राजनीति


स्ववियु निर्वाचन : नेतृत्व स्थापित गर्ने थलो

स्ववियु निर्वाचन : नेतृत्व स्थापित गर्ने थलो

नेपालखबर
चैत ४, २०८१ सोमबार १५:५२, काठमाडौँ

विद्यार्थीलाई नेतृत्व निर्माण गर्ने थलोको रुपमा चिनिएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन देशभरिका अधिकांश क्याम्पसमा हुँदै छ। त्रिविले प्रत्येक दुई÷दुई वर्षमा गर्ने स्ववियु निर्वाचन मङ्गलबार हुँदै छ। निर्वाचनका लागि विभिन्न राजनीतिक दल निकटका विद्यार्थी सङ्गठन सहभागी हुँदैछन्।

निर्वाचनका माध्यमबाट विद्यार्थीले वैचारिक नेतृत्व चयन गर्नेछन्। निर्वाचनमा अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु, स्वतन्त्र विद्यार्थी समूहलगायतले भाग लिँदै छन्। स्ववियु निर्वाचनको तयारी पूरा भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिए। उनका अनुसार निर्वाचन मिश्रित प्रणाली भएकाले दुई मतपत्र रहने छन्।

प्रत्येक दुई दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालदेखि भने नियमित रुपमा हुनसकेको थिएन। विसं २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचन त्यसपछि २०७३ चैत १५ गते भएको थियो। 

त्यसपछि २०७९ चैत ५ गते देशभरि नै केही क्याम्पसबाहेकमा स्ववियु निर्वाचन सम्पन्न भएको थियो। त्यतिवेला नौ  आङ्गिक क्याम्पसमा निर्वाचन हुनसकेको थिएन। यसपटक भने १३ आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचनको प्रक्रिया अगाडि बढ्न सकेको छैन। ती क्याम्पसमा पनि त्रिविले चाँडै निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकेको छ।

अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्तीले विद्यार्थी नेतृत्व निर्माण गर्ने थलोको रुपमा स्ववियु निर्वाचन रहेको बताए। उनले विचारको विमर्श गरी विद्यार्थीलाई लोकतान्त्रिक प्रक्रियामा प्रवेश गराउने माध्यम स्ववियु निर्वाचन भएको बताए। ‘विद्यार्थीलाई राजनीतिमा लाग्न उत्प्ररेणा दिने माध्यम स्ववियु निर्वाचन हो’, उनले भने, ‘स्ववियु निर्वाचन मुलुकका लागि नेतृत्व स्थापित गर्दछ।’

स्ववियु शैक्षिक गुणस्तर कामय गर्न तथा सरकारको प्रतिपक्षका रुपमा काम गर्ने माध्यम बनेको उपाध्यक्ष घर्तीले बताए।

नेपाल विद्यार्थी सङ्घका प्रवक्ता सुरज सेजुवालले राजनीतिक नेतृत्वको नर्सरीको रुपमा स्ववियु निर्वाचन भएको बताए। ‘स्ववियु निर्वाचन लोकतान्त्रिक प्रक्रियामा सहभागी भएर विद्यार्थीमाझ नेतृत्व स्थापित गर्ने माध्यम हो,’ उनले भने, ‘विद्यार्थीलाई राजनीतिक रुपमा स्थापित गराउने काम स्ववियु निर्वाचनले गर्दछ।’

अनेरास्ववियु (क्रान्तिकारी) का महासचिव रोशन थापामगरले मूलधारको राजनीतिमा प्रवेश गर्ने द्वारका रुपमा स्ववियु निर्वाचन रहेको बताए। ‘क्याम्पस शिक्षा प्रदान गर्ने मात्र ठाउँ मात्र नभएर नेतृत्वको विकास गर्ने पनि  हो’, उनले भने– ‘अहिले नेतृत्वमा आउने विद्यार्थी भोली कुनै न कुनै रुपमा मुलुकको नेतृत्व गर्ने ठाउँमा पुग्छन्।’

स्ववियु निर्वाचनमा २८ वर्ष उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू गरिएको छ। त्रिविमा २०१८/१९ सालदेखि प्रत्यक्ष प्रणालीबाट स्ववियु निर्वाचन भएको इतिहास रहेको निर्वाचन समितिका सदस्य सचिव अधिकारीले बताए। विसं २०३० सम्म प्रत्येक वर्ष स्ववियु निर्वाचन हुने गरेकामा २०३६ सालदेखि प्रत्येक दुई दुई वर्षको अन्तरालमा २०६५ सालसम्म प्रत्यक्ष प्रणाली अनुसार स्ववियु निर्वाचन भएको थियो।

विसं २०७३ मा मिश्रित प्रणालीमा आधारित भएको स्ववियु निर्वाचनमा २८ वर्षे उमेर हदबन्दी कायम गरिएको थियो। विसं २०७३ मा उपत्यकामा नौ र उपत्यका बाहिर १७ क्याम्पसपमा स्ववियु निर्वाचन तथा २०७९ सालमा ५०  आङ्गिक र ३०० भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन भएको समितिका सदस्य सचिव अधिकारीले बताए।

उनका अनुसार यस पटक ४७ आङ्गिक र २५० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुँदै छ। स्ववियु निर्वाचनमा मतदान गर्न मङ्गलबार बिहान ८ देखि दिउँसो ४ बजेसम्मको समय तय गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad