। 

स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा माघ ३ गते काठमाडौँ जिल्ला अदालतले ६० लाख रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको थियो। धरौटी माग गरिएको उक्त आदेश चित्त नबुझेपछि लामिछाने उच्च अदालत जाने भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad