राजनीति


जापानी नागरिकलाई नेपाल भ्रमणका लागि प्रोत्साहन गरिदिन आग्रह

जापानी नागरिकलाई नेपाल भ्रमणका लागि प्रोत्साहन गरिदिन आग्रह

नेपालखबर
फागुन २०, २०८१ मंगलबार १७:१५, काठमाडौँ

राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपालका लागि जापानी राजदूत मायदा तोरु ले शिष्टाचार भेट गरेका छन्। नवनियुक्त राजदूत मायदाले आज (मंगलबार) सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन्।

सो अवसरमा दुई देशबीचको सम्बन्ध, आपसी हित र सहकार्य लगायतका विषयमा कुराकानी भएको राष्ट्रिय सभा अध्यक्षको सचिवालयले जनाएको छ।

भेटमा अध्यक्ष दाहालले नवनियुक्त राजदूत मायदालाई आफ्नो कार्यकक्षमा स्वागत गर्दै नेपाल बसाइ सुखद, सिर्जनशील र सफल रहने विश्वास व्यक्त गरे। नेपाल–जापान सम्बन्ध निकै पुरानो र घनिष्ट रहेको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप मजबुत र प्रगाढ हुने र त्यसमा राजदूत मायदाको भूमिका महत्त्वपूर्ण रहनेछ भने।

जापान सरकारको तर्फबाट नेपालले बहुपक्षीय सहायता एवं प्राविधिक सहयोग प्राप्त गरिरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले पूर्वाधार विकास, कृषि, स्वास्थ्य, औद्योगिक क्षेत्र, जलविद्युत, संस्कृति तथा वातावरण संरक्षण जस्ता क्षेत्रमा नेपाल लाभान्वित भएको बताए।

काठमाडौँ–नागढुङ्गा सुरुङ मार्ग निर्माणसँगै नेपाल सुरुङ प्रविधितर्फ अघि बढेको उल्लेख गर्दै अध्यक्ष दाहालले सुरुङ मार्ग लगायत अन्य सडक पूर्वाधार निर्माणमा जापानको सीप, प्रविधि र सहयोग प्राप्त भई गुणस्तरीय काम भइरहेकोमा खुसी व्यक्त गरे।

नेपालको संघीय संसदमा नेपाल–जापान संसदीय मैत्री समूह गठन गरिएको उल्लेख गर्दै अध्यक्ष दाहालले संसदीय मैत्री समूहले दुई देशबीचको संसदीय सम्बन्ध, अनुभव आदान प्रदान र भ्रमण आदान प्रदान गर्न सहज हुने बताए।

उच्च शिक्षा र जापानी भाषा अध्ययनका लागि हजारौं नेपाली विद्यार्थी जापानमा रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले अध्ययन, रोजगारी र व्यापार(व्यवसायको सिलसिलामा झण्डै २ लाख नेपालीहरु जापानमा रहेको बताए।

भूकम्प, कोभिड महामारी लगायत अप्ठ्यारो परिस्थितिमा जापानले गरेको सहयोग स्मरणीय रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपालको आर्थिक समृद्धि र विकासका लागि जापानी लगानीकर्ताहरुलाई यहाँ आउन प्रोत्साहित गरिदिन राजदूत मायदालाई अनुरोध गरे

जापानी पर्यटकहरुलाई नेपाल आउन प्रेरित गरिदिन आग्रह गर्दै अध्यक्ष दाहालले धार्मिक, सांस्कृतिक उद्देश्यसहित बुद्ध जन्मभूमि लुम्बिनीमा आउने जापानी पर्यटकहरुले दुई देशका जनताबीचको सम्बन्धलाई विस्तार गरिरहेको बताए।

हाल काठमाडौँ–जापान हवाइ उडान भएको उल्लेख गर्दै अध्यक्ष दाहालले पोखरा र लुम्बिनीमा पनि जापानी एयरलाइन्सले सिधा उडान शुरु गर्न सके पर्यटकहरुको आवागमनमा वृद्धि विश्वास व्यक्त गरे।

सो अवसरमा राजदूतले मायदा शिष्टाचार भेटका लागि धन्यवाद व्यक्त गर्दै आफूले जापान–नेपाल द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन निरन्तर लाग्ने बताए। राजदूत तोरुले नेपाल र जापानबीच आगामी वर्ष सन् २०२६ मा कूटनीतिक सम्बन्धका ७० वर्ष पूरा हुने उल्लेख गर्दै आगामी दिनमा पनि दुई देशबीचमा सम्बन्ध झन प्रगाढ हुँदै जाने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad