राजनीति


अग्नि सापकोटाविरुद्धको मुद्दामा सुनुवाइ जारी

अग्नि सापकोटाविरुद्धको मुद्दामा सुनुवाइ जारी

नेपालखबर
फागुन २८, २०८१ बुधबार १४:१३, काठमाडौँ

नेकपा माओवादी केन्द्रका प्रवक्तासमेत रहेका उपाध्यक्ष तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्ध ज्यान मुद्दामा मुद्दा चलाउनुपर्ने माग राखी दायर भएको रिटमा सुनुवाइ जारी छ। 

सापकोटाविरुद्धको मुद्दा साढे पाँच महिनापछि पेसी चढेर सुनुवाइ भएको हो। 

फैसला मिति तोकेर पटकपटक पेसी सरेको उक्त मुद्दा गत असोज ९ गते अन्य आदेश गरेर रोकिएको थियो । बिदा हुन लागेका तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको संवैधानिक इजलासले फैसला मिति तोकिएको मुद्दामा अन्य आदेश गरेका थिए। 

विसं. २०८१ वैशाख १२ गते संवैधानिक इजलासले हेर्दाहेर्दैमा राखेको मुद्दा जेठ २३ गतेको सुनुवाइपछि फैसला सुनाउने मिति तय गरेको थियो। त्यसका लागि दुई महिनापछि (साउन २३ गते)को मिति तोकिएको थियो । तीनपटक निसु सरेपछि असोज ९ गते अन्य आदेश गरेपछि मुद्दा पेसी नै चढेको थिएन। 

तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले गत वर्षको वैशाख र जेठमा हेर्दाहेर्दैमा राखी लगातार सुनुवाइ अघि बढाएका थिए। त्यतिखेर हालका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत पनि इजलासमा थिए। त्यस्तै न्यायाधीशहरू सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी थिए। 

२०८१ जेठ २३ गते नै सुनुवाइ सकेर संवैधानिक इजलासले साउन २३ मा निर्णय सुनाउने दिन तोकेको थियो। त्यसपछि तीनपटकसम्म पेसी चढ्दा पनि सर्वोच्चले निर्णय सुनाएन। त्यही वर्षको असोज ६ गते यसअघि सर्वोच्चबाट जारी आदेश कार्यान्वयन भए-नभएको बुझ्ने भनेर आदेश गरेको थियो। त्यस्तै अग्नि सापकोटा जोडिएको उक्त मुद्दासम्बन्धी फाइलको सक्कल प्रति नै काभ्रे प्रहरीबाट झिकाउने आदेशसमेत भएकोमा  थियो।

सर्वोच्च प्रशासनका अनुसार, इजलासबाट माग भएका सम्पूर्ण कागजात प्राप्त भइसकेका छन् र मुद्दाका सबै अंग पुगिसकेका छन्। सर्वोच्चले जाहेरी दर्ता गरी १५-१५ दिनमा अनुसन्धानको प्रगति प्रतिवेदन पेस गर्नू भनेर १४ वर्षअघि आदेश दिएको थियो।

२०६८ असार ७ गते नै सर्वोच्चले ‘पूर्णिमाया लामाको जाहेरी दरखास्तबाट दर्ता भएको कर्तव्य ज्यान मुद्दामा अनुसन्धान जारी राखी यो रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म प्रत्येक १५ दिनमा अनुसन्धान गर्दा कुनै प्रभाव, दबाब र असहयोग भएमा सो समेतको विवरण महान्यायाधिवक्ताको कार्यालयमार्फत प्रस्तुत गर्न’ जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका नाममा अन्तरिम आदेश जारी गरेको थियो।

काभ्रेका अर्जुन लामाको हत्याकाण्डमा सापकोटामाथि अनुसन्धान हुनुपर्ने माग पूर्णिमाया लामाले दिएको पछिल्लो रिट निवेदन १४ वर्षभन्दा बढी समयदेखि सर्वोच्चमा विचाराधीन छ। 

२०६९ मंसिरमा अर्जुन लामाकी श्रीमती पूर्णिमाया लामाले आफ्नो पतिको हत्यामा माओवादी नेताहरू अग्नि सापकोटा, सूर्यमान दोङ, यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तानमाथि अनुसन्धान हुनुपर्ने माग गरी सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

द्वन्द्वकालीन अवस्थामा माओवादीको एक समूहले २०६२ वैशाख १६ गते काभ्रेको दाप्चास्थित श्रीकृष्ण माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको भेलाबाट उठाएर लामालाई बेपत्ता पारेको आरोप छ। लामा स्थानीय व्यापारी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad