नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताप्रति आपत्ति जनाएका छन्। सोमबारको राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै सिटौलाले पछिल्लो समय नेपालको राजनीतिमा केही तरंग पैदा भएको बताएका हुन्।
'नेपालको राजनीतिमा केहीदिनदेखि नयाँ तरंग उठ्न खोजेको छ। कुनै घटनालाई लिएर मैले सन्दर्भ जोड्न खोजेको छैन। हामी लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा छौँ। त्यसै यो व्यवस्था प्राप्त भएको होइन,' उनले भने।
उनले लामो संघर्षको समयमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश हुनु दुखद् भएको पनि बताए। '०४७ सालको संविधानले नारायणहीटीलाई संसद्को मातहत राखेको भए यसो हुन्थेन कि' उनले थपे,'तर दरबारभित्रको दुखद् घटना राजाको परिवारको वंश नाश त्यसबेलाको प्रशासनले सदस्यले जान्ने कुरा भयो।'
तत्कालीन राजा ज्ञानेन्द्र शाहसँग आफैँले संवाद गरेको स्मरण गर्दै सिटौलाले निवासको प्रवन्ध गरेको र सम्मान पनि गरेको भन्दै सम्मान ग्रहण गरेर बस्न आग्रह गरे।
'म आफैँले प्रधानमन्त्रीको प्रतिनिधिको रुपमा ज्ञानेन्द्रसँग संवाद गरेको हुँ। निवासको, सुरक्षाको प्रबन्ध हुन्छ भनेर ग्यारेन्टी गरेकै हो,' उनले भने, 'अहिले मै केही गर्छु भनेर गाडीमा बसेर ताली खाँदै ताली दिँदै हिँड्नु शोभनीय विषय भएन।'
पूर्वराजाले राजनीतिमा आउने हो भने यो यो एजेन्डा हो भनेर खुला रुपमा आउन चुनौती दिए।
संविधानमा व्यवस्था भएअनुसार कार्यान्वयनमा चुकेको विषय केके हुन् भन्नेबारे गम्भीर समीक्षा गर्नुपर्ने उनको भनाइ छ। जनताको हितमा हुन नसकेको व्यवस्थालाई संविधान संशोधन गरेर सुधार गर्न तयार हुनुपर्ने पनि सिटौलाले बताए।
'धेरै ठूलो संघर्षको नेतृत्व हामीले गरेका थियौँ। धेरै ठूलो रक्तपात भएको छ मुलुकमा। हामीले गर्न सकेको कुरा भन्न सक्नुपर्छ नसकेको कुरा पनि प्रष्ट भन्नुपर्छ यो कारणले सकिएन,' उनले भने।
विश्वको बदलिँदो राजनीतिक प्रभाव नेपालले धेरै बेहोर्नुपर्ने देखिरहेको पनि सिटौलाको भनाइ छ।
Shares

प्रतिक्रिया