थाइल्यान्डस्थित नेपाली राजदूतावासले विभिन्न देशमा नेपालीलाई लगेर गैरकानुनी रुपमा लगेर बन्धक बनाउने कार्य भइरहेको भन्दै आफन्त यस्तो अवस्थामा भए उद्धारका लागि निवेदन दिन घरपरिवारसँग आग्रह गरेको छ।
पछिल्लो समयमा नेपालीहरूलाई वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा लगायतका विभिन्न प्रलोभन देखाई थाइल्याण्ड, कम्बोडिया, लाओस, भियतनाम लगायतका देशमा पुर्याई गैरकानूनी कार्यमा लगाउने क्रम बढ्दो रूपमा देखिएको दूतावासले जनाएको छ।
यस्ता विभिन्न प्रलोभनमा परी कुनै पनि नेपाली नागरिक उल्लिखित मुलुकमा अलपत्र परेको वा त्यस्ता समूहको बन्धकमा रहेको अवस्था भएमा निजको उद्धारका लागि पीडितको राहदानी, नागरिकता, भिसा लगायतका कागजातका फोटोकपीसहित परिवारजनले आफ्नो वडा कार्यालय मार्फत वा सिधै कन्सुलर सेवा विभाग, त्रिपुरेश्वर काठमाडौँमा सम्पर्क गरी विभागले जानकारी गराए अनुसारको प्रक्रिया पुरा गरी उद्धार कार्यमा सहयोग गर्न दूतावासले आग्रह गरेको छ।
यसरी निवेदन दिँदा पीडित रहेको स्थान, सम्पर्क नं., निजसँग हाल राहदानी भए/नभएको, भिसा वैध भए/नभएको लगायतका विषयहरू स्पष्ट खुलाई निवेदन दिन पनि दूतावासले भनेको छ।
‘नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी कानुन विपरित छिटो, धेरै पैसा कमाउने हेतु कम्बोडिया, लाओस, थाइल्याण्ड लगायत कुनै पनि मुलुकमा वैदेशिक रोजगारीका लागि नआउन राजदूतावास सम्बन्धित सबैमा पुनः अनुरोध गर्दछ’ बैंककस्थित राजदूतावासले विज्ञप्तिमार्फत आग्रह पनि छ।
Shares

प्रतिक्रिया