प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) को दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनलाई सम्बोधन गर्ने भएका छन्।
(आज) शनिबारदेखि थाईल्यान्डको बैंककमा आयोजित दुई दिने सो सम्मेलनलाई प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट सम्बोधन गर्न लागेको संघकी उपाध्यक्ष रोजिना प्रधान राईले जानकारी दिइन्।
नेपालबाट युवाहरूको विदेश पलायन भइरहेको र देशमा सक्रिय जनसंख्या घट्दै गएको अवस्थामा, एनआरएनएले यस्तो सम्मेलन आयोजना गर्न लागेको गैरआवासीय नेपाली संघ थाईल्यान्डका अध्यक्ष भविन्द्र बस्नेतले जानकारी दिए।
सम्मेलनमा भाग लिन सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, पूर्वमन्त्री र सांसद पदम गिरी, सांसद माधव सापकोटा, थाईल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओली, गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसी, उपाध्यक्षहरू डा हेमराज शर्मा, रामशरण सिमखडा लगायत संघको पदाधिकारी टोली बैंकक पुगेका छन्।
नेपाली प्रवासी युवाहरूलाई सशक्त बनाई उनीहरूलाई नेपालको समृद्धि र विकाससँग जोड्ने मुख्य उद्देश्य रहेको एनआरएनएले जनाएको छ।
प्रधानमन्त्री ओलीले उद्घाटन सत्रको अन्त्यमा सम्बोधन गर्दै विदेशमा रहेका युवाहरूसँग संवाद गर्ने संघका उपाध्यक्ष रामशरण सिमखडाले जानकारी दिए।
दोस्रो विश्वयुद्धपछि बर्मा, थाईल्याण्ड, मलेसिया, सिंगापुर, फिजी र मोरिसस जस्ता देशहरूमा सातौँ लाख नेपाली मूलका युवा आफ्नो पहिचानको खोजी गर्दै नेपालको समृद्धिमा पुस्तौँदेखि जोडिन चाहने एनआरएनए पिपुल अफ नेपाली ओरीजन (पिएनओज) का संयोजक कुमार कार्कीले जनाए।
‘इम्पावरिङ द युथ, शार्पिङ द पिएनओज फ्युचर’ भन्ने मूल नाराका साथ युवा सम्मेलन आयोजना गर्न लागिएको हो।
सम्मेलन थाईल्यान्डको बैंककमा १५–१६ मार्च २०२५ मा आयोजना गरिनेछ। सम्मेलनको अन्त्यमा बैंकक घोषणापत्र जारी गर्ने तयारी गरिएको छ।
Shares

प्रतिक्रिया