राजनीति


देशभरका कांग्रेस क्षेत्रीय सभापतिको प्रशिक्षण भैरहवामा, कर्मचारीले निम्तो गरेपछि शेखर नजाने

देशभरका कांग्रेस क्षेत्रीय सभापतिको प्रशिक्षण भैरहवामा, कर्मचारीले निम्तो गरेपछि शेखर नजाने

फाइल तस्बिर


नेपालखबर
फागुन १९, २०८१ सोमबार ८:४३, काठमाडौँ

नेपाली कांग्रेसका क्षेत्रीय सभापतिहरुको प्रशिक्षण कार्यक्रम रुपन्देहीको भैरहवामा सुरु हुँदैछ। प्रशिक्षण कार्यक्रम पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृतवमा रहेको पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आज र भोलि चल्नेछ।  

उपसभापति खड्काअनुसार देशभरका क्षेत्रीय सभापति, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रका सभापति, प्रशिक्षण शाखाका प्रमुख गरेर ३३० जना प्रशिक्षणका सहभागी हुन्। यीबाहेक लुम्बिनी प्रदेशका सांसद, मन्त्री यहाँका जिल्ला सभापतिहरु पनि सहभागी हुने उनले बताए।  

प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्का, दुई महामन्त्री गगकुमार थापा र विश्वप्रकाश शर्मा, पूर्वमहामन्त्री, नेताहरू कृष्ण सिटौला, विमलेन्द्र निधि, बालकृष्ण खाण, रमेश लेखकलगायत सहभागी हुनेछन्।   

यसअघि कांग्रेसले माघ २२ र २३ गते प्रशिक्षण प्रतिष्ठानको आयोजनामा कास्कीको पोखरामा ७७ वटै जिल्लाका सभापति, ७७ वटै जिल्लाका प्रशिक्षण शाखा प्रमुख तथा उपसभापतिलाई राखेर प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गरेको थियो। 

उक्त कार्यक्रममा केन्द्रीय सदस्यसहित कांग्रेसमा इतर समूहको नेतृत्व गरिरहेका डा शेखर कोइरालालाई निम्तो दिइएको थिएन। उनीलगायत केही नेतालाई नबोलाएपछि नेतृत्वको चर्को आलोचना भएको थियो। 

यसपटक भने शेखरसहितका नेतालाई पनि बोलाइएको छ । 

कर्मचारीले निम्तो पठाएपछि नजाने भए शेखर 

पोखरामा भएको कार्यक्रममा निम्तो नै नदिइएको शेखरलाई यसपटक भने निम्तो दिइएको उनका सहयोगी  दिनेशचन्द्र थपलियाले जानकारी दिए। 

‘चार दिनअघि पार्टी केन्द्रीय कार्यालयका एकजना कर्मचारीले टेलिफोन गरेर कार्यक्रमको बारेमा जानकारी गराउँदे सहभागिताका लागि निम्तो दिनुभएको थियो,’ उनले नेपालखबरसँग भने, ‘त्यसै पनि उहाँको पूर्वनिर्धारित कार्यक्रम तय भइसकेको छ। उहाँ भैरहवाको कार्यक्रममा जानुहुँदैन।’ 

थपलियाका अनुसार कोइराला आजै विराटनगर जाँदैछन्। उनी विराटनगरमै सुरु हुने विराटगोल्डकपको उद्घाटन समारोहमा सहभागी हुन जान लागेको उनले जानकारी दिए। भोलि पनि विराटनगरमै केही कार्यक्रमहरु तय भएको थपलियाको भनाइ छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad