राप्रपा नेपालले सबै राजावादी शक्तिहरूलाई संयुक्त मोर्चा बनाउन आह्वान गरेको छ।
सोमबार अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो आह्वान गरेको हो।
‘जनताले चाहेको परिवर्तनको चाहनालाई संस्थागत गर्न तथा हिन्दुराष्ट्र र राजसंस्था पुनः स्थापनाको पक्षमा अहिले देखापरेको जनउत्साहलाई निष्कर्षमा पुर्याउन सबै राष्ट्रवादी, राजावादी, हिन्दुवादी, प्रजातन्त्रवादी र देशभक्त शक्तिहरू यथासम्भव चाँडो एकतावद्ध हुन र संयुक्त मोर्चा निर्माण गर्न राप्रपा नेपाल आह्वान गर्दछ’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘सबै राष्ट्रवादी एकजुट हुने हो भने जनताको साथ र समर्थन रहने छ तथा परिवर्तन संभव छ भन्ने फागुन २५ गतेको ऐतिहासिक जनप्रदर्शनले स्पष्ट पारेको छ।’
फागुन २५ गते काठमाडौँमा देखापरेको जनप्रदर्शनले अब चाँडै नै हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना हुने स्पष्ट संकेत गरेको राप्रपा नेपालको भनाई छ।
महामन्त्री एवं सचिवालय प्रमुख राजाराम बर्तौलाद्वारा जारी विज्ञप्तिमा ‘सबै राष्ट्रवादी, राजावादी, हिन्दुवादी, प्रजातन्त्रवादी र देशभक्त शक्तिहरू एकजुट भई ‘सर्वपक्षीय आन्दोलनको मोर्चा’ गठन गर्न तथा तत्काल जनआन्दोलनको घोषणा र कार्यक्रम तयार गर्न’ अपिल गरिएको छ।
Shares

प्रतिक्रिया